विद्युतीय चुरोटको कूलतमा युवापुस्ता, प्रतिकूल स्वास्थ्यसँगै खल्ति रित्ता

विद्युतीय चुरोटको कूलतमा युवापुस्ता, प्रतिकूल स्वास्थ्यसँगै खल्ति रित्ता
सुन्नुहोस्

सरकारले विद्युतीय चुरोट अर्थात् भ्यापिङको प्रयोग तथा आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले गत वैशाख १७ गते विभिन्न मन्त्रालय तथा विभागलाई पत्राचार गर्दै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सम्बन्धमा जानकारी गराएको थियो ।

केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्राचार गरेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ई–सिगरेटको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चालन माध्यमबाट प्रवद्र्धन तथा विज्ञापनमा निषेध गरिएको उल्लेख गर्दै केन्द्रले उक्त व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेको हो । 

पत्रमा भनिएको छ, ‘सूर्तीजन्य पदार्थ ई–सिगरेट (भेप) को उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चालन माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन निषेध कार्य कार्यान्वयनका लागि अनुरोध छ ।’

पछिल्लो समय नेपालमा ‘विद्युतीय चुरोट’ को आयात र प्रयोग व्यापक भएको  छ । यसको नियन्त्रण चूनौतीपूर्ण बन्दै गएको विशेषगरी युवायुवती तथा किशोरकिशोरीले प्रयोग गर्ने क्रम बढेकाले पनि देखाउँछ । युवा पुस्तामाझ विद्युतीय चुरोट ‘फेसन’ का साथै ‘ट्रेन्ड’ बनेको छ । 

इ–सिगरेट ‘भेप’, ‘हुक्का’ लगायतले युवाहरुमा अस्वाभाविक चर्चा बटुलिरहेको छ । छोटो समयमै यसले व्यापकता पाएको देखिन्छ । कतिपयले चुरोटको विकल्पमा समेत यसको प्रयोग गरेका छन् । चुरोटको तुलनामा यसको असर कम हुने भ्रम जनस्तरमा फैलाइएको छ । तर, यसले मानव स्वास्थ्यमा चुरोटलेभन्दा बढी हानी पुर्याउने चिकित्सकहरुको ठहर छ । 

तत्काल प्रतिबन्ध लाग्दैन 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकारी भक्तबहादुर केसी इलेक्ट्रोनिक सिगरेटमा प्रतिबन्ध लगाउन सबै निकायबाट सकारात्मक प्रतिक्रिया आएको बताउँछन् । उनले भने, ‘सबैबाट सकारात्मक प्रतिक्रिया आएको छ । तर, कानूनी जटिलताका लागि केही समय लाग्ने भएको हो ।’

‘अहिले सम्बन्धित मन्त्रालय र विभागले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिएको छ । केही समय लागेपनि छिट्टै यसमाथि प्रतिबन्ध लाग्नेछ,’ उनले थपे । 

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी पनि ई–सिगरेटमाथि प्रतिबन्ध लगाउन मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए । उनी भन्छन्, ‘यसमाथिको प्रतिबन्ध कार्यान्वयन हुन अझै केही समय लाग्छ ।’

उनले यस सम्बन्धमा मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिए । त्यसका लागि सबै निकायले आवश्यक तयारी गरेको उनले दाबी गरे । तत्काल नभए पनि एक–दुई महिनामा यसमाथि प्रतिबन्ध लाग्ने उल्लेख गर्दै भन्छन्, ‘यसको आयात, बिक्री र प्रयोगमा पूर्ण रुपमा रोक लगाइनेछ ।’

के हो ‘इलेक्ट्रिक सिगरेट’ ? 

विद्युत अथवा ब्याट्रीबाट सञ्चालित धुम्रपानका यन्त्रहरु इलेक्ट्रोनिक सिगरेट हुन् । यसको प्रयोगलाई भ्यापिङ पनि भनिन्छ । धुम्रपानको तलतल मेटाउने यसमा तरल पदार्थ हुन्छ । र, त्यसलाई तताएर मुखबाट धुँवा निल्ने गरिन्छ । 

यस्तो तरल पदार्थमा निकोटिन, स्वाद र अन्य रसानहरु हुन्छन् । तापक्रमको माध्यमबाट निकोटिनलाई बाफको रुपमा सेवन गरिने भएकाले पनि यसलाई इलेक्ट्रोनिक सिगरेट भनिएको हो । अमेरिका, भारतसहित विश्वका ४४ वटा देशले यसमा प्रतिबन्ध लगाइसकेका छन् । 

स्वास्थ्यमा कस्तो असर ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.डाक्टर बुढाथोकी इ–सिगरेटले मानिसमा धुम्रपानको लत बसाल्ने बताउँछन् । ‘यसमा निकोटिन हुन्छ, जुन लत हो । यसले मानिसमा झन् धुम्रपानको कूलत बढाउँछ,’ उनले भने । 

इलेक्ट्रोनिक सिगरेटको प्रयोगले श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती दुख्ने वा दीर्घकालीन स्वास्थ्य समस्यासमेत उत्पन्न हुने उनले बताए । चुरोटको परिवर्तित स्वरुपमा आएको यस्तो सिगरेटले युवाको स्वास्थ्य र रकम दुवै बर्बाद हुने प्रवक्ता बुढाथोकीको भनाई छ ।

के छ कानूनी व्यवस्था ? 

सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका, २०७१ ले चुरोट, बिँडी, सिगारको खिल्ली फुटकर वा खुद्रा बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने व्यवस्था गरेको छ । 

ऐनको दफा २८ मा कसैले पनि चुरोट, बिँडी, सिगार र इलेक्ट्रोनिक सिगरेटजस्ता सूर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रुपमा बिक्रीवितरण गर्न नपाउने उल्लेख छ । 

सोही दफाको उपदफा (३) मा भनिएको छ, ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाउने छैन ।’

आयात बढ्दो 

नेपालमा वर्षेनी ठूलो मात्रामा इलेक्ट्रोनिक सिगरेटको आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि चैत मसान्तसम्म मात्र एक लाख साढे २८ हजार थान इ–सिगरेट आयात भएको भन्सार विभागले जनाएको छ । 

गत वर्ष ३२ लाख साढे २३ हजार थान ई–सिगरेट आयात भएको विभागको तथ्याङ्क छ । त्यसबाट साढे १३ करोड राजस्व उठेको थियो । नेपालमा मुख्यगरी चीन, भारत, कोरिया, अमेरिका, बेलायत, क्यानडालगायत देशबाट इलेक्ट्रोनिक सिगरेट आयात हुने गरेको छ ।
 
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का चीनबाट सबैभन्दा धेरै आयात हुने गरेको बताउँछन् । त्यसपछि कोरिया, अमेरिकालगायत मुलुकबाट पनि ल्याउने गरिएको पाइएको छ ।
 

टिप्पणीहरू