महासंघको भित्री–रुप यस्तो, पत्रकार–परिचय त साह्रै सस्तो !

महासंघको भित्री–रुप यस्तो, पत्रकार–परिचय त साह्रै सस्तो !

विशुद्ध पत्रकारहरुको छाता संगठन मानिने नेपाल पत्रकार महासंघको असली रुप देख्ने सर्वसाधारण तीनछक हुनेछन् । ‘... लाई भन्दा देख्नेलाई लाज’ भनेझैं सक्रिय पनि, निष्क्रिय पनि, पत्रकार पनि गैरपत्रकार पनि– शिक्षक, वकिल, सरकारी कर्मचारी, राजनीतिक पार्टीका नेता–कार्यकर्ता, कन्सल्टेन्सी सञ्चालक, बैंकका म्यानेजर, गैससमा जागिरेदेखि उद्योगी–व्यवसायी आदि जो र जस्तापनि सदस्य रहिआएको लामो सूची हेर्दा नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको महान् संस्था ठान्दै आएका आमनागरिकसमेत दलालहरुकै अखडा रहेछ भनेर झल्याँस्स हुने देखिन्छ । पत्रकार महासंघको इज्जत, प्रतिष्ठा र गरिमालाई राजनीतिक दलका भरौटेहरुले ‘आची’मै मिलाइदिएका हुन् । चुनावकै निहुँमा भएपनि यो बेला शुद्धीकरणको विवाद चुलिएर छताछुल्ल भएको छ । 

चितवन शाखाका २२६ जना सदस्यमा लगभग आधा त यस्तै अनुहार देखिन्छन् । राजनीतिक दलका नेता–कार्यकर्ताहरुले पत्रकार महासंघ जस्तो गरिमामय संगठन चलाउँदा यस्तो अत्यन्त लाजमर्दो, घिनलाग्दो दुरावस्था बन्न पुगेको हो । सदस्यता शुद्धीकरणको गलफत्तीले गत चैत २४ गतेका लागि तोकिसकेको अधिवेशनसमेत स्थगित भएर अझै हुन नसकिरहेको स्थितिमा एकाएक ९७ जनाको नामावली र कैफियत देखिएपछि चितवनमा खैलाबैला छ । चुनावी चलखेलको हिसाबले यतिबेला सदस्यता काटकुटको ध्येय अंकगणित नै भएपनि महासंघभित्रको गन्दगीचाहिँ छरपष्ट भएको छ । 

अहिलेसम्म पत्रकार महासंघ चितवनको सदस्य रहँदै आएका लक्ष्मण भण्डारी, रोहिणीप्रसाद त्रिपाठी, महेन्द्रराज श्रेष्ठ, अमरदेव प्रधान, मदन विश्वकर्मा, अजिता अधिकारी, गिता पंगेनी, अमृता गुरुङ, बालगोविन्द न्यौपाने, नवराज मिश्र, सरिता अपेक्षा महतो, विष्णुराज सिग्देल, टिकाकली खरेल, एलिना पोखरेल, सुमित्रा महतो, आषिश उप्रेती, पुनम थापा, सुरक्षा रेग्मी, रञ्जिता अधिकारी, सुनिता लामा र अनिता अर्याल पत्रकारितामा निष्क्रिय रहेको जनाउँदै अब उनीहरुको सदस्यता नवीकरण नगर्ने भनिएको छ । 

लामो समय पत्रकारितामा बिताएका केही अग्रजलाई भने मानार्थमा लैजाने निर्णय भएको पनि त्यसमा जनाइएको छ । गणशेखर शर्मा, मोहन पोखरेल, विष्णु छिमेकी (अमेरिकामा बसोबास), गोविन्दराज विनोदी र बाबुराम घिमिरेलार्ई मानार्थ दिइने उल्लेख छ । नवीकरण नगर्ने तर मानार्थतिर लैजानेमा एपेक्स कलेजमा पढाउने रामचन्द्र पियाको पनि नाम छ ।

पेशागत रुपमा शिक्षक सेवामा रहेर यता पत्रकारिताको पनि खोल ओढ्दै आएका हरिप्रसाद अधिकारी, दिनेश श्रेष्ठ, मनोज विष्ट, प्रमिता ढकाल, सुवास पण्डित, अमृता गुरुङ, इन्दिरा दाहाल, विपिन पाठक, भूपराज पाठक, शंकर चिमौरिया, शिव शर्मा गौतमको पनि अब सदस्यता नवीकरण नगर्ने भनिएको छ । नारायणप्रसाद सापकोटा त निजी स्कूल सञ्चालक नै हुन् भने शारदा पौडेल कृषि क्याम्पसकी कर्मचारी । अनन्तप्रसाद सुवेदी पनि रामपुर कृषि क्याम्पसका शिक्षक हुन् ।  शिक्षक एवम् कलेज सञ्चालकसमेत रहेकी अनिता खनाल, प्रेरणा बोर्डिङ स्कूलकी शिक्षक प्रतिमा तामाङ, ग्रिनल्याण्ड स्कूलका शिक्षक मनोजकुमार पन्त, निजी स्कूल शिक्षक होमनाथ न्यौपानेले पनि उल्लेखित सबैले जस्तै हालसम्म महासंघको सदस्यता लिइरहेकामा अबदेखि नवीकरण नगर्ने निर्णय भएको बताइएको छ ।

यसैगरी, कलेज लाइब्रेरियन प्रकाश आचार्य, सौराहाका होटल व्यवसायी नवीन नेपाल, सहकारी कर्मचारी लक्ष्मण गौतम, कम्प्युटर टाइपिस्ट सुकदेव अर्याल पनि अब पत्रकार महासंघको सदस्यता नवीकरण नगरिनेको सूचीमा देखिन्छन् । बैंक कर्मचारी विरोध अधिकारी, रिलायबल इन्स्योरेन्सका कर्मचारी हेमराज रिजाल, नारायणी रिसोर्टकी कर्मचारी सूचना गुरुङ, इन्स्योरेन्सका कर्मचारी पनि र ठोरीमा रिसोर्ट व्यवसाय पनि सञ्चालन गर्ने भनिएका सुदीप थापा, कन्सल्टेन्सी सञ्चालक तथा इन्जिनियर समेत रहेका विष्णु अधिकारी, इन्स्योरेन्स म्यानेजर राजु थापा, ग्लोबल बैंक म्यानेजर विश्वास पौडेल, कन्सल्टेन्सी सन्चालक सुरज ज्ञवाली, एक्सपर्ट एजुकेशनमा बिजनेश म्यानेजर रहेका विनोद रिजाल, बैंक कर्मचारी विष्णुप्रसाद त्रिपाठी, बिमा कम्पनीका कर्मचारी सरोज खनाल, बिमा कम्पनीकै म्यानेजर प्रकाशबाबु खनाल, चितवन उद्योग संघका कर्मचारी राजु भट्ट, ब्लड बैंकका हाकिम रमेशकान्त पौडेल, पूर्णतःअधिवक्ता मुकुन्दराज दाहाल, औषधि व्यवसायी सुरेशकुमार अधिकारी, स्टेशनरी व्यवसायी कृष्णप्रसाद पौडेल, मौलाकाली केबुलकारका म्यानेजर सुरज पौडेल, कम्युनिकेशन पसल व्यवसायी यतिराज सापकोटा, फर्निचर व्यवसायी महेश पाण्डे, व्यवसायी हरि पौडेल, सचिन भट्टराई, पूर्णप्रसाद शर्मा, सुनचाँदी व्यवसायी अमिर रामदाम, ज्योतिषीको मात्रै काम गर्ने भनिएका खेमराज सिग्देल, मुद्रण व्यवसायी खोमकान्त रेग्मी, फोटो स्टुडियो चलाउने र पत्रकारितामा निष्क्रिय कृष्ण न्यौपानेले पनि अहिलेसम्म महासंघबाट पत्रकारको परिचय पाउँदै आएको देखिन्छ ।

यस्तै, चेपाङ पालेर बसेका भनिएका कपिलप्रसाद खनाल, एमाले पार्टी कार्यालयका तलबी कर्मचारी रामबाबु सुवेदीले समेत पत्रकार महासंघको सदस्य लिँदै आएकोमा अब नवीकरण नहुने लिस्टमा नाम चढेको छ । जिसस प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी रामकान्त पौडेल, भरतपुर महानगरपालिकाका अधिकृत बालकृष्ण थपलिया, एनजिओकी कर्मचारी सरिता पौडेल, गैंडाकोट नगरपालिकाका कर्मचारी गोविन्द घिमिरे, कृषि विश्वविद्यालयकी कर्मचारी सबिता श्रेष्ठ, रानीह्याङ गाप समाजवादी अध्यक्ष ज्ञानेन्द्र तामाङ, भरतपुर महानगरपालिकाका कम्प्युटर अपरेटर आशिष अधिकारी, नगरपालिका कार्यालयकै कर्मचारी शोभा पुडासैनी, भरतपुर महानगरपालिकाका कर्मचारी सुरेन्द्र कुँवर, गण्डकी गाउँपालिकाका कर्मचारी सरोज विश्वकर्मा, युवा संघका नेता शंकर अधिकारी, व्यवसायी सरोज उपरकोटीको पनि अब सदस्यता चट् हुने भन्ने छ । जापानमा रहेका प्रदीप घिमिरे पनि हटाइनेको सूचीमा छन् ।  

यस्तै, रत्ननगर नगरपालिका वडा नं. ९ मा चुनाव उठेर हारेकी भनिएकी सरस्वती लामा, भरतपुर अस्पतालका कर्मचारी नवीनबाबु मरहठ्ठाले पनि अहिलेसम्म पत्रकार महासंघको सदस्यता लिइरहेको पाइन्छ । केन्द्रको आखिरी नतिजा त हेर्न बाँकी नै छ । राप्ती नगरपालिकामा जागिरे पूर्णबहादुर मगर र विदेशमा रहेका सुरोज बराकोटीलाई नयाँ सदस्यता नदिने कुरा छ भने गत २०८० माघ ५ मा निधन भएका सदस्य वीरबहादुर सिंजालीको नाम सूचीबाट हटाउने निर्णय लेखिएको छ । 

शुद्धीकरणका विषयमा अझै घनिभूत छलफल चलिरहेको नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेल बताउँछन् । देशभरिबाट झण्डै १३ सय उजुरी रहेको जनाउँदै अध्यक्ष पोखरेलले भने, ‘जतिसक्दो चाँडो टुंग्याउँ भनेर हामी घुँडा धसेर लागेका छौं । कसैलाई अन्यायमा पर्न नदिने गरी शुद्धीकरणचाहिँ हुन्छ । मूल पेशा पत्रकारिता छ भने उनीहरुले पत्रकार महासंघको सदस्य लिउन् । हैन, मूल पेशा अरु केही छ, पत्रकारिता पार्टटाइममात्रै हो भने चाहिँ शुद्धीकरणमा सहयोग गर्न भनिरहेका छौं ।’

युनियन, चौतारी, सेन्टर जस्ता पत्रकारको राजनीतिक संगठनबाट चुनाव लडेर आउने परिपाटीले पत्रकार महासंघमा विकृति बढाएको हो । अहिले पनि चुनावी जोडघटाउकै निम्ति शुद्धीकरणको तमासा भइरहेको प्रस्टै छ । यसअघि कांग्रेस–माओवादी मिलेर चितवनमा पत्रकार महासंघको निर्वाचन जितेका थिए । पछिल्लो समय मुलुकमा फेरि राजनीतिक गठबन्धन उल्टिएर एमाले–माओवादीहरुको समीकरण बन्दै गर्दा कांग्रेसीहरु आत्तिने नै भए । जमानादेखि प्रेस चौतारीको बलियो पकड रहिआएको ठाउँ हो चितवन । पछिल्लोसमय प्रेस युनियनले सदस्यता शुद्धीकरणको माग गर्दै जिल्ला अधिवेशन हुन नदिएको र लामै हानथापकाबीच केन्द्रमा उजुरी परेपछि यी ९७ जनाको नवीकरण नगर्ने भनी माथिबाटै बनेको सूची पत्रकारहरुमाझ लिक भएको बताइन्छ । पत्रकारिता नै नगरेपनि अहिलेसम्म महासंघबाट सजिलै पत्रकारको परिचय पाउँदै आएकाहरु तिलमिलाएर शाखामा अत्यन्तै कोहोलो छ । छाँगाबाट खसेझैं भएका छन् । 

महासंघको कार्ड बोकेर, बेलाबेलामा कार्यक्रममा पत्रकारको भीडमा मिसिएर आफूलाई पत्रकार भनी चिनाउँदै आएकाहरुले परिचयपत्रकै आधारमा पत्रकारले पाउने सेवा–सुविधा, सहुलियत र सम्मान पनि सजिलै हात पार्दै आएका छन्, पत्रकारितामै समर्पित इमानदार र स्वतन्त्रहरुले बरु पाउन गाह्रो परेका कैयौं प्रमाण छन् । यतिबेला पनि ठूलालाई जोगाएर सानालाई मात्रै कसिएको भन्दै रिसले आगो भएका असन्तुष्टहरुले अर्को विद्रोह गर्ने खतरा देखिएपछि पुनः तैंचुप मैचुप को हिसाबले महासंघको रथ उही गतिमा धकेलिने सम्भावना नै प्रबल देखिन्छ । लिने–दिने दुवैलाई लाज नभएपछि के रु फिल्डमा खटिएर सूचना संकलन गर्दै मरीमरी समाचार लेख्ने अरु तर महासंघको कार्ड बोकेको भरमा पत्रकार कहलिनेहरु पनि हुँदा साँच्चिकै श्रमजीवी पत्रकारहरु अवमूल्यनमा परेका छन् । 

पत्रकारिताभन्दा खुराफात बढी गर्नेहरु संगठनको झोला भिर्न जानेमा छन् । राजनीतिक दल र तिनका नेताको आडमा पावरफुल हुन अनि त्यसैको बलमा दलाली गरेर मनग्ये पैसा कमाउन अधिकांश पत्रकारहरु राजनीतिक संगठनमा घुस्रिने गरेका हुन् । तर एउटै पत्रकार आफैंमा यति शक्तिशाली हतियार हो कि समाज, सरकार, राजनीति अनि राज्यका तीनै अंगलाई निगरानी गर्ने गहन जिम्मेवारी तथा महान् दायित्व छ । एकदम स्वतन्त्र, तटस्थ, निष्पक्ष, जिम्मेवार अनि जवाफदेही हुनुपर्ने पत्रकारहरु नै बिग्रँदा नेपालको पत्रकारिता धर्मसंकटमा छ, यसैले सिंगो देश पनि दिनदिनै बर्बादीको दलदलमा भासिँदै गएको हो । हेरौं, त पत्रकार महासंघमै यत्रो घुसपैठ ! 

पत्रकारिता स्वतन्त्र हुनुपर्छ भनेपछि पत्रकारहरुचाहिँ स्वतन्त्र हुनुपर्दैन रु पत्रकारहरु नै राजनीतिक पार्टीको झण्डामुनि लम्पसार हुँदा स्वतन्त्र पत्रकारिताको मर्म, धर्म सबै स्वाहा भएको हो । अब झन् नेपाल पत्रकार महासंघ र पत्रकारिताप्रति जनविश्वास के रहला रु धमिलै पानीमा माछा मारिरहन अभ्यस्त दलहरुले पत्रकारहरुलाई पनि हुँडलिदिए । पत्रकारितामा राजनीति गर्न एमालेले प्रेस चौतारी, कांग्रेसले प्रेस युनियन, माओवादीले प्रेस सेन्टर जस्ता संगठन बनाएर पत्रकारहरुलाई आ–आफ्नो जालमा नराम्ररी जकेडेका छन् । राजनीतिको मन्द विषले लठ्ठिएकाहरुले चलाउँदै आएको पत्रकार महासंघ कसरी गतिलो होस् रु महासंघ नै पूरै विषाक्त हालतमा छ । शुद्धीकरणका लागि समुद्र मन्थन झैं चर्को गन्थन चलिरहेको यो बेला सर्लक्कै विष जति पूरै निलेर महासंघलाई अमृतमय एवम् शुद्ध, पवित्र बनाउनसक्ने सिद्धपौरुषत्व नेतृत्वमा जरुरी छ । 

दलीय संगठनको आकार बढाएर महासंघमा पकड बनाउन उनीहरुले जस्तालाई पनि सदस्यता बाँड्दाको प्रतिफल अहिले नेपालमा लाज र घिनको ज्वलन्त पराकाष्ठा नै नेपाल पत्रकार महासंघ भएन त ! पत्रकारिताको धर्म–मर्म नै सोत्तर भएर महासंघमा सिनोसिद्रा ज्यादा थुप्रिँदै गएका हुन् भन्दा अत्युक्ति हुनेछैन । देशलाई बचाउन, बनाउन, सही बाटोमा चलाउन सञ्चारजगत एवम् पत्रकारिता क्षेत्रको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । तर पत्रकार, पत्रकारिता अनि पत्रकार महासंघ नै यस्तो विषाक्त, दूषित र दुर्गन्धित भइरहे मुलुकको राजनीति कहिल्यै संग्लिने पनि छैन । देश र जनतामाथि सदैव धोका भइरहनेछ ।

सदैव पत्रकारितामै क्रियाशील, समर्पित पो पत्रकार त ! गर्नलाई अरु पेशा व्यवसाय गर्ने तर महासंघको कार्ड देखाएर ठाउँठाउँमा आफूलाई पत्रकार भनी चिनाउँदै आएकाहरुलाई नै बेसी यो सूचीले भतभती पोलेको पाइएको छ । पत्रकारको नाममा धम्की, बार्गेनिङ र असुली धन्दा पनि अधिकांश यस्तैबाट हुने हो, नत्र काम न धाम किन चाहियो नाम रु दाम र साम बटुल्नकै लागि होइन त ? 

१०–१५ वर्षअघि विगतमा एकाध वर्ष, २–४ वर्ष कसैगरी पत्रकारितामा जोडिन पुगेकै आधारमा महासंघको कार्ड लिएर जिन्दगीभर पत्रकारको परिचय बनाइरहन सुहाउने कुरा हो र ?  तर अधिवेशनमा भोट हाल्न र हलाउनकै लागि महासंघबाट जथाभावी रुपमा पत्रकारको कार्ड बाँडिएको छ । विभिन्न कार्यालय तथा संस्थाका कार्यक्रमहरुको ठेक्का लिनेदेखि अनेक कमाउ धन्दाको लालचमा पत्रकारहरु नै फस्न पुगेका छन् । अनि त देश खोक्रिँदै गएको छ, मुलुकमा महँगी, भ्रष्टाचार र अराजकताले जनता नराम्ररी घोक्रिएका छन् ।

यसैबीच, आज बागमती प्रदेशको साधारणसभामा बोल्दै वरिष्ठ पत्रकार प्रताप विष्टले नै महासंघको अवस्था अत्यन्त लज्जास्पद भएको बताइदिए । ‘पत्रकार महासंघको सदस्य हुँदैमा होनाहार पत्रकार हुने पनि होइन’, उनले भने, ‘पत्रकारिता गर्दै आएको हिजोको पुरानो पुस्तालाई त महासंघको सदस्य बन्ने कि नबन्ने भन्ने भइसक्यो ! महासंघको सदस्यता देखाउनै लाज मर्नुछ । स्वतन्त्र पत्रकारिताको नाममा राजनीति गर्ने दलका भरौटेहरुले साँच्चै भद्रगोल नै पारेको स्थिति हो । यसैप्रसंगमा वरिष्ठ पत्रकार विष्टले भनिदिए, ‘महासंघलाई भन्दा आ–आफ्नो चिन्तन र विचारलाई महत्व दिँदै आएका छौं । मेरो मान्छेको नकाटियोस्, अरुको काटियोस् भन्ने नै कुरा हो । मेरो भोटर काटिएला भन्ने डर छ ।’ आफ्नो कुरा अघि सार्दै उनले प्रस्ट भनेका छन्, ‘मेरो कुरा के हो भने– क्षमता राखौं । पत्रकारिता क्षेत्रमा आज चुनौती छ । सामाजिक सञ्जालले हामीलाई असजिलो बनाएको छ, युटुबरहरुले असजिलो बनाएको छ । पितपत्रकारिता मौलाएको छ । दलाली पत्रकारिता पनि मौलाएको छ । यो अवस्थामा हामी इमानदारीपूर्वक अगाडि बढ्नुुपर्छ । संख्यात्मक रुपमा व्यापक भयौं, गुणात्मक रुपमा के भयौं आज रु चिन्ता यही हो ।’

त्यहाँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बोलेको छोटो भिडियो भर्खर चितवनका पत्रकारहरुको गु्रपमा देखिएपछि ‘सरकारी शिक्षक’ भनेर नवीकरण नगर्ने सूचीमा परेका एमालेको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले वरिष्ठ पत्रकार विष्टलाई ‘यो फन्टुस’ भनेर जिल्लाको ग्रुपमा लेख्न भ्याइहाले ।
 

टिप्पणीहरू