यस्तो चटक लामो समय चल्दैन

यस्तो चटक लामो समय चल्दैन

पछिल्ला वर्षमा धमाधम राजनीतिक छलाङ हानिरहेका छन् राजेन्द्र लिङदेनले । ०७८ को राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै पार्टी अध्यक्ष बनेका उनी ‘हेभिवेट’ कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसम्म बने तर ४० दिनमै बहिर्गमनमा परे । ०३६ सालमै विद्यार्थी जीवनबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनी भुइँ तहबाट उठेका नेता हुन् । ०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष थिए । तत्कालीन गोलधाप गाविस–३ बाट २ पटकसम्म वडाध्यक्ष चुनिए । ०६०/६१ मा राजाद्वारा मनोनित जिविस सभापति भए । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएर संसदमा राप्रपाको एक्लो सांसद बन्ने हुन् । उनै सिटौलासँग चौथो पटकको भिडन्तमा दोस्रो पटक पराजित गर्दै अहिले १४ सांसदसहित संघीय संसदमा प्रतिनिधित्व गरिरहेका छन् । 

– हरि गजुरेल

० १६ महिनामै प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत माग्नु पर्ने घटनाक्रमलाई कसरी लिनुहुन्छ ? 

– हामीले शुरुदेखि नै यो व्यवस्थाले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ भन्दै आएका थियौं । यसको कारण प्रधानमन्त्री स्वयं हुन् । उनले समीकरण परिवर्तन फेरिरहँदा यस्ता समस्या निम्तिएका हुन् । 

० सर्वाेच्चले ८ जेठलाई उपेन्द्र यादवको दल फुटसम्बन्धी मुद्दाको पेशी तोक्नु र सोको अघिल्लो दिन प्रधानमन्त्रीले विश्वासको मत लिन हतारिनुलाई कसरी बुझ्ने ? 

– प्रधानमन्त्रीलाई आफ्नो निर्णय र अदालतप्रति विश्वास रहेनछ । अदालतमा केही राम्रा न्यायाधीश पनि छन् । तर त्यहाँ अधिकांश न्यायाधीश होइन, दलको प्रतिनिधि छन् । गोला तान्दा यदि माओवादी, एमालेको न्यायाधीश हुनुभयो भने फैसला कस्तो आउला पूर्व अनुमान लगाउन सकिन्छ । त्यसो भएरै संकटको आँकलनसहित अघिल्लै दिन विश्वासको मत लिनुपरेको हो । विश्वासको मत लिन अझै तीन हप्ता समय थियो । विपक्षीले संसद अवरुद्ध पारिरहेको बलमिच्याइँपूर्वक,  मार्शल लगाएर हतार गर्नुपर्ने जरुरी नै थिएन । 

० तपाईले भन्दै आउनुभएको मुलुकको आफ्नै मौलिक प्रणाली भनेको कस्तो हो ? 

– नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको देशमा कुनै देशको दर्शन नक्कल गर्नेभन्दा पनि आफ्नै मौलिक प्रणाली निर्माण गरेर जानु जरुरी हुन्छ । अभिभावकीय संस्थाको रूपमा राजा रहने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने तीन तहको सरकार आर्थिक रूपले बोझिलो प्रमाणित भइसकेको छ । कालान्तरमा राष्ट्रिय एकताको दृष्टिले पनि खतरनाक हुन सक्छ । जनसंख्याको हिसाबले सानो, भूगोलका हिसाबले दुई महाशक्तिका बीचमा अवस्थित देशले यति धेरै जनप्रतिनिधि पाल्नुको सट्टा प्रदेश तह खारेज गरेर केन्द्र र स्थानीय तहको संरचना बलियोसँग निर्माण गर्नु जरुरी छ ।

अहिलेको शासकीय प्रणाली, निर्वाचन प्रणाली, नियुक्ति प्रणाली यी सबैमा आमूल सुधार र परिवर्तन हुनुपर्छ । अहिले संवैधानिक अंगबीचको शक्ति सन्तुलन बिग्रिएको छ । नियन्त्रण र सन्तुलन भत्किएको छ । संवैधानिक अंगमा राजनीतिक दलका भागबण्डाले नियुक्ति हुन थालेकोछ । मुलुक पछाडि फर्कने कुरा भएन । यही अवस्थामा चल्न पनि सक्दैन । हिजो सुविचारकै साथ यो व्यवस्था ल्याइएको थियो होला तर यसले देशलाई ठूलै दुर्घटनामा पुर्‍याउँछ भन्ने प्रमाणित भइसकेको छ । जसले यो व्यवस्था ल्याए उनीहरू मुखले भन्न नसके पनि महसुस गरिरहेका छन् । उनीहरूलाई यो व्यवस्था ल्याउन प्रेरित गर्ने शक्तिलाई पनि गल्ती भयो भन्ने लागेको हुनुपर्छ । देशलाई योभन्दा बढी बर्बाद गर्ने छुट र सुविधा अब हामीलाई छैन । 

० सदनमा कांग्रेस अलि बढी आक्रामक देखिन्छ । राप्रपा किन सुस्ताएको ? 

– हाम्रो गणित र अहिलेको घटनाक्रम हेर्दा योभन्दा धेरै आक्रामक हुनुपर्ने, चाहिनेभन्दा बढी उत्तेजित हुनुपर्ने अवस्था छैन । अहिले संसदमा गृहमन्त्रीमाथि सहकारी ठगीको अभियोग लागेको छ । एउटा जिम्मेवार व्यक्तिमाथि यस प्रकारको प्रश्न उठिसकेपछि छानबिन र निश्कर्षमा पुर्‍याउन सहयोग गर्नु कर्तव्य हो । सहकारी ठगीको छानबिन हुनुपर्छ भनेर हामीले पनि समर्थन गरेका छौँ ।

तर, संसदमा गृहमन्त्रीले आफ्नो सफाइ पेश गर्ने क्रममा म मात्र दोषी हो, मलाई मात्र अभियोग लागेको हो ? तिमीहरूलाई लागेको छैन ? ममाथि छानबिन हुने हो भने तिमीहरूमाथि किन नहुने ? भन्ने ढंगबाट प्रश्न उठाउनुभयो । संसदभित्रै विदेशीको एजेन्ट रहेको भनेर गृहमन्त्रीले बोलिसकेपछि देश अब नयाँ राजनीति मोडमा गयो । देशको गृहमन्त्रीलाई संसदभित्रै विदेशीको एजेन्ट छ भन्ने थाहा छ । किन कारवाही हुँदैन ? यो विषय अब हामी उठान गर्नेछौँ ।

० प्रतिपक्षीको निरन्तर अवरोध रहिरहे अध्यादेशबाट बजेट आउला । कत्तिको सचेत हुनुहुन्छ, त्यसबारे ?

– अहिले सत्तापक्षले खोजिरहेको त्यही हो । संसदमा प्राविधिक हिसाबले सरकार बहुमतमा भए पनि गणितमात्र सबै थोक होइन । प्रतिपक्ष अत्यन्त बलियो अवस्थामा छ । आफ्नो नीति कार्यक्रम, बजेट पास गरेर लान सजिलो नदेखेपछि अध्यादेशबाटै मुलुक चलाउने तयारी देखिन्छ । संसद रहे,  प्रश्नको सामना गर्नुपर्छ । त्यही कारण संसद नभए राम्रो भन्ने मुडमा गएको देखिँदैछ । सोमबार पनि प्रतिपक्षले समय माग्दा माग्दै बोल्ने समय दिइएन । सभामुखले न्यूनतम अभिभावकीय भूमिकासमेत निर्वाह गर्नुभएन । सबै घटनाक्रम हेर्दा सत्तापक्ष मुठभेडतिर जान लागेको देखिन्छ । सामान्यतया प्रतिपक्ष आक्रामक र सत्तापक्ष रक्षात्मक हुन्छ तर सोमबारको घटनाक्रम उल्टो देखियो । मुलुक यतिकै बसिराख्न सक्दैन । कुनै न कुनै प्रकारको निकासको बाटो खोज्नुपर्ने हुन्छ । 

० राप्रपामाथि हिन्दूधर्म र राजाको एजेण्डा बोकेर राजनीति गरेको आरोप लाग्ने गर्छ । हैन भन्न सक्नुहुन्छ ? 

– हामीले राजा र हिन्दू राष्ट्रको नाममा राजनीति गर्न खोजेको होइन । ०६२/६३ को आन्दोलनपछि जब राजसंस्था–हिन्दूराज्यलाई पाखा लगाइयो, राजाको कुरा गर्दा जीब्रो थुत्ने स्थिति थियो । हामीजस्ता मान्छे सांसद, मन्त्री हुने त कुरै छोडिदिनुहोस् एउटा वडा सदस्य समेत नभई मर्न तयार थियौं । हाम्रो स्वार्थ हिन्दूराज्य र राजसंस्थाको कुरा उठाएर चुनाव जित्नु होइन । मुलुकको हितसँग सम्बन्धित भएका कारण रिस्क मोलेर यो विषय उठान गरेका हौं । राजनीतिमा रहेर धर्मको कुरा गर्न डराउनु हुँदैन । हरेक मान्छेले धर्मलाई जोडेर गयो भने त्यो राजनीति शुद्ध, पवित्र हुन्छ ।

हामी धर्मसहितको राजनीति गर्दछौँ त्यसैले भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर हो भन्छौँ । अरुहरु धर्ममा विश्वास गर्दैनन्, धर्मरहित राजनीति गर्दछन् तर आफ्नो नागरिकलाई भुटानी शरणार्थी बनाएर, सुन तस्करी गरेर, बालुवाटारको सरकारी जग्गा बेचेर खाने बुद्धि निकाल्छन् । हामीकहाँ नबुझिकन धर्मनिरपेक्षता लादियो । धर्मान्तर बढ्दै जाँदा धार्मिक द्वन्द्व नहोस् भनेर मात्रै हामीले हिन्दूराज्यको कुरा गरेका हौं । हिजो हिन्दूराष्ट्र हुँदा कुनै प्रकारको विभेद थिएन । हामीले सर्व धर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट हुनुपर्छ भन्दै आएका छौँ । म लिम्बुको छोरा, किराँत धर्मी भएर पनि हिन्दूराज्य हुनुपर्छ भन्दै आएको छु । त्यसमा हाम्रो के स्वार्थ छ र ? 

० अहिले कांग्रेस, दुर्गा प्रसाईहरू त्यही एजेण्डा बोकेर मान्छे उतारिरहेका छन् ? 

– अहिले कांग्रेसका केही मानिस र अभियन्ताहरु यही विषयमा कुरा गरिरहेका छन् । कसैलाई यो लोकप्रिय एजेण्डा हो भन्ने लाग्दो हो । जसले यो एजेण्डा बोकेर हिँडे पनि,  जे स्वार्थमा बोले पनि अहिले यसैको पक्षमा जनमत बनिरहेको छ ।

० ०५१/५२ सालमा राप्रपाको जुन भूमिका थियो, सत्ता परिवर्तन गर्नमा आज त्यो ठाउँ रवि लामिछानेले निभाइरहेका छन् हैन त ? 

– राप्रपाले विगतबाट निर्मम शिक्षा लिएर त्यो गल्ती नदोहोर्‍याउने अठोट लिएको छ र संसदमा भएका गतिविधि होशियारीपूर्वक हेरेर बसेका छौँ । तर, यसबाट अरुले पाठ सिक्न बाँकी छ । राप्रपाको गल्ती कमजोरीको शिकार अहिले अरु दल भइरहेका छन् । यसमा दु:ख व्यक्त गर्नेबाहेक अरु केही छैन । 

० आइतबार मात्रै पूर्वमन्त्री गोकुल बाँस्कोटाकै क्षेत्रबाटै एक सय बढी एमालेलाई राप्रपा बनाउनुभयो । राप्रपाप्रति त्यस्तो आकर्षण कसरी बढ्यो ? 

– पाँचखाल र त्यस क्षेत्रबाट एमाले, कांग्रेस–माओवादीका साथीहरू आफैंले चासो राखेर पार्टी प्रवेश गर्ने इच्छा व्यक्त गर्नुभयो । नेतृत्वमा बस्नुभएका निर्वाचनमा उम्मेदवार बनेकाहरू आउन लागेपछि रोक्ने कुरा भएन । पार्टी कार्यालयमा आएर पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष, झापाको पहिलाका तरुण अध्यक्ष नरेन्द्र खड्का, संखुवासभाका तेञ्जिङ भुटिया, जेनिसा केसीहरू पार्टी प्रवेश गर्नुभयो । 

० राजनीतिमा लागेको साढे तीन दशकपछि अहिलेको संसदमा प्रस्तुत भएका गतिविधि देख्दा कस्तो लाग्ला ? 

– म कुनै अलमलमा छैन । आलोचना र सस्तो लोकप्रियताको पछि लाग्ने मान्छे होइन म । राजनीति चटकजस्तो विषय होइन । रातारात बन्ने चिज होइन । निष्ठा, तपस्या हो । राजनीतिका लागि मार्गचित्र स्पष्ट हुनुपर्छ । जसरी हुन्छ सत्तामा पुगिछाड्नु राजनीति होइन । राजनीति कसरी पद प्राप्त गर्ने भन्नेमात्र होइन । अहिले त चटके क्रियाकलाप मात्रै भइरहेको छ । त्यही नै पो राजनीति हो कि भन्ने भ्रम पैदा भएको छ । यस्तो धन्दा लामो समय टिक्दैन । 

० तपाईकै पार्टी कार्यालय भत्काउन बालेनले डोजरै पठाए । राप्रपा र बालेनको दुश्मनी के रहेछ ? 

– अदालतले महानगरपालिकालाई घर नभत्काउनु मात्र होइन कि राप्रपाले नक्सा पास गर्न आयो भने त्यो काम गरिदिनु भनेको छ । मुद्दाको न्यायिक निरूपण भइसकेको छ । तर अचम्मचाहिँ के भने महानगरपालिकाकै कतिपय संरचना हाइटेन्सनमुनि छन् । व्यक्तिको हजारौं घर त्यसरी निर्माण भएका छन् । एउटा राजनीतिक पार्टी राप्रपामाथि मात्र यसरी किन धावा बोलियो । 

० भारतको चुनावी मत परिणामलाई कसरी लिइरहनुभएको छ ? 

– भारतीय जनता पार्टीले कसरी आफ्नो दबदबा कायम गरिरहेको छ– त्यो क्रमलाई सचेत राजनीतिकर्मीको हिसाबले सचेततापूर्वक हेरिरहेको छु । त्यसको प्रभाव के पर्छ धेरै चिन्तित भएर सोच्दिन । हाम्रो देशको राजनीति हामीले नै निर्धारण गर्ने हो । हामी कमजोर भएनौं, ठीक ठाउँमा बस्यौँ भने कसैले हस्तक्षेप गर्न सक्दैनन् ।

हाम्रा क्रियाकलापले हस्तक्षेप नै निस्कने हो । हामी ठीक ठाउँमा बस्यौं भने त्यहाँका प्रभाव कसरी पर्छ ? हामी ठीक ठाउँमा नबसेपछि उनीहरूले जहिल्यै खेल्छन् । नेपाल भूराजनीतिक परिस्थितिको बीचमा छ । गलत र केटाकेटीपना, सत्ता स्वार्थका लागि जे पनि गर्ने बानीका कारण भूराजनीतिक शिकार भएका छौँ । लाभ होइन, संकटमा गइरहेका छौँ । 

० बिजेपीसँग राप्रपाको समधुर सम्बन्ध भएको सुनिन्छ । फेरि निर्वाचन पर्यवेक्षणका लागि नै तपाईलाई किन छुटाइयो ? 

– एउटा राजनीतिक दलको हिसाबले अर्काे दलसँग सामान्य सम्बन्ध मात्र छ । एउटा अन्तर्राष्ट्रिय फोरममा हामी सँगै छौँ । अरु कुनै प्रकारको सम्बन्ध छैन । अस्ति बिजेपीले त्यहाँको निर्वाचन पर्यवेक्षणका लागि जनमतसम्मलाई बोलायो तर हामीलाई वास्तासम्म पनि गरेन । त्यहीबाट पनि प्रमाणित हुन्छ हाम्रो कुनै विशेष सम्बन्ध छैन भनेर । 

० ४० दिन उपप्रधानसहित ऊर्जामन्त्री रहनुभयो । के बुझेर फर्किनुभएको ? 

– नेतृत्वको नियत ठीक हुने हो भने ५/६ वर्षभित्र नेपाल बन्न सक्छ । ६ महिनाभित्रै नेपाल बन्दै छ भन्ने सन्देश दिन सकिन्छ । ब्युरोक्रेसी समस्या होइन, नेतृत्वमा समस्या छ । नेतृत्व ठीक हुने हो भने ब्युरोक्रेसी ठीक हुन्छ भन्ने बुझेर आएँ । नेतृत्व ठीक भयो भने ब्युरोक्रेसी कामै लिन नसकिने अवस्थामा चाहिँ पुगेको छैन ।
 

टिप्पणीहरू