आइजिपीले त्यसो भन्दैमा दोषी जोगिए त ?
२०४६ माघमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरी २०७४ सालमा २६औं प्रहरी महानिरीक्षकको फुली लगाएका सर्वेन्द्र खनालले २२ महिना प्रहरी प्रशासन चलाउँदा तत्कालीन सभामुख र मन्त्री आफ्ताब आलम पक्राउ परे । लामो समय अपराध महाशाखाको नेतृत्व गर्दा गुण्डा नाइके कुमार ‘घैंटे’लाई इन्काउण्टर गरे । फुटबलको ‘म्याच फिक्सिङ प्रकरण’मा तत्कालीन राष्ट्रिय टिमका कप्तान सागर थापासहित पाँच खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाए । पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने तत्कालीन सहसचिव (हाल सचिव) रामआधार साहलाई हत्कडी लगाउने काम पनि उनैले गरे । जमिम साह हत्याकाण्डमा संलग्नलाई नियन्त्रणमा लिने काम उनकै कमाण्डमा सम्पन्न भयो । तराईमा एसपी र प्रमुख जिल्ला अधिकारीहरू भूमिगत समूहको त्रासका कारण भाग्नुपर्ने स्थिति थियो । १९ महिना त्यता बस्दा यस्ता समूहलाई तहसनहस पारे । नक्कली इञ्जिनियर पक्राउ, हुण्डी कारोबारी नियन्त्रण, कन्सलटेन्सीको ठगी धन्दामा लगाम, ललितपुरकोे ‘बडीखेल हत्याकाण्ड’ पर्दाफास गर्ने काम उनकै पालामा भएको हो । युएनमा चार पटकसम्म पुगेका उनी आमोद गुरुङ झैं उतै अल्झिएर बसेनन् । प्रहरीको कमाण्डर हुँदा बेरुजु फस्र्योटमा सर्वाेत्कृष्ट काम गरेको भन्दै दुई दुई पटक पुरस्कृत भए । प्रहरी प्रशासनलाई डिजिटलाइज गर्नेदेखि सामुदायिक साझेदारीको अवधारणा उनैले ल्याएका हुन् । अवकाशपछि एमालेको राजनीतिमा सक्रिय छन् ।
– हरि गजुरेल
० सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल बञ्जाडे जोशीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा आफ्नो संगठनप्रति कत्तको गौरव महसुस हुँदैछ ?
– देशको अर्थतन्त्र नै तहसनहस पार्नेहरु जो कसैलाई कानुनी, कठघरामा ल्याइँदा क्या बात भन्न मन लाग्छ ।
० तपाईं आइजिपी हुँदा सहकारी प्रकरणमा कत्तिको हात हाल्नुभयो, कति सफलता मिल्यो ?
– हामी हुँदासम्म सहकारी ठगी यस्तो उग्र थिएन । सहकारी क्षेत्र हेर्ने गरी सहकारी विभाग, रजिष्ट्रार, समस्याग्रस्त सहकारी आयोगहरू थिए । ती निकायले प्रभावकारी काम गर्न नसक्दा प्रहरीमा उजुर आउन थाल्यो । उजुरी आएपछि अनुसन्धान र छानबिन गर्ने कानुनी कर्तव्य नै हो ।
० बहालवाला आइजी बसन्त कुँवरले संसदीय समितिमै उभिएर तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न छन् भन्नुभयो । अहिले रवि सत्तामा नहुँदा समात्ने आइजी पनि उनै भए । सत्तासामु प्रहरी किन यति बिध्न लाचार भएको ?
– कोही अमूक व्यक्तिले कुनै बेला केही बोले भन्दैमा प्रहरी प्रशासन लाचार भयो भन्न मिल्दैन । हामी पनि त्यस्तो अभिव्यक्ति किन दिएको भनेर भनिरहेका छौं÷थियौं । त्यो अस्वाभाविक अभिव्यक्ति थियो । सम्बन्धित निकायले क्लिन चिट दिएको अवस्थामा मात्र बोल्ने विषय हो त्यो । आइजीले चाहँदैमा निर्दाेष हुने र नचाहँदैमा नहुने भन्ने कुरै होइन । जसले कसुर, अपराध गरेको छ त्यो विषय आइजीले छेकेर सधैं छेकिन्छ र ढिलो चाँडो त आउँछ आउँछ । आइजीले कसैलाई प्रोटेक्सन गर्न खोज्दैमा साध्य नचल्दो रहेछ । सेवाको सिन्दूर लगाएकै दिन अपराधमा संलग्न बाउ भए पनि छोड्दिन भन्ने कसम खाने प्रहरीले बेलामा बोली बिगार्नु हुँदैन ।
० स्वदेशी नागरिकता त्यागेर विदेशी राहदानी लिएको व्यक्तिलाई प्रधानमन्त्रीले हिजो धाप नमारिदिनुभएको भए, शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनिएका रविलाई तपार्इं आइजी हुँदा सरकारी झण्डा हल्लाउँदै भेट्न नगएको भए रवि यसरी पुल्पुलिँदैनथिए होला नि ?
– अहिले पनि हेर्नुस् त, फोटो खिचेर हिरासतमा असुरक्षित छ भन्ने पार्न खोजे । त्यो बेला अन्नपूर्णमा इन्टरभ्यू नै आयो । धेरैजसो मानिस चितवनको हिरासतमा अन्याय हुँदै छ भन्दै त्यतै ओइरिरहेको, जुलुस नारा भइरहेको, प्रहरीले निष्पक्ष अनुसन्धान गरेन भन्ने आवाज उठिरहेको बेला थियो त्यो । आत्महत्या भन्ने पुष्टि भएपछि दुरुत्साहन मुद्दा लाग्ने हो । डोरी भेटियो, पसलमा गएको देखियो । अडियो रेकर्डमा उसैको भ्वाइस छ । आत्महत्याका निम्ति दुरुत्साहित गरेको भनेर हिरासतमा राखेपछि ऊमाथि अन्याय भयो भन्ने आवाज आयो । कानुन मैले बनाएको होइन, सबैका लागि समान छ ।
जबजब भीडले अनुसन्धानमा अवरोध गर्दछ । अपराधी नै भए पनि उसलाई सुरक्षित राख्नु प्रहरीको कर्तव्य हुन आउँछ । भैरहवामा एउटा कार्यक्रमबाट फर्कंदै गर्दा म त्यहाँ गएको हुँ । पूर्वप्रधानमन्त्री प्रचण्डको एडिसी रहिसकेका तत्कालीन एसपीले पूर्वाग्रही भएर काम गरिरहेको छ, रविलाई फसाउँछ भन्ने परिरहेको थियो । सिआइबीबाट अर्काे एसपीलाई खटाइएको थियो । नचाहिने कुरा प्रहरीले गर्दैन भन्ने म्यासेज पनि दिनु थियो । बस्, कुरा यति मात्रै हो ।
० हिजो रवि लामिछानेले प्रेस ऐन, राहदानी, नागरिकता, अध्यागमन, कर, श्रम कानुन उल्लंघन गरेकोमा प्रेस काउन्सिलले कारबाही गर्दा तपाईंहरूले किन साथ नदिनु भएको त ?
– कतिपय इस्यु जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धान भएर अगाडि बढ्ने हुन्छ । त्यसमा परराष्ट्र मन्त्रालयका विषयहरू जोडिएका थिए । प्रहरीमा आएको र क्षेत्राधिकारभित्र परेको कुनै कुरा पनि बाँकी राखिएन । मेरो पालामा कसैलाई छोडिएन ।
० बालेनले निर्वाचनमा सफलता पाएको देखेर रवि टिभी छाडी निर्वाचनमा होमिए, तपाईंचाहिँ के देखेर राजनीतिमा हाम फाल्नुभा’को नि ?
– प्रहरी हुँदा जनताको सेवालाई शिरमा राखेर काम गरियो । अवकाशपछि राजनीतिक रूपमा स्थिति राम्रो भए तलैसम्म राम्रो हुन्छ भनेर नीतिगत कुरामा सुधार ल्याउन निष्ठापूर्वक राजनीतिमा प्रवेश गरेको हुँ । फल मात्र खोजेको भए मलाई माननीय चाहियो भनेर समानुपातिकतिर बस्थेँ होला । प्रत्यक्षतर्फ लड्छु भनेर कस्सिएँ । प्रहरी त अपराधीसँग खेलेर आएको मान्छे, उसका दुश्मन धेरै हुन्छन् । कानुन परिमार्जन, समन्वय, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिमा देश कसरी विकसित हुन सक्छ भनेर पहिलेदेखि चासो भएका कारण राजनीतिमा आएको तर त्यो सेवामा आफूले चाहेजस्तो केही गर्न पाइएन, बञ्चित भइयो ।
० रवीन्द्रप्रताप शाह माओवादीबाट सांसद नै बन्नुभयो, नवराज सिलवाल र तपाईं एमालेको झण्डामुनि पुग्नुभयो । कम्युनिष्ट पार्टी नै रोज्नुको कारण के हो ?
– सम्माननीय प्रधानमन्त्रीज्यू केपी ओलीसँग काम गर्दै गर्दा मैले लगेका राम्रा काममा कहीँ कतै अवरोध नआएको पाएपछि काम गर्न सहज हुन्छ भन्ने लाग्यो । राष्ट्रियतामा उहाँले जुन अडान देखाउनु भएको थियो, त्यो मन पर्ने नै भयो । हामी त सुरक्षासँग आबद्ध अधिकारी, राष्ट्र सुरक्षित हुनुप¥यो । स्वाभिमानका साथ बाँच्नुपर्यो । चाहे गरिब होस् वा धनी स्वाभिमान सबैभन्दा ठूलो कुरा हो । उसले सम्मानित जीवन बाँच्न खोज्छ । राष्ट्रियताको सवालमा मेरोलागि मिल्दोजुल्दो पार्टी यही हुनसक्छ भनेर एमाले रोजेको हो ।
० अवकाशपछि एमाले रोजेकाले कतिपयले प्रहरीमा रहँदा तपाईंले कसरी निष्पक्ष काम गर्नुभयो होला भनेर प्रश्न गर्दछन् । के जवाफ दिनुहुन्छ, उनीहरूलाई ? ।
– आइजिपी रहँदासम्म कसैप्रति पूर्वाग्रह र दुराग्रह राखेर एउटै काम गरेको छैन । भन्नलाई त एमाले, प्रधानमन्त्रीसँग मिलेर के के गर्यो पनि भनिन्छ । दलीय राजनीतिमा अरूलाई नराम्रो देखाएर आफू राम्रो बन्न खोजिन्छ । अरूलाई खुइल्याउने यो राजनीतिको शिकार म पनि भएँ । आइजी हुँदासम्म यो गरिनस् भनेर बोल्थे होलान्, सबैका मुख खुल्लै थिए । तर, त्यसबेला कहिल्यै त्यस्तो टीकाटिप्पणी सुन्नुभयो र ?
० पेन्सन खाने, दलको राजनीति पनि गर्ने कुरा मिल्यो त ?
– पेन्सनकै कुरा गर्नुहुन्छ भने युएनमा चार, पाँच पटक गएर आएको, बरु मेरै कन्ट्रिब्युसन छ त्यहाँ । रिटायरमेन्टपछि कुलिङ पिरियड हुन्छ । त्यसपछि सबै नागरिकले सेवा गर्न पाउँछन् । आबद्ध हुन पाइँदैन भन्ने कतै छैन । राष्ट्रिय हित र सुरक्षा प्रतिकूल हुने पो काम गर्न हुँदैन । जनता र राष्ट्रको सेवा गर्न नपाउने हुन्छ र ? प्रहरी यो देशको नागरिक होइन ? प्रहरी प्रधानमन्त्री, मन्त्रीले भनेको मान्ने प्राणी हो, उनीहरूले नागरिक सेवा गर्न पाउँदैनन्, लाठी र बन्दुक बोकेर हिँड्नेले विचार दिनै पाउँदैनन् भन्ने कस्तो सोच हो ? हामी यही नागरिक समाजको मान्छे होइनौं ? प्रहरीले नै समाजमा शान्ति सुरक्षा कायम राखेका होइनन् ? राज्यले दिने त उही तलब न हो । कामै गरेर तलब लिएको होइन र ? कसैले दान दिएको हो र ?
० दशैं यतामात्र झण्डै ६ सय हाराहारी प्रहरीहरू जागिर छोडेर बिदेसिएका छन् । यो स्थिति कत्तिको भयावह हो ?
– चिन्ताको विषय हो । राज्यले संबोधन गर्नुपर्छ ।
० व्यक्तिको अनुहार हेरेर एआइजीमा दरबन्दी थप्ने, काट्ने खेल किन चल्छ ?
– त्यसो गर्नु हुँदैन । संगठनले सही मान्छे सिफारिश गर्न सक्नु पर्दछ । अन्याय भयो भनेर घरघरमा चहार्ने विषय राम्रो होइन । नातागोता, अनुहार हेरेर दरबन्दी थप्ने गरिँदा एकातिर राज्यको भार, अर्काेतिर संगठनको संरचनामा असर पार्दछ । राजनीतिक वृत्तमा अफिसर तहमा बढी चासो राख्ने, प्रहरी जवानलाई उति वास्ता नगर्ने प्रवृत्ति छ । मन्त्री, सचिव भएर आएपछि यो मेरो पेवा हो जस्तो गर्नुहुन्छ । मेरो समयमा तल्ला तहका सातौं हजार प्रहरीको बढुवापछि मात्र एआइजीको गरेको हुँ ।
प्रहरीका छोराछोरी निःशुल्क अध्ययन गराउने व्यवस्था अगाडि बढाएँ । २२ महिना आइजी भएर बस्दा ८ हजार दरबन्दी थप भयो । म सुरक्षित छु, वृत्ति विकासको बाटो खुला छ भन्ने बनाइदिनुपर्दछ । राज्यको सेवा गर्दा सम्मानित जीवन बिताउन पाउने उनीहरूको नैसंगिक अधिकार हो तर यहाँ सम्मान छैन, पैसा छैन, परिवारलाई समय दिन पनि सकिँदैन । संगठनमा सुरक्षित नहुने, राज्यले हेर्ने दृष्टिकोण पनि सकारात्मक नहुने भएपछि पलायन बाध्यता बन्न पुगेको छ ।
० आइजीबाट घर जाने बेला भएपछि मात्र ३० वर्षे उमेर हदको खेलोमेलो किन शुरु हुन्छ ?
– गर्न नहुने काम हो । मलाई पनि सोधिएको थियो तर जागिर खानका लागि खाने विषयमात्र होइन । समग्रमा सिनियर अफिसर उच्च ठाउँमा पुग्नु राम्रै कुरा हो । संगठन, देशको आवश्यकता, यसको उपादेयता मिल्नुपर्ने हुन्छ ।
टिप्पणीहरू