'वाइवाइ काण्ड'मा विनोद चौधरीलाई हराएका तेजेन्द्र विदेश जाँदै
चितवनको भरतपुर महानगरपालिका-१७ का २५ वर्षीय तेजेन्द्र पौडेल साधारण जीवन बाँच्दै आएका थिए । फुर्तिचोकमा सञ्चालनमा रहेको मोबाइल पसलबाट अच्छाखासा आम्दानी भइरहेको थियो । सामाजिक काममा उत्तिकै रुची राख्ने उनले फेसबुकमा ‘भरतपुर फुर्तिचोक’ नामक एउटा पेज पनि चलाउँथे । जहाँ सामाजिक सन्देशका स्टाटस, फोटो तथा भिडियो अपलोड हुँदै आएको छ ।
तर, एक दिन उनको जीवनमा नेपाली कांग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनौद चौधरी ‘खलनायक’को रुपमा प्रवेश गरे । र, उनको जीवन उथलपुथल भयो । तेजेन्द्रले गत बैशाखमा फेसबुक पेजबाट चौधरी समूहको कम्पनीले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे सचेत गराउँदै एउटा भिडियो पोष्ट गरेका थिए । चाउचाउमा मानिसलाई क्यान्सर हुनसक्ने घातक रसायन रहेको तथ्यको आधारमा भिडियोमा भनिएको थियो, ‘वाइवाइलाई बाइबाइ है, कसैले नखानू ।’
त्यो भिडियो रातरात भाइरल भयो । त्यसपछि चौधरी समूहले उनीविरुद्ध चितवन जिल्ला अदालतमा पाँच करोड क्षतिपूर्ती माग गर्दै गाली बेइज्जतीको मुद्धा दायर गर्यो । अदालतले चाउचाउविरुद्ध फेसबुकमा स्टाटस तथा भिडियो जारी गरेको आधारमै गाली बेइज्जती गरेको ठहर नहुने फैसला गरेकाले झण्डै नौ महिनापछि तेजेन्द्रले न्याय त पाए, तर यसबीचमा उनले सास्ती र हैरानी भने खेप्नुपर्यो ।
उनै तेजेन्द्रले धनाढ्य व्यवसायीसँग मुद्धा लड्दा भोग्नुपरेका कठिनाई र झेलेका समस्याबारे जनआस्थासँग कुरा गरेका छन् ।
अदालतले तपाईकै पक्षमा फैसला सुनायो, कस्तो महशुस भइरहेको छ ?
ढिलै भए पनि मैले न्याय पाएँ । अहिले खुशी छु । यो देशमा कानुन रहेछ भन्ने महशुस भइरहेको छ । आफू सही भइयो भने कानुनले ठूला मान्छेलाई पनि गतिलो जवाफ दिने मौका दिँदो रहेछ ।
त्यो भिडियोमा के थियो, जसकारण चौधरी समूहले तपाईंविरुद्ध मुद्धा हाल्यो ?
खासमा बैशाखमा म इलाम गएको थिएँ, चुनावको लागि । मिलन लिम्बुलाई समर्थन गर्न । त्यतिबेला वाइवाइ धेरै खाइयो । तर, त्यहीबेला काठमाडौँ महानगरले चाउचाउमा कैफियत भेट्टाएको समाचार आयो । पछि मैले चितवन फर्केपछि चाउचाउबारे अध्ययन गरें ।
त्यसपछि मलाई चाउचाउ खाएकोमा पश्चाताप लाग्यो । चाउचाउमा साँच्चै घातक रसायनको मात्रा ज्यादा थियो । त्यसैले मैले चाउचाउ नखान सचेत गराउँदै भिडियो सन्देश फेसबुकमा हालेको थिएँ । त्यो भिडियो एक दिनमै पाँच लाखले हेरेछन् । तर चौधरी समूहलाई भने मन परेन ।
यसबीचमा तपाईंलाइ कसैबाट धाकधम्की आयो कि आएन ?
प्रत्यक्ष धम्की त आएन । तर, अप्रत्यक्ष दबाब भने थियो । मेरो आफ्नै अंकल पर्ने आरके शर्मा हुनुहुन्छ गैरआवासीय नेपाली संघको पदाधिकारी । उहाँको साथीले त्यो मुद्धा मिलाइदिन सहजीकरण गर्दिन्छु भन्नुभयो । तर, केही दिनपछि उहाँले आफैँ ‘तिमीले त्यो भिडियो डिलिट गर, अनि फेरि वाइवाइ चाउचाउ किनेर खाएको भिडियो बनाउ, त्यसपछि उनीहरुले मुद्धा फिर्ता लिन्छन्’ भन्नुभयो । मलाई पनि तनाब भएको थियो त्यसैले उहाँले भनेअनुसार नै गरेँ । एउटा पसलमा गएर चाउचाउ किनेको भिडियो बनाएँ, चोकमा गएर एउटा मान्छेलाई चाउचाउ खान लगाएर भिडियो बनाएर हालेँ । तर, त्यसपछि पनि चौधरी समूहबाट कुनै प्रतिक्रिया आएन ।
अनि मुद्धा झण्डै नौ महिना चल्यो, कति पैसा सकियो त ?
शुरुदेखि अहिलेसम्म लगभग तीन लाख सकियो होला । तर मलाई आफन्तहरुले धेरै सहयोग गर्नुभएको छ । अभिवक्ता अनिल पौडेलप्रति म आभारी छु । उहाँले मलाई सल्लाह सुझाव दिनुभयो । आफै मुद्धाको जिम्मा लिएर मलाई आज न्याय दिलाउनुभएको छ ।
देशकै धनाढ्य व्यवसायीसँग मुद्धा लड्दा के पाठ सिक्नुभयो ?
मैले मुद्धा मिलाइदिने प्रलोभनमा परेर दोस्रो भिडियो बनाएकोमा अहिले पश्चाताप छ । त्यो नगरेको भए हुन्थ्यो । अरु त कानुनले सत्यलाई जिताउँछ भन्ने दृष्टान्त देखियो । आम नागरिकको पनि हक र अधिकार कानुनले सुनिश्चित गरेको रहेछ । सत्यको सधैँ जित हुन्छ भन्ने प्रमाणित भयो ।
अबको योजना के छ ?
अब विदेश जाँदैछु, जापान । श्रीमती उतै छ । आफन्तहरुले उतै जा भन्छन् । दुई चार महिनामा उड्छु होला । अन्त्यमा, मिडियाबाट समाचार लेखेर मलाई प्रेरणा र साहस दिने तपाईजस्ता पत्रकार तथा मिडिया हाउसहरुलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।
टिप्पणीहरू