असार नजिकिएपछि किसानहरुको पिरलो शुरु

असार नजिकिएपछि किसानहरुको पिरलो शुरु

वर्षे बालीको सिजन नजिकिएसँगै किसानलाई रासायनिक मलको चिन्ताले सताएको छ । हरेक वर्ष खेतीपातीको मुख्य समयमा रासायनिक मल अभावका कारण किसानहरुले सास्ती व्यहोर्दै आएका छन् । यो वर्ष पनि उनीहरुले चिन्ता लिन थालेको बताइन्छ ।

चैतमा मकै गोडेपछि मल राख्नुपर्ने बेलामा सँधै मल अभाव हुने गर्छ  । यता, वर्षे धानमा मल हाल्ने समयमा समेत मल पाईंदैन । सोही कारण धानको बीऊ राखेका किसान सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । 

समयमा मल नपाउँदा कृषि उत्पादनमा कमी आउने भएकाले कृषकहरु चिन्तित भएका हुन् । कृषि प्रधान मुलुकमा मल अभावका कारण वर्षेनी किसानहरु आन्दोलन गर्नु हाम्रो समाजको नियती नै बनेको छ ।

अर्कोतर्फ, सरकारबाट कुनै साथ सहयोग पनि नपाएको उनीहरुको गुनासो छ । सरकारले उत्पादन बढाउन मौखिक रुपमा प्रोत्साहन गर्ने तर त्यस निम्ति आवश्यक मल, बीऊको समयमै उचित व्यवस्थापन नगरिदिँदा किसानहरु चिन्तित भएका हुन् । 

यसपटक पनि खेतीपातीको समयमा मल अभाव हुने चिन्ताले किसानलाई पिरोलेको हो । यद्यपि, गोदाममा पर्याप्त मल मौज्दात रहेको सरकारको दाबी छ ।

मल अभाव हुँदैन : मन्त्रालय

सरकारले यो वर्ष धान रोपाईंको समयमा मल अभाव नहुने बताएको छ । त्यसका लागि आवश्यक काम अघि बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी यस पटक रासायनिक मलको अभाव नहुने उल्लेख गर्दै ढुक्क भएर खेतीपाती गर्न किसानहरुलाई सुझाएकी छन् ।

‘यो वर्ष मल अभाव हुँदैन । त्यसका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसक्यो,’ उनले भनिन्, ‘कृषि सामग्री लिमिटेड र साल्ट टे«डिङ्गसँग पनि मल मौज्दात छ । आयातको प्रक्रियामा रहेकाले यो पटक मलको समस्या नहुनेमा सरकार ढुक्क छ ।’

कति छ गोदाममा मल ? 

हाल सरकारी गोदाममा ९९ हजार २२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, एक लाख ६४ हजार मेट्रिक टन मल आयातकै क्रममा छ ।

यता, कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ्ग लिमिटेडसँग गरेर कुल ७८ हजार ३३९ मेट्रिक टन युरिया, ९ हजार १४९ मेट्रिक टन डीएपी र ११ हजार ७३६ मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

त्यसमध्ये कृषि सामग्रीसँग ६५ हजार १२६ मेट्रिक टन र साल्ट ट्रेडिङ्गसँग ३४ हजार ९९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाइएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो नौ महिनाको अवधिमा तीन लाख ६३ हजार ११७ मेट्रिक टन मल आयात भएकोमा अघिल्लो आवको बाँकी मौज्दात समेत गरेर तीन लाख ३३ हजार ७२१ मेट्रिक टन बिक्री भइसकेको छ ।

दुई लाख ४४ हजार ६४६ मेट्रिक टन युरिया आयात भएकोमा गत आर्थिक वर्षको बाँकी मौज्दात समेत गरी दुई लाख सात हजार ७२९ मेट्रिक टन बिक्री भइसकेको छ । त्यस्तै, डीएपी ९७ हजार ८६५ मेट्रिक टन आयात भएकोमा एक लाख १६ हजार ४८३ मेट्रिक टन र पोटास २० हजार ६०४ मेट्रिक टन आयात भएकोमा ९ हजार ५०८ मेट्रिक टन बिक्री भइसकेको छ । 

मन्त्रालयले ५१ हजार मेट्रिक टन डीएपी र ३६ हजार मेट्रिक टन युरिया भारतको विशाखापट्मबाट नेपाल ल्याउने क्रममा रहेको पनि जानकारी दिएको छ । २० हजार मेट्रिक टन डीएपी र सात हजार मेट्रिक टन युरिया भारतको कोलकोत्ता हुँदै यही साता नेपाल भित्रिने प्रक्रियामा छ । यसअघि २३ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट आइपुगेको बताइन्छ ।

जीटुजी (नेपाल–भारतबीचको सरकारी सम्झौता) तर्फको २५ हजार मेट्रिक टन डीएपी जेठ ७ गते स्रोत मुलुकबाट नेपालतर्फ चलान भएको र असारको पहिलो हप्तामा नेपाल आइपुग्ने कार्ययोजना छ । २५ हजार मेट्रिक टन डीएपी चीनबाट सिपमेन्ट भइसकेको र असारको दोस्रो हप्तासम्म नेपाल भित्रिनेसमेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । 

कति मल आवश्यक ? 

नेपालमा वर्षेनी छ लाख मेट्रिक टन रासायनिक मलको माग हुने गरेको छ । सरकारले युरिया मल खरिदमा ६९ प्रतिशत अनुदान पनि दिने गरेको छ । अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेल्डिङ्गसँग खरिद गरेर कृषि सहकारी र डिलर सहकारीमार्फत बिक्री हुने गरेको छ । 

तर, कालोबजारी गर्न कतिपयले मल लुकाउने गरेको किसानको आरोप छ । यस्तो अवस्थामा मल अभावका कारण किसानहरु तस्करहरुसँग मल किन्न भारत समेत पुग्ने गरेका छन् । भारतसँग जोडिएका सीमानाकाबाट ठूलो परिमाणमा अवैध बाटो हुँदै मल भित्रिने गरेको पनि विगतमा देखिएको छ । यद्यपि, यो वर्ष यस्ता कार्य नहुनेमा कृषि मन्त्रालयले सबैलाई आश्वस्त पारेको छ । 

प्रवक्ता शिवाकोटी मल वितरणको समेत सम्बन्धित निकायबाट अनुगमन हुने दाबी गर्छिन् । भनेकी छन्, ‘सबै ठाउँमा मल वितरण भयो कि भएन भनेर जिल्ला प्रशासन कार्यालय, प्रदेशस्थित कृषि कार्यालयलगायतबाट निगरानी हुने व्यवस्था मिलाइएको छ ।’

टिप्पणीहरू