भन्सारमा कस्न कस्सिए ‘वान’

भन्सारमा कस्न कस्सिए ‘वान’
सुन्नुहोस्

राजश्व चुहावटका कारण आलोचित भन्सार कार्यालयमा केही अच्छा संकेत देखिएको छ । भन्सार विभागअन्तर्गतको अनुगमन र नियन्त्रण शाखा ‘वान’ लाई चुस्तदुरुस्त पारिएको अवस्था छ । 

राजश्व संकलनको आँकडाले विभाग उत्साहित बनेको छ । विभागका अनुसार अर्थ मन्त्रालयले सो शाखाका निम्ति दक्ष जनशक्तिको व्यवस्थापन गरिदिएको छ । 

चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उठेकोभन्दा बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि वैशाखसम्म १ अर्ब १३ करोड राजश्व उठेको छ । जबकि अघिल्लो आर्थिक वर्ष ४५ करोड ६९ लाख मात्र राजश्व संकलन भएको थियो । 

यो अघिल्लो आर्थिक वर्षभन्दा ६८ करोडले बढी हो । साथै, विभागले देशैभरको भन्सार कार्यालयमा अनुगमन, नियन्त्रण र निगरानी बढाएको छ । त्यहाँ कार्यरत कर्मचारीलाई राजश्व संकलनमा सक्रिय र भन्सार छली रोक्न चनाखो रहन विभागले निर्देशन दिएको छ । 

सबैभन्दा धेरै राजश्व उठ्ने भन्सार कार्यालयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, भैरहवा भन्सार कार्यालय,वीरगञ्ज भन्सार कार्यालय, सुख्खा बन्दरगाह,मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, उत्तरी नाकाका रसुवा भन्सार कार्यालय तथा तातोपानी भन्सार कार्यालय रहेको छ । 

विभागको वान शाखाले भन्सार एजेण्टबाट पेश हुने नमूना प्रज्ञापन पत्रको आवश्यक अध्ययन गरेर दरबन्दी परिवर्तनको लागि निर्देशन दिने, मूल्याङ्कनमा परिवर्तनका लागि सम्झाईबुझाई गर्ने, कैफियत भेटिएमा जरिवाना गर्नेलगायतका कार्य गर्दै आएको छ । १० महिनाको अवधिमा ४ हजार १२९ प्रज्ञापन पत्रको अनुगमन गरेको शाखाले दरबन्दी परिवर्तन गरेको थियो । यसले भन्सार महशुल दर छल्नबाट सुरक्षित गराएको छ । 

त्यस्तै, २ हजार ९५३ मूल्याङ्कनको परिवर्तन गर्न शाखाले निर्देशन दिएको थियो । शाखाले ३३५ फर्मलाई जरिवाना पनि गरेको छ । ८४१ दरबन्दीबाट २६ करोड २६ लाख राजश्व असुल भएको विभागले जनाएको छ । मूल्याङ्कनबापत ७६ करोड थप राजश्व जम्मा भएको छ । जरिवानाबाट ११ करोड गरी कूल रकम त्यति पुगेको विभागको भनाइ छ ।

टिप्पणीहरू