मनसुन भित्रिन थोरै दिन बाँकी, कस्तो छ सरकारको पूर्वतयारी ?

मनसुन भित्रिन थोरै दिन बाँकी, कस्तो छ सरकारको पूर्वतयारी ?

यो वर्षको मनसुन भित्रिन केही दिन मात्र बाँकी छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जेठ ३१ गते नेपालमा मनसुन भित्रिने आकलन गरेको छ ।

महाशाखाका अनुसार अहिले भारतको सिक्किमसम्म मनसुन आइपुगेको छ । नेपालको पूर्वी भूभागमा आउँदो जेठ ३१ गते मनसुनको आगमन हुने महाशाखाले जनाएको छ । मनसुन भित्रिनासाथ अहिले उग्र रुप लिएको डढेलो, र चर्को गर्मी कम हुने बताइएको छ । 

तर, नेपालमा वर्षेनी मनसुनजन्य विपद्का कारण हुने घटना बढ्दो क्रममा छ । केही वर्षयता मनसुनजन्य विपद् थप चूनौतीपूर्ण बन्दै गएको छ । प्रत्येक वर्ष मनसुनको समयमा हुने घटनाका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । 

मनसुन सुरु हुनेबित्तिकै बाढी र पहिरोले वितण्डा मच्चाउने गरेको छ । त्यसबाट वर्षेनी सयौंको मृत्यु र हजारौं परिवार प्रभावित हुने गरेका छन् । वर्षा सुरु हुनासाथ सर्वसाधारणमा भय पैदा हुने गरेको छ ।

बाढी, पहिरोले कतिखेर आफ्नो घर खेतसहित ज्यानै जान्छ भन्ने डर र त्रास आमनागरिकमा उत्पन्न हुने गरेको छ । यता, विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सरकारी÷सम्बन्धित निकायको सँधै झारा टार्ने खालको तयारीका कारण नागरिकको अकालमा ज्यान र धन सम्पत्ति गुम्ने गरेको छ ।

वर्षेनी वर्षायाममा मुलुकभर मानवीय क्षतिसँगै करोडौंको भौतिक संरचना बाढी, पहिरोले बगाउने गरेको छ । बिडम्बना, यसतर्फ सरकारी निकाय गम्भीर हुने गरेको पाइँदैन । बाढी, पहिरोले मानवीय र भौतिक क्षति पुर्याएपछि मात्र सम्बन्धित निकाय तयारीमा जुट्ने गरेको छ । 

पछिल्लो केही वर्षयता मनसुनजन्य विपद्का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएपनि त्यसबाट हुने भौतिक क्षति बढ्दै गएको पाइएको छ । गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन पोर्टलको पछिल्लो पाँच वर्षको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ ।  

कुन वर्ष कतिले गुमाए ज्यान ? 

पछिल्लो पाँच वर्षको अवधिमा मनसुनजन्य घटनाका कारण आठ सय ३३ जनाले ज्यान गुमाएका छन् । गत वर्ष मात्र बाढी, पहिरो र अविरल वर्षाबाट ६३ जनाको ज्यान गएको विपद् व्यवस्थापन पोर्टलको विवरणमा उल्लेख छ । 

सोही अवधिमा ३० जना बेपत्ता भएको र ६९ जना घाइते भएका भएका हुन् । त्यस्तै, २०७९ सालमा मनसुनजन्य विपद्का घटनाबाट एक सय १९ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ । 

३२ जना बेपत्ता हुँदा एक सय १५ जना भने गम्भीर घाइते भएका थिए । २०७८ सालमा एक सय ४२ जनाको बाढी, पहिरो र अविरल वर्षाबाट मृत्यु हुँदा ४२ जना बेपत्ता भएको र एक सय ५३ जना घाइते भएको पोर्टलमा उल्लेख छ । 

मनसुनजन्य घटनाका कारण सबैभन्दा बढी मानवीय क्षति २०७७ सालमा भएको पाइन्छ । त्यतिबेला यस्ता घटनाबाट तीन सय ४८ जनाले ज्यान गुमाएका थिए । यस्तै, एक सय एक जना बेपत्ता हुँदा दुई सय ८९ जना गम्भीर घाइते भएका थिए । 

२०७६ सालमा बाढी, पहिरो र अविरल वर्षाका एक सय ६१ जनाको ज्यान गएको थियो । ३८ जना बेपत्ता भएका थिए भने एक सय २१ जना गम्भीर घाइते हुन पुगे । 

भौतिक क्षति कति ? 

नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण हुने भौतिक क्षति क्रमशः बढ्दै गएको पाइएको छ । पछिल्लो दुई वर्षको सरकारी तथ्याङ्कले पनि यसलाई पुष्टि गरेको छ । 

गत वर्ष मनसुनका कारण गएको बाढी, पहिरो र अविरल वर्षाबाट मुलुकभर ३३ करोड २२ लाख ९७ हजार सात सय रुपैयाँ बराबरको भौतिक क्षति पुगेको थियो । सो अवधिमा बाढीपहिरोले दुई सय ४२ वटा घर ध्वस्त पार्दा सात सय ११ वटा घरमा आंशिक रुपमा क्षति पुगेको थियो । त्यस्तै, नौ सरकारी कार्यालय, छ सामुदायिक भवन, २६ झोलुङ्गे पुल तथा १५ पक्की पुलसहित २७ वटा हाईड्रोपावरमा क्षति पुगेको उल्लेख छ । 

२०७९ सालमा मनसुनका कारण देशभर १३ करोड ७० लाख ३० हजार ८७५ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । बाढीपहिरोले एक हजारभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त हुँदा एघार सय घरमा आंशिक रुपमा क्षति पुग्यो । यस्तै, एउटा सरकारी कार्यालय, तीन सामुदायिक भवन, पाँच झोलुङ्गे पुल तथा छ पक्की पुलसहित दुई वटा हाइड्रोपावरमा क्षति भएको थियो । 

सबैभन्दा बढी प्रभावित जिल्ला

विगत पाँच वर्षमा बाढी, पहिरो र अविरल वर्षाबाट सात जिल्ला सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । गत वर्ष संखुवासभा सबैभन्दा बढी प्रभावित बनेको थियो । 

संखुवासभामा मनसुनका २९ वटा घटना घटे । त्यसबाट तीन जनाले ज्यान गुमाउँदा १९ जना बेपत्ता, चार जना घाइते र ५५ परिवार प्रभावित भएका हुन् । 

यस्तै, २०७९ सालमा मनसुनका कारण कालिकोट र अछाम सबैभन्दा बढी प्रभावित भएको थियो । कालिकोटमा २५ वटा मनसुनका घटना घट्दा ८ जनाको मृत्यु, १६ जना बेपत्ता, १७ जना घाइते र एक सय ९७ परिवार विस्थापित भएका थिए । 

अछाममा भने मनसुनका नौ वटा घटनाबाट २५ जनाको मृत्यु, एक जना बेपत्ता, १२ जना घाइते र नौ परिवार प्रभावित भए । २०७८ सालमा सिन्धुपाल्चोक र पर्वत बाढी, पहिरो र अविरल वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको थियो । 
ती जिल्लामा मनसुनका ११ वटा घटना घटेका थिए । त्यसबाट सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु, २० जना बेपत्ता, ६ जना घाइतेसहित ४८ परिवार प्रभावित हुँदा पर्वतमा १३ जनाको मृत्यु, एक जना बेपत्ता, दुई जना घाइते र १२ परिवार विस्थापित हुन पुगे । 

यता, ०७७ सालमा पनि सिन्धुपाल्चोक नै मनसुनबाट सबैभन्दा बढी प्रभावित बनेको थियो । त्यहाँ बाढी, पहिरो र अविरल वर्षाका २३ वटा घटनाबाट ७२ जनाको मात्र ज्यान गएको थियो । ३९ जना बेपत्ता हुँदा २५ जना घाइते र एक सय ३५ परिवार विस्थापित भएका थिए । 

यसैगरी, २०७६ सालमा मनसुनका घटनाबाट सबैभन्दा बढी प्रभावित जिल्लामा गुल्मी पर्छ । गुल्मीमा बाढी, पहिरो र अविरल वर्षाका सात वटा घटना घट्दा त्यसबाट १४ जनाको मृत्यु, सात जना घाइते र सात परिवार प्रभावित भएका थिए । 

सरकारी निकायको तयारी ? 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई मनसुनमा आइपर्ने प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै प्राधिकरणले विभिन्न योजना तथा तयारी गरेको बताउँछन् । 

उनले विगत वर्षका घटनालाई पाठको रुपमा लिएर प्राधिकरणले पूर्वतयारी गरिरहेको जानकारी दिँदै यो वर्ष मनसुनजन्य घटनाका कारण धेरै जनधनको क्षति नहुने दाबी गरे ।  

प्रवक्ता भट्टराईले भने, ‘मनसुनबाट हुन सक्ने क्षतिको आंकलन गर्दै हामीले आवश्यक तयारी गरिसकेका छौं । यसको प्रतिकार्यमा सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्ने निर्णय भएको छ । सबैले आ–आफ्नो सञ्जालमार्फत सहकार्य, सहयोग र सहजीकरणको प्रतिबद्धता जनाउनुभएको छ ।’

यता, मनसुनका कारण विभिन्न राजमार्ग अवरुद्ध भएमा वा त्यहाँ जडान गरिएका सूचना प्रणाली÷यन्त्रहरु बिग्रिएको अवस्थामा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनका लागि पनि प्राधिकरणले अहिलेदेखि नै सुरक्षाकर्मीको प्रभावकारी व्यवस्था मिलाएको उनले बताए । 

उनले बाढी, पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा सडक विभाग, ट्राफिक प्रहरीलगायत सम्बन्धित सरोकारवालालाई एसएमएसमार्फत् जानकारी गराउने र सडक खुलाउन तत्काल पहल गरिने पनि जानकारी दिए । 

मनसुनका कारण कहिँ कतै घटना घटिहाले सुरक्षा निकायको सहयोगमा तकाल उद्दार कार्य गर्नुका साथै पीडितलाई राहत सामग्री पनि प्रदान गरिने प्रवक्ता भट्टराईले बताए । उनले पछिल्लो समय मुलुकमा मनसुनजन्य घटना बढ्दै गएको उल्लेख गर्दै भने, ‘यसको मुख्य कारण नै मानव हो । अहिले विकासको नाममा विनाश बढ्दै गएको छ । जथाभावी सोच्दै नसोची संरचना बनाउँदा वा भत्काउँदा, वन जंगल फडाँनी गर्दा यस्ता घटना बढिरहेका छन् ।’ 

विकास निर्माणका आयोजना तयार पार्ने क्रममा त्यसबाट उत्पन्न हुनसक्ने विपद्को आंकलन गर्नुपर्ने र प्रदेश र स्थानीय सरकार पनि सँधै विपद्को प्रतिकार्य वा व्यवस्थापनको लागि तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

टिप्पणीहरू