रविको पैसा अमेरिकाबाट तिरिदिने प्रस्ताव

रविको पैसा अमेरिकाबाट तिरिदिने प्रस्ताव

‘मिलेर तिरौं न त’ भन्दै जब ‘भक्तहरू’ जुम मिटिङमा जुटे, तब एक जनाले सबैको ध्यान भंग गरिदिए, ‘फसिएला है फसिएला’ भन्दै ! इलामको उपचुनावताका अमेरिका बस्ने नेपालीबाट बढीभन्दा बढी फोन गराउन लगाएर घण्टीको भोट बढाउने सल्लाहका निम्ति आयोजित विद्युतीय बैठकमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणबाट उकासिदिनेसम्मको सल्लाह चल्यो । ‘आखिर पैसा लगेकै रहेछ, हामीले उठाएर तिरिदिऊँ न त’ भन्ने प्रस्ताव थियो । तर, एक जनाले ‘हामीले त्यसो गर्दा ठगेकै रहेछ भनेर कानुनी समस्या पर्ला नि’ भनिदिएपछि सबैको ध्यान भंग भयो । 

यस्तो कामको अगुवाई गर्ने व्यक्ति हुन्, गोर्खाको अमृत माविका पूर्व छात्र तथा बाल्टिमोरमा बस्दै घरजग्गाको कारोबार गर्ने रास्वपाको निम्ति अमेरिकी संयोजक रमेश भट्ट । ‘नेपाली छोरो’ उपनाम लेख्ने उनकै पहलमा गत अप्रिल २१ तारिखको बिहान ९ बजे त्यस्तो जुम मिटिङ चलेको थियो । रमेश उनै व्यक्ति हुन्, जो सन् २००८ मा अमेरिका गएपछि पहिलोपटक केही महिनाअगाडि थोरै समयलाई नेपाल फर्किएका थिए । 

८३८७४८७१६८९ जुम आइडी र आरएसपीयुएसए पासकोड भएको उक्त मिटिङमा रमेशले भनेका थिए, ‘कांग्रेसले अब नछोड्ने नै भयो । बरु, सबैजना मिली पैसा उठाएर तिरम् । आखिर पैसा खा’कै देखियो क्यारे ! बरु मैले जति खा’को हो, म तिर्छु भन्ने हिसाबले नै रविलाई भन्न लाउनुपर्‍यो !’ रमेशले यसो भन्दाभन्दै एकजनाले फ्याट्टै थपे, ‘त्यसरी हुँदैन, यो प्रुफ हुन्छ, कांग्रेसले यसबाट झन मसला पाउँछ, त्यसो गर्नुहुँदैन !’ 

नाम राष्ट्रिय स्वतन्त्र पार्टी । तर, पार्टीभित्र गणेश कार्कीबाहेक मै हुँ भन्ने एक से एक हस्तीलाई फरक मत उच्चारण गर्ने एकरत्ति स्वतन्त्रता छैन । रवि लामिछानेविरुद्ध कसैले एक शव्द बोल्न पाउँदैन, चाहे स्वर्णिम हुन् कि जोसुकै ! यस्तो हुँदा कालिकोटको रास्कोट अस्पताल निर्माण र फाउण्डेशनका नाममा भएको आर्थिक संकलनको पाटो अझै गुपचुप छ ।

रविले टेलिभिजन चलाउने नाममा सहकारी ठगीको धन्दा चलाएजस्तै अस्पताल बनाउने नाममा विदेशबाट स्रोत नखुलेका रकमको बाढी लगाएका रहेछन् । यसबारे रास्वपाका थुप्रै मान्छेलाई जानकारी छ, तर बोल्न सक्दैनन् । कालिकोटस्थित रास्कोट अस्पताल निर्माणका नाममा हुण्डीमार्फत विदेशी रकम नेपाल भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ । तर, उक्त अनुसन्धानको श्रृंखला अहिले बन्द छ । ८ करोड ५० लाख रूपैयाँको लगानीमा तयार पारी ०७८ वैशाखमा नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त अस्पताल निर्माणताका रविले पत्नी निकिता पौडेलको अध्यक्षतामा रवि लामिछाने फाउण्डेशन खोलेका थिए । त्यसकै नाममा विदेशबाट रकम आएको हो । कहिले मिडिया देखाएर त कहिले सत्ता देखाएर प्रहरी अनुसन्धानलाई प्रभावित पार्दै आएका उनको आर्थिक अपराधको यो पाटोमाथि अनुसन्धान गर्ने हो भने बिकराल रूप देखिने अनुसन्धानकर्मी प्रहरीहरूको दावी छ । 

उता, अमेरिकाको विभिन्न बैंकमा उनीविरुद्ध परेका नौवटा उजुरीमध्ये सात वटा मुद्दा सन् २०२३ मा पैसा दिएर सेटलमेन्ट गरेको देखिन्छ । नक्कली भुटानी काण्डदेखि सुन काण्डसम्ममा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशमार्फत केही पैसा लगेको भन्ने कुरा बाहिर आएको छ । दिपेशले नै साथीसर्कललाई चुहाएको यो सूचना प्रमाणित हुन बाँकी छ । यस विषयमा उनीहरूबीच केही सम्झौता भएको आशंका गर्न सकिन्छ ।

उता, सहकारी ठगीमा मुछिएपछि फरार रहेका रविका पार्टनर जिबी राई मलेसियामै भएको स्रोतको दावी छ । अहिले राहदानी रद्ध वा निलम्बन प्रक्रियामा अदालत बाधक भयो भन्दै जिबीलाई समात्ने प्रक्रिया ठप्प पारिएको छ । उनको नेपाली राहदानी रद्द गर्नका निम्ति कास्की प्रहरीको पत्रका आधारमा प्रक्रिया अगाडि बढाइएको थियो । राहदानी विभागलाई सोझै रद्द गर्न ऐनले नदिने हुँदा अदालतले पनि त्यस्तो गर्नमा रोक लगायो । राहदानी ऐनले मन्त्रिपरिषद्लाई समेत कसैको राहदानी रद्ध गर्ने अधिकार दिएको छैन । प्रहरीहरू नै भन्छन्, जिबीविरुद्ध अहिले दर्ता भएको मुद्दा ठगीको हो । जुन लेनदेनबाट सल्टाउन मिल्छ । यही मुद्दालाई संगठित अपराधअन्तर्गत लगिएको भए जेल जानबाट कसैले पनि बचाउन सक्दैनथ्यो । 

त्यसमाथि हाम्रो अदालत नै अचम्मको, दोहोरो नागरिकता र राहदानी लिएका रविलाई मुद्दा चलाउन नमिल्ने भनेर सरकारी वकिलले लेखिदिएपछि चूपचाप भइदिने । यदि अदालतले चाहेको भए जिबीको राहदानी निलम्बन गर्न सक्थ्यो । सरकारले पनि मलेसिया सरकारसँग जोडबल गरेर उनलाई ल्याउन सक्थ्यो । 

राज्यले पत्याएर अनि जंगी अड्डाले रौं चिरा केलाएर संसार हेर्ने ठाउँमा पठाएको सिनियर अफिसरलाई बीचैमा के खण्डखातिर आइप¥यो र बीचैमा बोलाएर थुनिएको छ ? हालका सेनापति घर जाने र नयाँ आउने संक्रमणकालमा ती कर्णेलको उमेर र प्रमाणपत्र काण्ड एक्कासी किन ब्युँतियो ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू