नेता–कार्यकर्ता भटाभट समातिँदा काँग्रेसलाई तनाव

नेता–कार्यकर्ता भटाभट समातिँदा काँग्रेसलाई तनाव

आफ्ना नेता–कार्यकर्ता विभिन्न अपराधमा पक्राउ पर्न थालेपछि नेपाली काँग्रेसलाई आपत परेको छ । सुन तस्करी, सहकारी ठगीलगायतका अपराधमा पार्टीका नेता–कार्यकर्ता समातिन थालेपछि काँग्रेस नेतृत्वलाई तनाव भएको बताइन्छ । पछिल्लो समयमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सीबी लामा सहकारी ठगीमा समातिएका छन् । 

नेपाली काँग्रेस जिल्ला समितिका पूर्वकोषाध्यक्ष एवम् २०७४ को निर्वाचनमा प्रदेश सभाका उम्मेदवार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही दिनअघि भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । काँग्रेस काभ्रेपलाञ्चोकको महासमिति सदस्यसमेत रहेका उनी पशुपति सेभिङ एण्ड क्रेडिटका अध्यक्ष हुन् । उनीमाथि कान्तिपुर सहकारीको छ अर्ब र पशुपतिको दुई अर्ब गरी आठ अर्ब रकम अपचलन गरेको आरोप छ । 

सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे छ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको बताइएको छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा यतिखेर झण्डै सात हजार बचतकर्ताको छ अर्ब १३ करोड रुपैयाँ बचत छ भने सहकारीको सेयर पूँजी करिब ४९ करोड रुपैयाँ रहेको छ । 

सहकारीले छ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीलगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो । 
    
काँग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य कान्छा भनिने थर्कमान लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको छ ।  ६० किलो सुन प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई समातेको जानकारी दिइएको छ । १० वर्षअघि कान्छासहितका केही व्यक्तिहरु लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परी केही दिनको हिरासतपछि छुटेको प्रहरी रेकर्डमा उल्लेख छ । 

थर्कमानले सुन तस्करीमा संलग्न भई बिक्री वितरणमा सहयोग पुर्याएको अभियोग छ । तस्करीको करिब ६० केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको थियो । तर, सुन तस्करीसम्बन्धी छानबिन आयोगले दिएको सिफारिसमा प्रहरीले गरेको अनुसन्धान बायस देखिएको भन्दै थप अनुसन्धानका लागि सिफारिस गरेको हो । 

दावालाई नागरिकता प्रकरणमा जिल्ला अदालत, काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सीआईबीले ब्रेक–सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व र भन्सार छली, नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसूरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । 

सन् २०२१ देखि २०२३ जुलाईसम्म गिरोहले करिब एक अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेको पनि खुलेको छ । सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी ‘यूएसडीटी’ मार्फत गर्ने गरेको सीआईबी स्रोतको भनाइ छ । यसरी भएको अवैध क्रिप्टो भुक्तानीलाई राष्ट्र बैंक ऐनको दफा ५ अनुसार सजाय हुने गरी सुन तस्करीमा संगठित अपराध, राजस्व र भन्सार छलीको कसूरमा मुद्दा चलाउनुपर्ने राय प्रतिवेदनमा दिइएको छ । 

सुन तस्करीको आरोपमा तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन, चिनियाँहरू नेङकाई ली, सेग फा दिङ, एलेक्स भनिने याओ फुचेङ, अली भनिने वेन सुङ ली, जिक्वाङ लिन, तियान मी र वेन योङ, दावा छिरिङको संलग्नता देखिएको छ । अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, रुक्मिना सुब्बा, सुदर्शन गौतम, विमानस्थल भन्सारका तीन अधिकृत सन्तोष चन्द, पुष्पा जोशी, गणेश पौडेल, तीन नासु कमल परियार, वीरेन्द्र नेपाली, सरोज श्रेष्ठ र खरिदार कुमार ढकाल पनि पक्राउ परेका थिए ।

तस्करीको सुन बोक्ने भरिया र ट्याक्सी ड्राइभर अशोक लामा, ब्रेक–सुमा सुन ल्याउने कम्पनी रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, सुन तस्करका सहयोगीहरू हर्कराज राई र नरेश तामाङ, हङकङबाट सुन सहितका सामान ल्याउने कार्गाे कम्पनी ट्रान्स ग्लोबलका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजनकुमार श्रेष्ठ, दावाका साझेदार किशोर बस्नेत, तस्करीको सुन व्यापारी र भारतसम्म पुर्याउने सुमन खरेल तथा सुनचाँदी व्यवसायी शिव सर्राफलगायत छन् । 

तस्करीको सुन संकलन गर्ने हङकङका तीन वटा डिलर र त्यसका मालिक तथा नेपालबाट भागेर भारत पुगेका तस्करले सेल्टर लिने स्थानको पहिचान भएपनि अभियुक्त पक्राउ परिसकेका थिएनन् । तस्करीको सुन बरामदपछि भारततर्फ भागेका सुमन नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका थिए  । सुमनपछि बारा स्थायी घर भएका सुनचाँदी व्यवसायी शिव पनि समातिएका हुन् । 

सीआईबीले भन्सारका कर्मचारीलाई सुन तस्करीमा सहयोग पुग्नेगरी भूमिका खेलेको र तस्करका सहयोगीसँग साँठगाँठ गरेको कसूर किटान गरेको छ । भन्सार एजेन्टहरूले तस्करीको सुन छुटाउन संगठित रूपमा भूमिका निभाएको, केहीको तस्करसँग सम्पर्क र सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ  । एलेक्स हङकङ, दुबई र चीनबाट हुने सुन तस्करीमा हालसम्म पक्राउ परेका मध्येका मुख्य कारोबारी हुन् । 

भारतमा सुन पठाउन मुख्य योजना पनि उनैबाट हुने गरेको अनुसन्धानबाट खुलेको छ  । भारत र नेपालका व्यापारीलाई सुन बेचेबापत आउने रकम एलेक्समार्फत नै बुझ्ने गरेको भेटिएको छ  । उनलाई नेपालमा दावाले राजनीतिक, प्रशासनिक र अरू सञ्जालसँग जोडेको अनुसन्धान स्रोतको भनाइ छ ।

दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर माओवादी र अन्य दलका केही नेतासँग सम्बन्ध र सम्पर्क बनाएर तस्करीको सञ्जाल खडा गरेका थिए । अमलाका अर्का श्रीमान् अहिले पनि रोल्पामा छन् । मतदाता नामावलीमा अमलाले अर्कै श्रीमानको नाम राखेकी छन् । दावाको समूहले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र अर्थमन्त्री वर्षमान पुनको परिवारसँग सम्बन्ध बनाएर अपराध फैलाएका थियो । 

दावामार्फत् नै काठमाडौंका विभिन्न आठ स्थानमा सुन पगाल्ने कारखाना र सेल्टर बनाएको पाइएको छ । यी सबै सेल्टर दावा र उनको सम्पर्कमा रहेका भरिया र सहयोगीबाट व्यवस्थापन गरिएको हो । तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिनले चिनियाँ तस्करका सहयोगी बनेर काम गरेको भेटिएको छ  । 

विदेशबाट सुन ल्याउन ली नेङकाई र दिङ सेङ्फा, अली भनिने ली वेन सुङ र लिन जिक्वाङको भूमिका देखिएको छ  । यी चिनियाँले फुचेङको योजनामा काम गर्ने गरेको देखिएको छ  । नेपालमा सुन बोकेर आएकालाई लुकाउने र प्रहरीले निसानामा पार्दा भगाउनेसम्मका काममा दुई चिनियाँ नागरिक मी तियान र योङ वेनले भूमिका खेलेको देखिन्छ  । यो दम्पतीले ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका थिए । 

यी मात्र नभई काँग्रेसका नेता अन्य अपराधमा पनि पक्राउ परेका छन् । २०८० चैत १९ गते भक्तपुरको चाँगुरानारायणस्थित त्रिशुल डाँडाबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का नेविसंघ सभापति राजु लामा र धुलिखेल नगर सभापति जुवाखालबाट समातिएका थिए । 

महाभारत गाउँपालिका घर भएका काँग्रेस क्षेत्रीय समितिका सदस्यसमेत रहेका समानुपातिकतर्फ उम्मेदवार सिफारिसमा परेका विकास लामा मलद्वारमा एक केजी सुन लुकाई तस्करी गरेको अभियोगमा फरार छन् । अन्य केही पक्राउ परी धरौटीमा छुटेका छन् भने केही धरौटी बुझाउन नसकी हिरासतमा छन् ।

टिप्पणीहरू