सशस्त्र प्रहरीको लापरवाहीले फुत्किए नोट तस्कर

सशस्त्र प्रहरीको लापरवाहीले फुत्किए नोट तस्कर

सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले ती युवकलाई हिजो पक्राउ गरेको थियो । 

उनलाई रकमसहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारततर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहिबार साँझ आफूहरुलाई छक्याएर फरार भएको दाबी गरेको छ ।  सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।

रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएको सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

फरार भएका गजेन्द्र हुण्डी कारोवारीका भरिया भएको अनुमान गरिएको छ । रौतहटको बिभिन्न नाका भएर भरियामार्फत सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा हुण्डी कारोवारीले पैसा नेपाल भित्र्याउने गरेको समाचार स्रोतको दावी छ ।

टिप्पणीहरू