पैतृक सम्पत्तिमा हक स्थापित गरेपछि छोरीहरु सम्मानित

पैतृक सम्पत्तिमा हक स्थापित गरेपछि छोरीहरु सम्मानित

महिला आन्दोलनका अभियन्ताहरुले सम्पत्तिमा समान अधिकारका लागि प्रत्यक्ष एवम् अप्रत्यक्ष आन्दोलन गरिरहेका छन । महिलालाई लैङ्गिक भेदभाव नगरी समान वंशीय अधिकारको सुनिश्चितता गरेर छोरीलाई पनि छोरा सरह अंश दिने कानूनी व्यवस्था छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा छोरीले अंश लिन निकै संघर्ष गर्नुपर्छ । यस्तै संघर्ष गरेर पैतृक सम्पत्ति आफ्नो स्वामित्वमा पार्न सफल सिन्धुपाल्चोकका १५ जना महिला सम्मानित भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ५ वडास्तरीय महिला सञ्जालले पैतृक सम्पत्तिमा छोरीको अधिकार स्थापित गर्न सफल १५ जना एकल महिलालाई सम्मान गरेको हो । आफ्ना बुबा आमासँग दाजुभाइ सरह सम्पत्ति प्राप्त गर्न सफल चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापालगायत १५ जनालाई मेयर कृष्णप्रसाद सापकोटाले सम्मानपत्र हस्तान्तरण गरेर सम्मान गरेको छ । कार्यक्रमपछि महिलाहरुले खुशी व्यक्त गरेका छन् । 

उनीहरुले पैतृक सम्पत्तिको लालपूर्जा आफ्ना नाममा आए पनि त्यसका लागि ठूलो संघर्ष गर्नुपर्ने बताए । उपमेयर थापाले पैतृक सम्पत्तिका लागि आफूले संघर्ष गर्नु परेको बताइन् । मौखिक हिसाबमा आफ्ना बुबा र दाजुहरुले सहमति नजनाए पनि बिहेपछि अरुको घर जानेलाई सम्पत्ति दिन नपर्ने धारणा अधिकांश पुरुषमा रहेको थापाको भनाई छ । तर आफ्नो भूमिका र परिवारप्रतिको जिम्मेवारीको बारेमा ‘कन्भिन्स’ गराएपछि पैतृक सम्पत्ति दिन परिवार बाध्य भएको अनुभव सुनाइन् ।

पछिल्लो समय चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पत्तिमा विभेद विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्ति दिनुपर्छ भन्ने उद्घोषका साथ सुरु भएको यो अभियान आफ्ना बाउ, काका, दाजुभाइ  विरुद्ध नभइ साझा अभियान भएको अभियन्ताहरुको भनाई छ । राज्यले कानून र संविधानमा संरक्षण गरेको हक अधिकारलाई कार्यान्वयनको तहमा लैजाने दायित्व आफूहरुको भएकाले यो अभियानको थालनी गरिएको उपमेयर थापाले बताइन् । 

मेयर सापकोटा पनि उपमेयरको भनाइसँग सहमत छन् । विगतको जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनको उपलब्धीको रुपमा आएको र संविधानले व्यवस्था गरेको हरेक अधिकारको कार्यान्वयन हुनपर्ने मेयर सापकोटाको धारणा छ । पटक पटकको महिला मुक्ति र आन्दोलनको आँधीबेहरीबाट प्राप्त अधिकारलाई स्थापित गराउन आफूहरु प्रतिबद्ध रहेको उनले बताए । यद्यपि सम्पत्तिभन्दा पनि शिक्षा र स्वास्थ्यमा छोरीलाई सबल बनाउनुपर्नेमा धेरैको जोड छ ।

संविधानत : छोरीलाई पनि छोरा सरह अंशियार मानिएको छ । तर पितृसत्तात्मक सोच र सामाजिक संरचनाका कारण छोरीहरुले अंश नपाएको वा नदिएको घाम जतिकै छर्लङ्ग छ । अर्कोतर्फ विवाहित छोरीहरुले अंश खोजे माइतीसँग सम्बन्ध चिसिने डरले पनि उनीहरुले अंशका लागि पहल गरेको देखिँदैन । पछिल्लो समय विवाह नगरी माइतमा  बसेका छोरीहरुले भने कतै सहज र कतै संघर्षका साथ पैतृक सम्पत्ति आफ्नो नाममा पारेका छन् । जिल्लामा यसबारे यकिन तथ्याङ्क नभए पनि चौतारा साँगाचोकगढीभित्र मात्र ५० भन्दाबढी महिलाले पैतृक सम्पत्ति आफ्नो स्वामित्वमा पारेर लालपूर्जामा आफ्नो नाम लेखाउन सफल भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू