गार्ड र नर्स बेला न कुबेला सुत्न जाँदा अस्पतालको बिजोग

गार्ड र नर्स बेला न कुबेला सुत्न जाँदा अस्पतालको बिजोग

राजधानीको एउटा नाम चलेको अस्पतालमाथि सुरक्षा व्यवस्थापनमा खेलाँची गरेको आरोप लागेको छ ।  जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालको सुरक्षामा हेलचेक्य्राइँ गरेको व्यापक जनगुनासो आएको छ । 

अस्पतालमा हुनसक्ने अपराधिक क्रियाकलाप रोक्न राखिएजा सेक्युरिटी गार्डहरु नै बिहान ७ बजेसम्म सुत्ने गरेपछि सेवाग्राहीहरुले सुरक्षालाई लिएर प्रश्न उठाएका छन् । बिरामीको ख्याल राख्नुपर्ने नर्सहरु पनि राति ११ बजे नै सुत्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । 

यता,सामाजिक सञ्जालमा समेत अस्पतालको सुरक्षा व्यवस्थापनलाई लिएर टिकाटिप्पणी भइरहेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छन्,‘हामी गार्ड छन्,डाक्टर राम्रो छन् भनेर बिरामी यहाँ ल्याउँछौं । गार्ड ७ बजेसम्म सुत्दा रहेछन्,सिस्टर ११ बजे नै सुत्छन्,हस्पिटलमा सेफ्टी भएन यसरी । चेञ्ज द सिस्टम ।’

अर्को एक जनाले सो अस्पताल बहिष्कार गर्न आह्वान गरेका छन् । अस्पतालको गेटबाहिर ढल फुट्दासमेत प्रशासनले चासो नदेखाएपछि उनले त्यसो भनेका हुन् । उनले लेखेका छन्,‘जोरपाटी अत्तरखेल नेपाल मेडिकल कलेजले कति जनताको स्वास्थ्यमाथि कति लापरवाही र समाजमा कति गैरजिम्मेवारी गरिरहेको छ भनेर फोटोबाट हेर्न सकिन्छ । जोरपाटी सुन्दरीजल सडक खण्डमा !!! नेपाल मेडिकल कलेज सबैले बहिष्कार गरौं ।’

अस्पतालको डाइरेक्टर सबिहा यासमिनले अस्पतालबारे कुनै गुनासो भए प्रशासनमा आएर टिपाउनुपर्ने बताइन् । ‘अस्पतालमा कहाँ–के भइरहेको भन्ने हामीलाई सबै थाहा हुँदैन । कुनै गुनासो भएमा यहाँ आएर टिपाउन सक्नुहुन्छ’,उनले भनिन् । 

सो अस्पतालमा जयन्ती सेक्युरिटी सर्भिस प्रालिले सेक्युरिटी गार्ड खटाएको छ । कम्पनीले गरेको शोषणका कारण सेक्युरिटी गार्डहरुले आफ्नो जिम्मेवारी पूरा गर्न लापरवाही गरेको बुझिएको छ । कम्पनीले सामाजिक सुरक्षा कोषमा रकम जम्मा नगरिदिएको उनीहरु बताउँछन् । त्यस्तै,निःशुल्क दिनुपर्ने पोशाकमा समेत रकम काटेको उनीहरुको आरोप छ ।

टिप्पणीहरू