बिहारको डाँका समूहद्वारा नेपालमा आतंक

बिहारको डाँका समूहद्वारा नेपालमा आतंक

चोरी डकैतीका घटना त समाजमा घटिरहेकै हुन्छन् । तर,के तपाईंलाई विश्वास लाग्छ चोरले पूर्वसूचना निकालेर चोर्न जाला ? यस्तै अपत्यारिलो तर यथार्थ घटनाले सप्तरीमा आतंक मच्चिएको छ ।     

भारतसँग सिमाना जोडिएको सप्तरी जिल्लाका टोल-टोलमा पर्चा टाँसेर भारतीय डकैत समूहले स्थानीयवासीलाई आतंकित पारेको हो । 'डाँका समूह बिहार' को नाममा टाँसिएका पर्चामा,आज हामी यता आउँदैछु,ज्यादा होसियारी नगर्नुहोला । हामीले मागेको सामान दिनुहोस्,हामी केही गर्दिन,ज्यादा चलाखी गरे भने पुलिस प्रशासनलाई चलाखी गरे भने हामी हतियार प्रयोग गर्नेछौँ ।  धन्यवाद ! डाँका समूह बिहार' भनेर लेखिएको छ ।  

आफ्नै घरको भित्तामा यस्ता पर्चा भेटिएपछि त्रसित स्थानीयवासी करिब एक सातादेखि रातभर जाग्राम बस्न बाध्य छन् । आफ्नो सुरक्षा आफैँ गरिरहेका स्थानीयको प्रश्न छ - गृह-प्रशासन खोई ? 'चोरी डकैतीबाट हामी कहिलेसम्म त्रसित र पीडित भइरहने ??? सरकार, जवाफ चाहियो',यौटै स्वरमा भनिरहेका छन् ।

जिल्लाभर यत्रो त्रास फैलिँदा पनि मधेस प्रदेश सरकार र प्रहरी प्रशासन भने मौन रहेको गुनासो पीडित स्थानीयले गरेका छन् । जिल्लाकै कुनै राजनीतिक समूहले कसैलाई तर्साउने हिसाबले छद्म भेषमा यस्तो हर्कत गरेको हुनसक्ने पनि कतिपयको अनुमान छ ।

जे होस्,समाजमा आतंक फैलाउने जुनसुकै नामको आपराधिक गिरोह भए पनि राज्यले तत्काल पत्ता लगाई कडा कारवाही गर्नुपर्ने देखिन्छ ।

टिप्पणीहरू