अधिकृत रिसाएपछि सहसचिवको सेकुवा

अधिकृत रिसाएपछि सहसचिवको सेकुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतो बरण्डामा हाजिर गरेर बसेका छन् । उनलाई मन्त्रालयको शक्तिशाली महाशाखा कर्मचारी प्रशासनबाट हुत्याइने घटना भने रोचक छ ।

करिब डेढ महिनाअघि राष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत शैलेन्द्र ढकालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुन खोजेका थिए । तर महतोले राष्ट्रपति कार्यालय गएको तीन महिना पनि नपुग्दै फेरि किन सरुवा हुनु पर्‍यो ? भन्दै रोकिदिए । ढकालले चाहिँ दुवै कार्यालयको मौखिक सहमति भैसकेकाले सरुवा गरिदिन आग्रह गरे । त्यसपछि सहसचिव महतोले कहिले सचिवज्यूलाई भन्नुस् भन्ने, कहिले लिखित सहमति ल्याउनु भन्दै हप्ता दिनजति घुमाइरहे ।

सहसचिवले भनेजति सबै गर्दासमेत सरुवा नभएपछि ढकाल कार्यकक्षमा गई किन दुःख मात्रै दिएको भनी शुरुमै झोंक्किए । ढकालले त्यसबेला ट्रेड युनियनको एउटा झोलेलाई बोकेर आउनेको सजिलै सरुवा हुने तर सीधै आग्रह गर्न आउनेलाई दुःख दिने नियत ठीक छैन भनेपछि हतोले सहसचिवसँग बोल्ने शैली यही हो ? बाहिर जानुस् भन्दै झपार्दा विवाद भएको थियो ।

यत्तिकैमा कर्मचारी संगठनका नेता प्रभास साह सहसचिवको कार्यकक्षमा प्रवेश गरे । त्यहाँ पहिले नै कर्मचारी प्रशासन शाखाका अधिकृतहरू ती दुईको वादविवाद सुनेर बसेका थिए । नेता साहले ढकालजी मेरो मान्छे हो, उहाँको सरुवा गरिदिनुस्, उहाँ पावरसेन्टरसँग पनि जोडिएको मान्छे हो, तपाईंलाई भोलि अप्ठ्यारो पर्ला भन्दै मैथिली भाषामा कुरा गरे । यत्तिकैमा सहसचिव महतो ‘म भइञ्जेल यसको कुनै हालतमा सरुवा हुँदैन’ भन्दै कुर्सीबाट उठ्न खोजेपछि ढकालले २४ घण्टाभित्र सरुवा नगरे उचित जवाफ दिने भन्दै धक्याए ।

अधिकृत ढकाल उचित जवाफ दिने भन्दै बाहिरिएपछि नेता प्रभास शाह र सहसचिव महतो गोप्य कोठातिर लागे । भोलिपल्ट बिहानै महतोले प्रशासन शाखाका अधिकृतलाई ढकालको टिप्पणी उठाउन आदेश दिए । त्यसै दिन ढकालको भौतिक मन्त्रालयमा सरुवा भई केही घण्टामा तात्तातै रेल विभागमा पदस्थापना भएको थियो । 

सरुवा भइसके पनि रिस मरेको थिएन । उनले सहसचिव महतोले अर्थ मन्त्रालयमा सरुवा हुन खोजेको थाहा पाएको र कसरी सरुवा हुन्छ हेरौँला भनेका थिए । तिनै ढकालले प्रशासन महाशाखाजस्तो शक्तिशाली ठाउँमा बसेका महतोलाई अहिले बरण्डामा पु¥याइदिएको मन्त्रालयमा गफ हुने गरेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू