चिसो बियरका पछाडि डरलाग्दो चर्तिकला

चिसो बियरका पछाडि डरलाग्दो चर्तिकला

गर्मीमा चिसो बियर पिउनेहरूले कतै आफ्नो स्वास्थ्यप्रति डरलाग्दो खेलवाड त गरिरहेका छैनन् ? बोतलमा छापिएको उपभोग्य मिति नहेरी साँझको बेला घटाघट पिउने बानीका कारण ज्यानमाथि खतरा बढ्दो छ । 

नेपालको राजश्वमा राम्रै योगदान पुर्‍याउँदै आएका बियर कारखानाहरूले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएको छ । मदिरालगायत अल्कोहलिक उत्पादन जति पुरानो भयो त्यति राम्रो मानिए पनि बियरमा भने एक्स्पायरी डेट उल्लेख भएको हुन्छ ।

तर, त्यस्तो उपभोग मितिलाई केरमेट गरी बजारमा बेचविखन गर्ने चलन अचाक्ली छ । केही महिनाअघि पोखरामा सम्पन्न कानुन व्यवसायीहरूको सम्मेलनका निम्ति जावलाखेल डिष्ट्रिलरीका मालिक राजबहादुर साहले बियर कोशेली पठाएका थिए । १५ केस बड्वाइजर म्याग्नम बियर पठाइएकोमा एक जना वकिलले अलि छिट्टै लागेपछि बल्ल म्याद सकिएको कोशेली भिडाइएको भनेर चाल पाएका थिए । त्यसपछि उनैले सिडियोलाई गोदाममा छापा मार्न लगाएर कारबाहीको भागीदारसमेत बनाएका थिए । 

प्रत्येक बियरको बोतल वा क्यानमा उपभोग मिति उल्लेख गरिएको हुन्छ तर कम्पनीका एजेन्ट र व्यापारी मिलेर मिति सच्याएर, केरमेट गरेर, दुर्गम गाउँठाउँका बजारमा पठाएर, बारहरूमा सस्तोमा बेच्ने गरेको पाइएको छ । चल्तीका रेष्टुरेण्टमा बियर पिउन जानेहरूलाई वेटरले सर, बियर सर्भ गरुँ भन्दै ग्लासमा खन्याइदिने गर्छन् । त्यसैमा मख्ख पर्नेहरुले बियरको उत्पादन र उपभोग गर्न नमिल्ने मितिबारे कुनै सोधखोज र चासो पनि राख्दैनन् ।

झन् राति–राति भट्टीमा पिउनेहरूले त यसबारे कुनै चासो नै लिँदैनन् । त्यसमाथि फ्रिजमा राखिएको चिल्ड बियरको कुना कोट्याएर म्याद हेर्ने फुर्सद कसलाई ? उपभोक्ताको यस्तो लापरबाहीको फाइदा नाफाखोर कम्पनी र व्यापारीले उठाएका छन् भने उपभोक्ताले स्वास्थ्यसँगै कमाइ पनि गुमाउने गरेका छन् । कम्पनीले चल्तीका बारमा एक केश खरिद गर्दा एक केश सित्तैमा दिई सड्न लागेका बियर भिडाउने गरेको पाइन्छ । 

यस्ता कम्पनीले अन्तशुल्कको स्टिकर टाँसेर गोदाममा राख्दाराख्दै पनि उपभोग मितिको म्याद जाने गरेको हुन्छ । त्यस्तो बियर दुर्गम जिल्लाहरुमा पठाइन्छ । राजश्व प्रशासनले त्यस्तो अवस्थामा निगरानी गर्न नसक्ने भएकाले उपभोग मिति सकिएको बियर सहजै मिति सच्याएर वा अनेकन तरिकाले बेचबिखन हुँदै आएको छ । 

थ्री र सिक्सलाई कालो मसीले एट बनाएर सच्याउने र त्यस्तो माल बिक्री गर्ने स्टाफलाई इन्सेन्टिभ पनि उपलब्ध गराएर कम्पनीले उत्साहितसमेत गर्ने चलन छ । बजेट भाषणअघि आफ्नो उत्पादनमा अन्तशुल्कको स्टिकर टाँसेर गोदाममा ठूलो मात्रामा बियर भण्डारण गरिन्छ । प्रत्येक आर्थिक वर्ष मदिरा, बियर, खैनीसुर्तीलगायत उत्पादनमा अन्तःशुल्क वृद्धि हुने र मूल्य पनि बढ्ने भएकाले ठूलो मात्रामा भण्डारण गर्दा उपभोग मिति समाप्त भए पनि केरमेटको मौका कम्पनीले पाउने नै भए । 

यस्तो बदमासीलाई आन्तरिक राजश्व कार्यालयले निगरानीमा राखेर कारवाही गर्नुपर्ने हो । तर, अहिलेसम्म त्यस्तो गरेको देखिँदैन । नेपालको कूल राजश्वमा मदिराजन्य उत्पादनले १७ देखि १८ प्रतिशतसम्म योगदान पुर्‍याउँदै आएको अवस्था छ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू