अमेरिकामा वाणिज्यदूत र नेपाली पत्रकार अचाक्ली

घननाथको ‘आपत्ति’, परिवारसहित अमेरिकामा बस्दै आएको प्रष्टोक्ति

अमेरिकामा वाणिज्यदूत र नेपाली पत्रकार अचाक्ली
सुन्नुहोस्

नेपाल सरकारले विभिन्न देशमा वाणिज्य सम्बन्धलाई सबल र सुढृढ गर्न नियुक्त गर्ने अवैतनिक महावाणिज्यदूतको नियुक्तिमा भद्रगोल मच्चिएको छ । करिब दुई महिनाअघि अमेरिकाको बोस्टन राज्यका प्रल्हाद केसीलाई नियुक्त गरिएको छ । केसीविरुद्ध धर्मपत्नीलाई शारीरिक हिंसा गरेको अभियोग लाग्नुका साथै एनआरएन फुटाउने काममा सक्रिय रहेको आरोप छ । 

त्यसैगरी, गोर्खा घर भएका घननाथ दवाडीले पनि वाणिज्यदूत बन्न कसरत गरेको बताइन्छ । उनी राजनीतिक शरणार्थीको पहिचान बोकेर अमेरिकामा शरण लिएका व्यक्ति हुन् । त्यसैकारण उनको नियुक्तिबारे सहमति जुटिसकेको छैन । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिस भने उनको पक्षमा भएको बताइन्छ । दवाडी अमेरिकाको क्यालिफोर्नियावासी व्यवसायी ऋषि ढकालका साला हुन् । अमेरिकन अथोरिटी होमल्याण्ड सेक्युरिटीले उनको नाममा सहमति जनाइसकेको अवस्था छैन । 

राजनीतिक शरण लिएकाहरूलाई वाणिज्यदूत बनाउँदा कानुनी तथा नैतिक रूपमा गलत हुने दावी अन्य दूतले गरेको बताइन्छ । उनीमाथि माओवादी केन्द्रबाट गण्डकीको नेता हुँदा महिला कमरेडहरूलाई दुव्र्यवहार गरेको आरोपसमेत लगाइएको चर्चा छ । पर्यटन विभागले पर्यटन दूतका रूपमा पनि उनलाई नियुक्ती दिएको थियो । नेपालमा हुँदा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानपछाडि रहेको गण्डकी दोहोरो साँझमा यौनजन्य हिंसाको आरोप लागेपछि लफडासमेत चल्यो । त्यसैबेला लायन्स क्लबको सहारामा अमेरिकामा राजनीतिक शरणार्थीको रूपमा शरण लिएका थिए । 

त्यसैगरी ओहायो राज्यमा डा. दामोदर पौडेल अवैतनिक महावाणिज्यदूत छन् । अमेरिकन राजनीतिककर्मीसँग घनिष्ठ र निकटसम्बन्ध भएका उनले कोरोनाकालमा राम्रो काम गरेको बताइन्छ । उनी अमेरिकनकै रोजाइ र सिफारिसमा वाणिज्यदूत भएको दाबी पनि गरिएको छ । नेपालस्थित लिङ्कन स्कूलको जग्गा लफडामा सहयोग गरेका थिए । 

अमेरिका जाने र बस्ने धेरैको चाहना हुन्छ, त्यसैबमोजिम उतै स्थायी बसोबास गर्ने नेपाली पत्रकारको संख्या पछिल्लो कालमा दुई दर्जन नाघेको छ । तरुण साप्ताहिकका तरुण पौडेलले सुशासन, विजय र सञ्जय घिमिरेले आर्थिक क्षेत्रमा काम गरेबापत एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड लिएका छन् भने विष्णुहरि घिमिरेले खेलकुद, डा. प्रदिप भट्टराईले चलचित्रसँग सम्बन्धित ग्रीन कार्ड लिएका छन् । दिनेशजंग शाह, राजेश मिश्र र गिरिश पोखरेलले एक्ट्रा अर्डिनरी ग्रीन कार्ड प्राप्त गरेका हुन् । यसरी नै तृष्णा कुँवर, पवनकली शो की लुनिभा तुलाधर, ज्योति देवकोटा, प्रेम बानियाँ एक्स्ट्रा अर्डिनरीवाला हुन् भने एसाइलम उल्लेख गरी अमेरिका बस्नेहरूमा सानुबाबु सिलवाल र रामप्रसाद खनाल रहेका छन् । 

एसाइलम उल्लिखित ग्रीन कार्ड लिएको साढे चार वर्षपछि मात्रै परिवार भेट्न नेपाल फर्किन सक्ने व्यवस्था भए पनि कतिपय भने भारत हुँदै आउने गरेका छन् । पहिला–पहिला व्यवस्थाविरोधी, त्यसपछि माओवादी द्वन्द्व, राजतन्त्रको पक्षधरलगायतका कारण दर्शाउँदै नेपालीहरूले एसाइलम कार्ड लिने गरेका छन् । 

डिभी (डाइभर्सिटी भिसा) चिठ्ठा परेर जाने पनि छन् । जसमा लेखनाथ भण्डारी, संगम बानियाँ र पुण्य गौतम पर्छन् । गुणराज लुईंटेल भने इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित रहेर काम गर्छन् । 

(अमेरिकाको वाणिज्यदूत बन्ने कसरतमा रहेका भनिएका घननाथ दवाडीले आफूविरुछको समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन् । 

उनले भनेका छन्, ‘मेरो बारेमा उल्लेखित विषयवस्तुमा कुनै सत्यता छैन । भनिएका कुराहरु सबै आधारहीन हुन् ।’ उनले आफू राजनीतिक शरणार्थीको पहिचान बोकेर अमेरिका नगएको पनि बताए । 

पर्यटन व्यवसायीको रुपमा अमेरिका गएपछि उतै बसोबास गर्दै आएको उनको दाबी छ । यसअघि उनले पर्यटन दूतको रुपमा काम गरिसकेका छन् । माओवादी केन्द्रबाट गण्डकीको नेता हुँदा महिला कमरेडहरुलाई दुर्व्यवहार गरेको आरोपमा पनि कुनै सत्यता नरहेको दवाडीको भनाई छ । ‘म स्थापित पर्यटन व्यवसायी हुँ । २५ वर्षदेखि परिवारसहित अमेरिका बस्दै आएको छु ।’)

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू