भुटानी राजाको नेपालमा जन्म ज्ञानेन्द्रद्वारा हेरविचार

भुटानी राजाको नेपालमा जन्म ज्ञानेन्द्रद्वारा हेरविचार

पूर्व राजा ज्ञानेन्द्र शाह तीन दिने भ्रमणको क्रममा अस्ति बिहान काठमाडौंबाट पारो हुँदै भुटानको राजधानी थिम्पु पुग्नुभयो । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राजकुमारी पेमा ल्हादेन वाङ्चुकले स्वागत गरिन् । ड्रुक एअरको विमानबाट ओर्लंदा नेपालका भूतपूर्व राजालाई भुटान सरकारले रातो कार्पेट बिच्छाएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भुटानी राजपरिवारका सदस्यहरुसँग भेटवार्तामा व्यस्त हुनुहुन्छ । उहाँले थिम्पुस्थित राजदरबारमा बडामहाराज पूर्व राजा जिग्मे सिङ्गे वाङचुकसँग भेटवार्ता गर्नुभएको छ । शाह र वाङचुक दुवै दार्जिलिङको सेन्ट जोसेफ कलेजका सहपाठी हुनुहुन्छ । जिग्मे वर्तमान राजा जिग्मे केसर नाम्ग्यालका पिता हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले त्यहाँको राजदरबारमा भुटानी मुमा बडामहारानीसँग छुट्टै भेट गर्नुभएको छ । सबै भेटमा पूर्वराजासँगै छोरी प्रेरणा र भतिजी सिताष्मासमेत सहभागी हुनुहुन्छ । 

भुटानी राजा र राजदरबारसँग ज्ञानेन्द्र शाहको ऐतिहासिक र रोचक सम्बन्ध छ । तत्कालीन राजकुमारको हैसियतमा छँदा आजभन्दा ४५ वर्षअगाडि भुटानी राजा जिग्मे केसर जन्मने क्षणमा तत्कालीन राजा वीरेन्द्रले ज्ञानेन्द्रलाई रोयल लियाजो अफिसरको रुपमा प्रसुति गृह,थापाथलीमा खटाइदिनुभएको थियो । राजा जिग्मे सिंगे वाङचुकको औपचारिक बिहे हुनुअघि नै वर्तमान राजा जिग्मे केसर नाम्ग्यालको जन्म गोप्य रुपमा काठमाडौंको इन्द्र राज्यलक्ष्मी परोपकार प्रसुतिगृह, थापाथलीमा भएको थियो । ज्ञानेन्द्रले नवजात शिशु नामग्याल र उनकी नवप्रसुता आमाको हेरचाहमा सम्पर्क व्यक्तिको भूमिका निर्वाह गर्नुभएको बताइन्छ । त्यसैले राजा नामग्यालले नेपाललाई आफ्नो जन्मभूमि मान्ने गरेका छन् ।

पारो विमानस्थलमा बुधबार बिहान पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्ने महिला उनै महिला अर्थात् राजा नामग्यालकी आमा रहेको भन्नेहरु पनि छन् । नेपालको भूतपूर्व शाही परिवारलाई भुटान सरकारले थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ को अवलोकन गराएको छ । राजा जिग्मे खेसरको परिकल्पनाअनुसार विकास गर्न लागिएको अत्याधुनिक,सूचना प्रविधियुक्त उक्त शहरलाई विश्वकै पहिलो बाढी–पहिरोरहित मानिएको छ ।

टिप्पणीहरू