माओवादी जिल्ला अध्यक्षमाथि अर्काको जग्गा हत्याएको आरोप

माओवादी जिल्ला अध्यक्षमाथि अर्काको जग्गा हत्याएको आरोप

माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राजु आचार्यमाथि अरुको जग्गा हत्याएको गम्भीर आरोप लागेको छ । उनले विभिन्न मुद्दा मिलाइदिने नाममा लाखौं मूल्य बराबरको जग्गा हत्याएको भएिको छ । 

स्थानीय दाजु–बहिनीको अंशवण्डा सम्बन्धी मुद्दा मिलाइदिने नाममा ४० लाखको जग्गा श्रीमती सविना आङ्थुपोको नाममा पास गराएको भनिएको छ । उनले २०८० भदौ २४ गते अर्जुनधारा ४ मा रहेको कित्ता नम्बर ३५४७ को २ कठ्ठा १६.५ धुर जग्गा मालपोत कार्यालयबाट पास गराएको पुष्टि भएको हो । 

उक्त स्थानमा एक कठ्ठा जग्गाको बजार मूल्य १५ लाख पर्छ । तर उनले ४० लाखको जग्गालाई तीन लाख २५ हजार मूल्य देखाएर राजस्वसमेत छली गरेको भनिएको छ । गम्भीर आरोपपछि आचार्य विवादमा तानिएका छन् । 

पार्टीका जिल्ला सहइञ्चार्ज सिपी कडरियाले यसबारे आफूलाई अनौपचारिक जानकारी आएपनि लिखित उजुरी नपरेको बताए । ‘यो विषय मलाई पनि अवगत छ’, उनले भने, ‘तर पार्टीमा आधिकारिक कुरा आएको छैन, हल्लाकै भरमा अनुसन्धान गरिहाल्ने कुरा पनि आएन ।’

कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्वाङले पार्टीभित्र सबैले वित्तीय तथा आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएका छन् । आचार्य दोषी ठहरिएमा पार्टीले आवश्यक कारवाही अघि बढाउने उनले विश्वास दिलाए । ‘पार्टीभित्र वित्तीय तथा आर्थिक अनुशासन सबैले पालना गर्नुपर्छ,’ उनले भने, ‘उजुरी आएको खण्डमा छानबिन हुन्छ र दोषी ठहरिए कारबाही हुन्छ ।’

प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरीले आचार्य यसअघि पनि विभिन्न विवादमा परेको स्वीकारे । ‘यो विषयमा झापा जिल्ला पार्टीका साथीहरूबाट थुप्रै पटक मौखिक रुपमा कम्प्लेन आएको हो तर औपाचारिक रुपमा लिखित उजुरी आएको छैन’, उनले सुनाए । 

आचार्यसँग यसबारे जानकारी लिन खोजेपनि उनी बोल्न मानेनन् । मोबाइलमा सम्पर्क गर्दा नउठाउने र पटक पटक फोन काट्ने गरेका छन् । 

यसअघि उनीविरूद्धको मानव अपहरण मुद्दा अहिले पनि उच्च अदालत इलाममा विचाराधीन छ । २०७४ सालमा तत्कालीन मन्त्री राम कार्कीको स्वकीय सचिव हुँदा उनले एक जनालाई अपहरणपछि जबर्जस्ती जग्गा पास गराएको आरोप छ ।

टिप्पणीहरू