जिबीले बर्बाद पार्यो भन्दै सिंहदरबारमा सहकारी पीडितको बिलौना

जिबीले बर्बाद पार्यो भन्दै सिंहदरबारमा सहकारी पीडितको बिलौना
सुन्नुहोस्

सहकारीको बचत हिनामिना छानविन गर्न गठित संसदीय विशेष समितिले पीडितहरुसँग छलफल गरेको छ । 

सिंहदरबारमा भएको छलफलमा पीडितहरुले आफ्नो दुःख सुनाएका छन् । सूर्यदर्शन सहकारीका पीडित नेत्रपाणी बास्तोलाले जिबी राईको कारण आफ्नो उठिवास हुन लागेको समितिसामु दुखेसो पोखे । उक्त सहकारीले बचत डुबाउनुको साथै आफ्नो नामबाट किर्ते ऋण निकालेर बदनाम गराएको उनले बताए । 

‘यहाँहरु सबै पीडित हुनुहुन्छ,म झन् महापीडित हुँ, सहकारीबाट मेरै बचत लिनु छ,पाएको छैन’, बास्तोलाले भने, ‘तर मेरो नाममा किर्ते गरेर जिबी राईले लोन लिएको छ,मेरो नाम बदनाम गरिएको छ, चरित्र हत्या भएको छ ।’ 

‘जिबी राईले हाम्रो हालत खत्तम बनायो, भाडा तिर्न नसकेर घरबाट निकालिएका छौँ,परिवारको उपचार गर्न नसकेर बेहाल छ’,

आफूले सहकारीबाट एक पटक ऋण लिँदा गरेको हस्ताक्षरलाई जिबी राईको समूहले दुरुपयोग गरेको उनको भनाइ छ । ‘मैले ०७६ असार ८ गते लोन लिएको थिएँ,तर मेराे अकाउन्टबाट प्रत्येक महिना किस्ता तिरिएको छैन, त्यो लोन ०७७ माघ ११ मा चुक्ता गरेको छु, तर जिबी राईले ०७८ असार ३१ गते (मसान्तको दिन लोन पास हुँदैन भन्छन्) मेरो नक्कली सही गरी लोन निकालेर खाएको छ’, बास्तोलाले सुनाए । 

त्यस्तै, अर्का पीडित दुर्गानाथ न्यौपानेले पनि जिबीले पैसा खाइदिएपछि आफूले कोठा भाडासमेत तिर्न नसकेर घरबेटीले निकालिदिएको दु:ख पोखेका छन् । परिवारको उपचार गर्ने पैसा नभएर मृत्युको मुखमा पुगेको उनले बताए । 

‘जिबी राईले हाम्रो हालत खत्तम बनायो, भाडा तिर्न नसकेर घरबाट निकालिएका छौँ,परिवारको उपचार गर्न नसकेर बेहाल छ’, न्यौपानेको भनाई छ, ‘केटाकेटीको फी तिर्न नसकेर विजोग छ, आफ्नो पैसा सहकारीले खाएर बर्बाद पार्यो।’

सहकारी ठगले राजनीतिक संरक्षण पाइरहेको भन्दै उनले चर्को असन्तुष्टिसमेत पोखे । ‘ती ठगहरु कतिपय खुलेआम घुमिरहेका छन्, कोही विदेशमा परिवार नै लगेर मोज गरेर बसिरहेका छन्,सबैभन्दा ठूलो तिनीहरुलाई राजनीति संरक्षण भयो,प्लिज सरकारले समात्दिनु पर्यो, हाम्रो पैसा फर्काइदिनुपर्यो’, उनले बिलौना गर्दै भने ।
 

टिप्पणीहरू