पहिरोले बगाएको बस र यात्रु खोज्न गोताखोरसहितको टोली परिचालन
चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा लेदोसहितको पहिरो खस्दा बगेको दुईटा बस र त्यसमा सवार यात्रु खोज्न ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।
गएराति ३ बजेदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा त्रिशुलीमा बगेको बस र यात्रु खोज्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोली खटिएको हो ।
वीरगञ्जदेखि काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । त्यस्तै, काठमाडौंबाट गौरको लागि छुटेको गणपति डिलक्स बसमा तीन दर्जन बढी यात्रु थिए ।
सो बसको झ्यालबाट नदीमा हाम्फालेर पौडी खेल्दै तीन जना जोगिएका छन् । घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल १७ नम्बर गणबाट प्रहरी उपरीक्षक राजेश खरेलको कमाण्डमा २७ जना घटनास्थलमा खटिएको थियो ।
त्यसपश्चात् विपद् व्यवस्थापन कुरिनटारबाट प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्डमा गोताखोरसहित १५ जनाको टोली परिचालन भएको छ । उनीहरुले नदी तथा आसपासका क्षेत्रमा खोजतलास गरिरहेका छन् ।
टिप्पणीहरू