कोरी : नयाँ पर्यटकीय गन्तव्य

कोरी : नयाँ पर्यटकीय गन्तव्य

 

- दिलचन पुन

पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको निम्ति पुग्नैपर्ने गन्तव्य बनेको छ, कोरी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो ठाउँ ट्रेकिङ मन पराउनेहरुको लागि अझै उपयुक्त गन्तव्य मानिन्छ । 

समुन्द्र सतहदेखि करिब ३८ सय मीटरको उचाइमा रहेको कोरीले यतिबेला कास्कीमा पर्यटक तान्न ठूलो सहयोग गरेको छ । पोखराबाट तीन/चार घण्टाको सवारीपछि सिकलेस् पुगिन्छ । त्यहाँबाट पासा पुगेर बास बस्न सकिन्छ । यहाँ खाना/बस्नको लागि स्थानीय होटलहरु छन् । 

अर्काे दिन बिहान पासाबाट तीन/चार घण्टा हिँडेपछि चेघा पुगिन्छ । चेघामा खाना खाएर उकालो हिँड्नुपर्छ, चार घण्टाजति । यसपछि सुरु हुन्छ, कोरी खर्क । 

यसक्रममा बाटोमा देखिने जंगली फूल, च्याउ, चराहरुको गीतले पर्यटकको मस्तिष्कलाई आनन्द दिइसकेको छ । कोरी पुगेपछि झन् यसको सुन्दरताले हरकोहीलाई लोभ्याउँछ । 

यहाँबाट देखिने लमजुङ हिमाल, अन्नपूर्ण श्रेणीका हिमाल,  माछापुच्छ्रे हिमाल, मनास्लु हिमाललाई आँखै अघि देख्दा जो–कोही पनि भुतुक्कै हुन्छ । यसबाहेक खर्क चरिरहेका भेडाहरुको लडिबुडीलाई यात्रुलाई एकहोरो बनाउँछ । यद्दपि, मौसम अनुसार दृश्यहरू फरक पर्न सक्छ । 

ट्रेकिङ आफैं सुविधाहरूबाट टाढा भएर रमाउने माध्यम हो । त्यसैले यात्राको क्रममा स्तरीय सेवासहित उत्कृष्ट होटल अपेक्षा गरिंदैन । सकभर यात्रुले तातो कपडा, छाता, टर्च लाइट र केही खाने कुराहरू आफैंले बोक्दा सजिलो हुन्छ ।

तस्बिरहरु

टिप्पणीहरू