सरकारी सेवामा भएभरका सन्तान

सरकारी सेवामा भएभरका सन्तान

निजामती कर्मचारी वृत्तमा कहिलेकाहीँ रमाइला संयोग देखा पर्छन् । जस्तो : एकै जिल्लाका ९ जना एकै पटक सिडिओ । एउटै जिल्लाको एउटै विद्यालय पढेका ६ जना एकैपटक सचिव । एकाघरका दाजु र बहिनी एकै पटक सचिव । एउटै स्कूलमा पढेका, श्रीमान्–श्रीमती मात्रै होइन, परिवारै निजामती सेवामा संलग्न । कुनै परिवारमा सबै दाजुभाइ, कुनैमा सबै दिदीबहिनी लोकसेवा भिडेर उदाहरणीय बनेका दर्जनौं उदाहरण भेटिन्छन्, ८६ हजार निजामतीभित्र । 

तेह्रथुमको लालीगुराँस नगरपालिका– १ बस्ने छत्रपति खनालका ५ सन्तान यसरी रेकर्ड ब्रेक गर्नेमध्येका हुन् । छत्रपति आफैं सरकारी शिक्षक, ४ सन्तान निजामतीतिर लागेका छन्, अनि पिताको बिँडो थाम्ने (शिक्षण) चाहिँ एक छोरी । बुहारी र ज्वाइँ पनि सरकारी सेवामै । 

०२६ देखि छत्रपति ‘सिपी सर’ले ०७० सालसम्म पढाए । जिल्लामा उनी नाम चलेका आइएस्सी (विज्ञान) शिक्षक । तिनैका पाँचै सन्तानले नाम चलेका कुनै बोर्डिङमा होइन गाउँकै सामुदायिक विद्यालयमा पढे । रत्न मावि सोल्मामा १० सम्म बुबाले नै पढाएको विद्यालयमा पढेका हुन् तिनले । सिपी गुरु यो धर्तीबाट बिलाएको एक दशक बितिसकेको छ । छोराहरू वेदनिधि, पोषण र डम्बर, छोरीहरू सिर्जना र सुनिता । जेठीबाहेक सबै निजामती सेवामा । जेठो छोरा उपसचिव, माइलो अधिकृत छैटौं र कान्छो पनि अधिकृत । कान्छी छोरी अधिकृत । ज्वाइँ उद्योग मन्त्रालयमा उपसचिव, बुहारी स्टाफ नर्स । 

वेदनिधि रसुवाको जिल्ला प्रशासक । यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमा । ०५९ सालअघि वेदनिधि शिक्षण पेशामै । त्यस समय शिक्षक सबैभन्दा सम्मानित पेशा । २ वर्ष निजी स्कूल र ४ वर्ष सरकारी शिक्षक बने । २०५९ मा नयाँ कोर्स बिबिएस शुरु भयो । खरिदार र सुब्बाको परीक्षामा असफल भए तर पहिलो प्रयासमै अधिकृतमा नाम निक्लियो । पहिलो पोष्टिङ राष्ट्रिय योजना आयोग हुँदै क्षेत्रीय कार्यालय धनकुटा पुगे । ०६० सालदेखि गृहमातहत छन् । ०७१ सालबाट उपसचिवमा उक्लिएका उनी त्यसयता एयरपोर्ट, तेह्रथुमको प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय आपतकालीन केन्द्रको प्रमुख, सोलुखुम्बुको सिडियो हुँदै सिन्धुपाल्चोकमा रहे ।

चार महिना वीरगञ्जमा सहायक सिडिओ र नारायणकाजी श्रेष्ठको सचिवालय हुँदै रसुवाको प्रमुख जिल्ला अधिकारी छन्, ९ महिनादेखि । संघीयतापछि सिडिओको अधिकार कटौतीमा परेको छ । संघीयतामा जानुपूर्व रवाफ बेग्लै थियो । कुनै समय शान र मान बोकेका सिडियोहरू अहिले जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्ने, जिल्लाभित्र सरकार, नगरपालिका वा गाउँपालिकाले सञ्चालन गरेको विकास कार्यमा सहयोग गर्ने, नागरिकता र राहदानी बाँड्ने जिम्मेवारीमा संकुचित छन् । मर्यादाक्रममा समेत तिनलाई पुच्छरतिर पुर्‍याइएको छ । ०७४ सालमा तेह्रथुमको प्रमुख जिल्ला अधिकारी हुँदा एउटै पत्रले ठेक्कापट्टा बदर हुन्थ्यो, अहिलेका सिडिओलाई कसले टेर्ने ?

माइला भाइ पोषणले ०५५ सालमा आइएस्सी पार लगाउनेबित्तिकै ०६५ सालसम्म दर्जन स्कूलमा पढाए । तीन वर्ष तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित कालिका आधारभूत विद्यालय र भोजपुरको प्याउली माध्यमिक विद्यालयमा । १० वर्षसम्म शिक्षक सेवा आयोग नखुलेपछि लोकसेवा भिड्ने निधो गरे । ०६६ सालदेखि निजामती सेवातिर सिफ्ट भए । २ वर्ष खरिदार भएर गाविस सचिव बनेका उनीसँग १० वटा पालिकाको वडासचिव चलाएको अनुभव छ । ०६७ सालमा एकै आर्थिक वर्ष ८ वटा पालिकाको नगर सभा पनि गराए । ०६८ मा लेखापालका रूपमा धनकुटा पुगे ।

समायोजनपछि अहिले अधिकृत छैटौंको रूपमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालय मोरङमा लेखा अधिकृत छन् । कान्छो भाइ डम्बर पनि संघको सडक लेखा अधिकृत छन् । श्रीमती स्टाफ नर्सका रूपमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन् । कान्छी बहिनी सुनिता अर्थ मन्त्रालय मातहत धुलिखेलको आन्तरिक राजश्व कार्यालयमा छिन् । उनले एमबिबिएस पढ्दापढ्दै निजामतीमा नाम निकालेकी हुन् । सुनिताका श्रीमान् घनश्याम सुवेदी उद्योग मन्त्रालयमा छन् । उनले इञ्जिनियरिङ पृष्ठभूमिबाट निजामती सेवामा पाइला राखेका हुन् । 

तेह्रथुमका गंगाप्रसाद गुरागाईं र चन्द्रादेवी गुरागाईंका सात सन्तान सरकारी सेवामा पुगे । एकै पटक दाजु र बहिनी नै सचिव थिए । महेन्द्र गुरागाईंलाई अहिले कोही प्रदेशको लोकसेवा आयोगमा नियुक्त गरिएको छ । पहिलो महिला मुख्यसचिव बन्ने अवसरबाट बञ्चित देवकुमारी गुरागाईं केही महिना अघिमात्र रिटायर्ड भइन् । यस्तै सरस्वती, पुष्पप्रसाद, झइन्द्र, चिरञ्जीवी र दोनुका सरकारी सेवामा छन् । स्याङ्जाका गंगा र लक्ष्मी ढकालका सातै सन्तान सरकारी कर्मचारी छन् । छोरा छोरीमात्र होइन ज्वाइँ र बुहारीहरूसमेत सरकारी सेवामै छन् । सुशीला, शोभा, शान्ति, टिकाराम ढकाल, शोभाकान्त ढकाल, जगदिश, शंकर ढकाल सरकारी जागिरमा छँदैछन् । ज्वाइँ र बुहारीहरू पनि त्यतै छन् ।

जेठी छोरी सुशिलाका श्रीमान् रमेश शर्मा पौडेल न्यायाधीश, शोभा ढकालका श्रीमान् नवराज पोखरेल अधिकृत हुन् । यसैगरी, छोरी शान्ति ढकालकी श्रीमान् तुलसी पौडेल गण्डकी प्रदेशमा सातौँ तहका अधिकृत, उपसचिव टीकारामकी श्रीमती वर्षा रेग्मी वायुसेवा निगममा छन् । डिएसपी शोभाकान्तकी श्रीमती आरती अर्याल भन्सार विभाग मातहत कार्यरत छिन् भने शंकरकी श्रीमती सरस्वती शर्मा अधिकृत छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू