मायाले बर्वाद बनाउने मौसम

मायाले बर्वाद बनाउने मौसम

भनिन्छ, दुई अक्षरको मायामा संसार अटेको छ । न यसलाई हेर्न सकिन्छ, न देख्न न त समात्न नै सकिन्छ । केवल महसुस गर्न सकिन्छ । यही शब्दले नै मानिस महसुस गर्दागर्दै आफैँ हराउँछन् । कोही यहीँ मायाले पागल हुन्छन् त कोही मायामा बाँचिरहेका हुन्छन् । यो फिक्का दुनियाँमा मायाको अभाव छ । जति मायाको परिभाषा बुझ्दै गयो, त्यति मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मायाले नै कतिको जीवन एकदमै राम्रो बनाइदिएको छ । तर, कतिको जिन्दगी नै बर्बाद पारिदिएको छ । कति जना आत्महत्या गर्ने अवस्थासम्म पुगेका छन् । १४/१५ वर्षको कलिलो उमेरमा मायाको आसमा हाम फालेकी सिन्धुलीकी अस्मिता (नाम परिवर्तन) को कहानी हो यो । 

वरिपरि टिनको छानो भएको घरको बीचमा एउटा ढुंगाको छानो भएको घर छ । त्यो घर अरुभन्दा जति फरक देखिन्छ त्यति नै फरक छ अस्मिताको कहानी । सानैमा आमा गुमाएकी अस्मिताले धेरै पढ्न सकिनन् । आमा बितेपछि बाध्यताले घरका सबै जिम्मेवारी उनको काँधमा थुप्रियो । 

बुबा कमाउन शहर पसे । त्यतिबेला उनका अर्का दाइ कृष्ण (नाम परिवर्तन) ९ वर्षका थिए । दाजुबहिनी भएर घर धान्नुपर्‍यो । सम्पत्तिको नाममा घरमा दुई वटा बाख्रा थियो । भनेजस्तो उर्वर जग्गा जमिन पनि थिएन । वर्षभरि दुःख गर्दा पनि मेलापात नगई खानसमेत पुग्दैन थियो । कमाउन निस्केका बुबा दशैँ नलागी घर आउँदैन थिए । घरको सबै काम दाजुबहिनी भएर गर्नुपथ्र्याे । खाना पकाउँदा कैयौं पटक हातमा कराइले डाम्थ्यो । जुन डाम अहिले पनि अस्मिताको पाखुराभरि छन् ।

शहरमा बसेका बुबा बिस्तारै घर बिर्सिएर उतै रमाउन थाले । दाइको साथ थियो, ऊ पनि उमेर बढ्दै गएपछि साथीसंगतमा लागेर कुलतमा फस्यो । घर आउनै छाड्यो । कसैको सहारा नभएपछि अस्मितालाई काकाले आफ्नो घरमा लिएर गए । सम्पत्तिका नाममा रहेका दुई वटा बाख्रा डोर्‍याउँदै ढोकामा ताच्चा लगाएर अस्मिता काकाकोमा बस्न थालिन् । त्यहाँ पनि उनलाई काकीले राम्रो व्यवहार गर्दिनथिन् । बिहान ५ बजे उठेदेखि बेलुका खाना खाएको भाँडा नमाझेसम्म सुत्न पाइँदैन थियो । 

विस्तारै अस्मिताको उमेर बढ्दै गयो । काकाले अर्को मोबाइल किनेपछि पुरानो मोबाइल उनलाई चलाउन दिए । उनले मोबाइल चलाउन काकासँगै सिकिन् । एकदिन अस्मिता काकीसँग किनमेल गर्न गाउँबाट सिन्धुली सदरमुकाम आइन् । गाउँको बसमा खासै सिट खाली हुँदैन थियो । काकीले त सिट पाइन् तर उनले पाइनन् । उनी क्याबिनमा बसिन् । उनको छेउमा एक पुरुष थिए । बाटो अघि बढेसँगै ती पुरुष झन्झन् नजिक भएर केही बोल्न खोजेजस्तो गरे । 

गाडीमा झ्याप्प ब्रेक लाग्यो । ती पुरुष अस्मिता भएतिर हुत्तिएर ठोक्किन पुगे । पुरुषले ओहो, सरी बहिनी भने । त्यसपछि अस्मिता र ती पुरुषबीच कुराकानी हुन शुरु भयो । नभन्दै उनी अस्मिताको गाउँभन्दा पारिका रहेछन् । बीच बाटोमा पुगेपछि ती पुरुषले अस्मितासँग फोन नम्बर मागे र झरे । अस्मिता सिन्धुली पुगेर काकीसँग बेलुकी घर फर्किन् । खाना खाएर सुत्ने बेलामा उनै कुशलको फोन आयो । त्यो दिन सामान्य कुराकानीमै कुरा टुंगियो । आजभन्दा भोलिभन्दा कुशलले दिनहुँजसो फोन गर्न थाले । हुँदाहुँदा दुई बीचमा प्रेम बस्यो । र, बिहे गर्ने सोचमा पुगे। 

कुशलले अस्मितालाई बाँचुञ्जेल साथ दिने भन्दै फकाउन थाले । आमाको माया नपाएको टुहुरी न हो, होला भनेर भागेर बिहे गर्ने सुर कसिन् । काकाकाकीको घरमा दिनहुँ खट्नुपर्दाको पीडाले पनि बिहे गरेर बस्ने निर्णय हतारमै लिइन् । २०७३ मंसिर ५ गते उनीहरूले भागेर बिहे गरे । बिहे गरेको केही वर्ष त राम्रै भयो । कुशलले पनि माया गरे । एक वर्षपछि छोरा जन्मियो । कुशलले घरमै कुखुरा पालेका थिए । त्यहीँबाट जीविकोपार्जन गर्थे । छोरा एक वर्षको भएपछि कुशल कमाउनका लागि दुबई जाने निर्णय गरे ।

बिदेसिनु अगाडि श्रीमान् र श्रीमतीबीच निकै धेरै माया, विश्वास र सहयोग थियो तर अहिले अवस्था फेरिएको छ । गाउँघरमा सुखदुःख गरेर मिलेर बसेको परिवार अहिले भौतिक रुपमा श्रीमान् श्रीमती टाढा मात्र भएका छैनन् । घरबार नै एकाएक भत्किएको छ । अहिले उनलाई श्रीमान्कै कारण मानसिक समस्या आइलागेको छ । श्रीमान् विदेशको गएको ४ वर्ष पुग्न लाग्यो । एक वर्षदेखि फोन–फोन कल छैन । श्रीमान्को फोन आउला कि भनेर मोबाइल हेर्दै बस्छिन् अस्मिता । 

दिनभरि खेतबारीमा काम गर्छिन् । कामले थाकेर गएको बेला हिजो श्रीमानका सुमसुम्याउने हात आज छैनन् । तैपनि, उनले श्रीमान् नेपाल आएपछि सँगै बस्ने सपना देख्न भने छोडेकी छैनन् । छोरालाई पढाउनकै लागि भने पनि उनी दिनभर सकिनसकी मेलापात र ज्यामी काम गर्ने गर्छिन्। 

श्रीमान्बीच खटपट आउनुमा धेरै ठूलो कारण पनि छैन अस्मिताको । मुख्य कारण भनेको नै शंका हो । शंकाकै भरमा अहिले बोलचालै बन्द भयो । श्रीमतीलाई फोन गर्दा व्यस्त भएको र फोन उठाउँदा केटा मानिसको आवाज सुनेको भन्दै अस्मितालाई श्रीमानले तथानाम गाली गर्ने, मार्छु भन्ने र घरबाट निस्केर जासमेत भन्ने गरेका थिए । सुख–दुःखमा सँगै हुने बाचा कसम खाएका र परेवाको जोडीजस्तै भएका श्रीमान्–श्रीमती अहिले दुई खोलीको किनाराजस्तै बन्न पुगेका छन्। 

श्रीमानले अहिले अस्मितालाई फोन गर्दैनन् तर छिमेकी र घरपरिवारलाई फोन गरेर श्रीमतीको बारेमा बढी चासो राख्छन् । परिवारले पनि त्यस्तै नराम्रो कुरा लाइदिँदा दुई बीचको समस्या झन् जटिल बनेको छ । माइतीलाई सुनाऊँ, कोही छैनन् । सानैमा टुहुरी भएर मायाको आसमा हाम फालेकी अस्मिता अहिले रुँदै दिन कटाउँछिन् । कानुनी बाटो देखाइदिने कसैको खोजीमा छिन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या झेल्ने धेरै परदेशी र घरदेशी छन् । वास्तविकता नबुझी अर्काको कुरा सुन्नेहरूको बढी घरवार बिग्रिएको छ । रोजगारीको कारण परदेशी भूमिमा पुगेका नफर्किनुको छुट्टै पीडा त छँदै छ, अर्को दम्पतीबीचको शंकाको कारणले नै अहिले अस्मिताजस्ता धेरैलाई मानसिक समस्या निम्तिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू