कालोकोट, सेतोकोट र डरलाग्दा पेटीकोट

कालोकोट, सेतोकोट र डरलाग्दा पेटीकोट

भर हुँदैन भन्छन्, कालोकोट, सेतोकोट र पेटिकोटको । आज त्यही कालोकोट र पेटिकोटका कारण मर्नु न बौलाउनुको स्थितिमा छु । भगवानरूपी मेरो श्रीमान्लाई कालोकोट र पेटिकोटहरू नै फसाउन लागिपरेका छन् । श्रीमान् अहिले डिल्लीबजार कारागारमा छन् । एक जना कालोकोटधारीकै कारण यो दुर्गति भएको हो । खाएको विष लागेको भए त सहन सकिन्थ्यो तर पतिलाई नखाएको विष लाग्यो । श्रीमान्लाई फसाउने पेटिकोटवाला हुन् मीरा तामाङ । यी दुईका कारण आज म चौबिसै घण्टा आँशु चुहाउन विवश छु । श्रीमान्लाई झुटो कागजात बनाएर हिरासतमा पुर्‍याएको कालोकोटधारी विनोद सिंहले हो । भन्छन्– सास छउञ्जेल आश । यही कारण भएभरको सम्पत्ति सिद्धियो, रित्तिएँ, टुक्रिएँ । अहिले घरमा एक छाक खानेकुरासमेत छैन । जसको आड र भरोसामा जीवन चलाउँदै आएका थियौँ ऊ नै प्रहरीको झुटो आरोपसहित हिरासतमा पुगेपछि अब गुजारा कसरी चलाउने ? छोराछोरीलाई कसरी पढाउने ?

१२ वर्ष जेठा श्रीमान्सँग मागीविवाह भएको दशक व्यतित भइसकेको छ । विवाहपूर्व श्रीमान्को घरपरिवारबारे सबै जानकार थिए । पहिलो श्रीमतीले ‘हेण्डसम’ नभएको आरोप लगाउँदै अरुसँग विवाह गरेकी रहिछन् । त्यसपछि दुई छोरा र एक छोरीलाई सम्हाल्ने गरेर भित्रिएँँ म । अहिले पनि उनीहरूलाई उत्तिकै माया ममता दिएकी छु । कुनै कुरामा कमी छैन । आफू निःसन्तान रहेर उनीहरूका लागि बाँचिरहेकी छु । उनीहरू सबै हुर्किसकेका छन् । जेठो छोरा १२ कक्षामा अध्ययन गर्छ । कान्छो भर्खरै आठमा उक्लियो । अहिले उनीहरूको अवस्था हेरिसक्नु छैन । एक क्षण एक पल पनि उनीहरूको आँखाबाट आँशु रोकिँदैन । मेरो पनि हविगत उस्तै छ ।

जसले यो भीमकाय पीडा भोग्यो उनैले मलाई केही सुइँको नदिएपछि कसरी थाहा पाऊँ ? 

वसन्तसँग ठमेलस्थित एक ट्राभल एण्ड टुरिज्म कार्यालयमा रहँदाखेरी चिनजान भएको हो । उक्त कार्यालय छाडेर चाबहिलस्थित हिमालयनमा कार्यरत हुनुहुन्थ्यो । उहाँ चाबहिल, म कोटेश्वर बस्ने । आवतजावत बाक्लो हुँदै गयो । एउटै परिवारजस्तै भयौँ । यो मिलनमा मीराले पनि साथ दिन थालिन् । सुख दुःखका कुरा हुन्थे । उनले मलाई साइनो लगाउँथिन् दिदीको । हिजोसम्मको अपरिचित हामी यसरी दिदी–बहिनीको पवित्र नाता सम्बन्धमा गाँसिन पुग्यौं । मान्छेहरू भन्थे, रगतको भन्दा भावनाको नाता बढी प्रगाढ हुन्छ । हो, जस्तै लाग्थ्यो ती दिनमा । उनी कोटेश्वरमा कस्मेटिक पसल चलाउँथिन् । त्यो पसल अहिले पनि छ । शनिबार ‘सपिङ’ गर्न उनकै पसलमा जान्थेँ । घण्टौँ ख्यालठट्टा गरेर बस्थ्यौँ  तर त्यो पवित्र सम्बन्धमा खै कसको आँखा लाग्यो ? स्वार्थरहित मेरो पवित्र सम्बन्धलाई उनले बालुवामाथि महल बनाइदिइन् ।

०७८ साल साउनको कुरा हो । मलाई केही थाहा थिएन । उनको श्रीमान् साउदी पुगेका थिए, रोजगारीको सिलसिलामा । उनको फोन आएपछि छाँगाबाट खसेजस्तै भएँ । बेलुका श्रीमान्लाई सोधेँ अनि थाहा पाएँ दिदी संबोधन गर्ने मीनाको असली चरित्र । शनिबारको एकदिने छुट्टीमा श्रीमान् र म सँगै हुन्थ्यौँ । एक दिन माइतीतिर गएकी थिएँ । श्रीमान्लाई मीराले कोठामा बोलाइछन्, ‘मेरो बर्थडेमा पनि तपाई उपस्थित नहुने, तपाईंबाहेक नजिकको मान्छे अरु को नै छ र !’ भन्दै । बर्थडे पार्टीमा नआए भोलिदेखि बहिनी र दाइको सम्बन्ध तोड्ने घुर्कीपछि उनी त्यहाँ पुगे । जसै त्यहाँ पुगे अनि बिग्रियो माहोल । पूर्वयोजनाअनुसार नै खानामा नशालु पदार्थ मिलाएर खुवाइछन् र अचेत बनाइदिइछिन् । योचाहिँ सबै साथीहरू फर्किसकेपछिको कुरा ।

श्रीमान्का अनुसार उनको साथमा एक जना नातेदार महिला थिइन् । त्यतिखेर रातको ९ बजिसकेको थियो । ती नातेदार महिला आफू थाकेको बताउँदै सुत्न गइछन् । तर, उनी भने मेरो श्रीमान्सामु अर्धनग्न अवस्थामा आइन् र अँगालो हालिन् । श्रीमान्ले उनको प्रस्ताव इन्कार गरे तर जबर्जस्ती शारीरिक सम्बन्ध राखिन् । अन्त कहीं कतै हिँडडुल नगर्ने सोझो श्रीमान्लाई यसरी फसाइछाडिन् । सायद आफ्नो पारिवारिक सम्बन्धमा आँच आउने डरले होला, यत्रो घटना हुँदासमेत श्रीमान्ले लुकाइरहे । मनमा कुरा गुम्साइरहे । जसले यो भीमकाय पीडा भोग्यो उनैले मलाई केही सुइँको नदिएपछि कसरी थाहा पाऊँ ? पछि उनका श्रीमान्ले साउदीबाट फोन गर्दै थर्काउँदा पो छाँगाबाट खसेझैँ भएँ । उनले भनेका थिए, ‘तेरो बूढो कहाँ छ त्यसलाई नकाटी छाड्दिनँ ।’ कुरा खोतल्दै जाँदा बल्ल चाल पाएँ । तत्काल फोन राखेर श्रीमान्लाई केरकार गर्न थालेँ । सोझा श्रीमान् कुनै कुरा लुकाउन जानेका थिएनन् । तर, त्यो घटना लुकाइ राखे । 

मलाई दिदीको साइनो लगाउने मीराले सोझा श्रीमान्लाई फस्ल्याङ फुस्लुङ पारेर दुई लाखभन्दा बढी रकम असुलिसकेकी रहिछन् । मागेको रकम नदिए बलात्कारीको अभियोग लगाएर जेल हाल्नेसम्म धम्की दिएको कारण डरै डरमा श्रीमान्ले पैसा दिँदै गए । यो थाहा पाएलगत्तै मीरालाई कल गरेँ ! उनी हाम्रो कोठामा आइन् । र, उल्टै श्रीमान्माथि झम्टिन थालिन् । श्रीमान् नभएका बेला आएर यस्तो त्यस्तो गरिस् भन्दै बम्किइन् । सम्झाउन खोज्दै थिएँ, मेरो कपालसमेत लुछ्न अगाडि सरिन् । निकैबेर झगडा भयो । निकै चिच्याएँ । अन्त्यमा निस्केर गइन् । उल्टै वैशाख २७ गते तीनकुने प्रहरीमा बलात्कारको उजुरी दिइन् । प्रहरी कार्यालयले पनि सहमतिमा सम्बन्ध राख्ने कागजात बनाए सजिलो हुने सल्लाह दियो ।

त्यसपछि आफन्तको सहयोगले कानुन व्यवसायी सिंहलाई भेट्न पुगें । अनामनगरको मण्डला नाचघरनजिकै रहेछ उनको ल फर्म । पटक–पटक गरी मसँग १ लाख २० हजार लिए । सिंहले सहमतिमा सम्बन्ध राखेको हो भनेर कागजात बनाई मुद्दा जित्न सजिलो हुने बताउँदै त्यहीअनुरूपको कागजातपत्र बनाएर काठमाडौं जिल्ला अदालतमा पठाइदिए । तर, अदालतको फैसलाले श्रीमान्लाई दोषी करार गर्‍यो । कानुन व्यवसायीले ती महिलासँग मिलेर झुटो कागज बनाएर कानुनी रूपमा हामीलाई नै तल पार्ने काम गरेका रहेछन् ! योसँगै श्रीमान्लाई डिल्लीबजार कारागार चलान गरिएको छ । दोषी खुल्लमखुला बाहिर हिँडिरहेकी छन् । मुद्दा जिताइदिने आश देखाएर सोझा मान्छेलाई कसरी कालोकोटधारीहरूले फसाउँदारहेछन् भन्ने एउटा ज्वलन्त उदाहरण हुँ म ।

साउदी जानुपूर्व मीराको श्रीमान् रोजगारीका लागि कतार पुगेका थिए । तीन वर्ष बसेर स्वदेश फर्किए । यस अवधिभर आठ लाख रकम पठाएको तर श्रीमतीले हिसाबकिताब देखाइनन् । त्यसपछि उनीहरूबीच झगडा मात्रै भएन सम्बन्धविच्छेदको कागजातपत्र बनाएर अदालतमा उजुरी दर्ता गरिएको छ । यता, अदालतले उनीहरूको सम्बन्धबिच्छेदबारे कुनै फैसला सुनाउन नपाउँदै मीराले अर्काे चाल रचिन् । साथी वसन्तले आफू एक्लै कोठामा बस्दै गर्दा आएर जबर्जस्ती गरेको भन्दै श्रीमान्लाई फोन सम्पर्क गरिन् । उनको श्रीमान्ले पनि सहजै पत्याइदिए । बुझिएअनुसार मीरा पहिला डान्सबारमा काम गर्थिन् । उनले यस्ता कति सोझा सिधा पुरुषलाई फसाइन्, पत्तो छैन । कानुन व्यवसायी सिंहले भने मसँग पैसा माग्न छाडेका छैनन् । पैसा थप दिएको खण्डमा मुद्दा जिताउँछु भन्न छाडेका छैनन् । कमाएर परिवार पाल्दै आएका श्रीमान् कारागारमा छन् । मैले पैसा नभएको जवाफ फर्काउँदा उसोभए ‘च्याप्टरै क्लोज भयो’ भन्दै हिँडे ।

– वसन्तकी श्रीमती पेमा

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू