चिया बेचेरै जिन्दगीमा यति ठूलो चमत्कार

चिया बेचेरै जिन्दगीमा यति ठूलो चमत्कार

माइतीघर भोजपुर, कर्मघर सिन्धुपाल्चोक । तर, त्यताका जति मान्छेले चिन्छन्, त्योभन्दा धेरै काठमाडौँकाले चिन्छन्, जान्छन् र बुझ्छन् उनको संघर्षलाई र सलाम गर्छन् पौरखी हातलाई !

उमेरले चार दशक पार गरे, साथीको लहैलहैमा लागेर १४ वर्षकै उमेरमा काठमाडौं झरें । आमाबुवाका ४ सन्तानमध्येकी एक्ली छोरी । भोजपुरकै विद्योदय माविमा ७ कक्षासम्मको औपचारिक अध्ययन गरेभन्दा धेरै पढेकी छन् यो शहरका मान्छेहरूलाई । यही खाल्डोमा छिरेको पनि २७ वर्ष भइसकेछ । शहरमै चिया बेच्न थालेको २२ वर्ष । औसतमा दैनिक ६ सय कप चिया बेचिन्छ । यही हिसाबले यो अवधिमा ४७ लाख कप चिया बेचिन् होला । बानेश्वरको स्वरूप निकै परिवर्तन भइसक्यो, सँगै व्यापार शुरु गरेका मानिस पनि कताकता पुगे तर चिया पकाएर बेच्न थालेको २ दशक नाघेछ । न त लकडाउनमा रोकियो न कोरोनाको कहरले छेक्यो ।

लेखिन्छन् वा पढिन्छन् धेरैका सफलताका कथाहरू तर त्यही सफलता प्राप्त गर्नका लागि के कस्ता पापड बेल्नुपर्‍यो ? कमै मात्र खोजिन्छन् । अभाव, बाधा र कैयन रहरहरूको आँशु पिएर आज यहाँसम्म पुग्न सफल भइन् । भनिन्छ, मान्छे त्यतिखेर बर्बाद हुन्छ, जब सपना पनि स–साना मात्र देख्छ र ती सपना पूरा हुँदै जान्छ । उनको त एउटै सपना थियो, सास अडाउने । राजधानीमा भित्रिएपछि बस्ने ठाउँ थिएन, ठूलोबाका छोराकोमा शरण लिए । महांकालमा थियो दाजुको घर । महिना दिन त्यत्तिकै टहलिएपछि काम पाए गार्मेन्टमा । त्यो काममा खासै दिल त थिएन तर सास अड्याउनकै लागि सही, काम गर्नैपथ्र्याे । गार्मेन्टमा धागो बाट्ने काम । धागोभन्दा बढी मन बाटिन्थ्यो, घरपरिवार सम्झेर, भविष्यलाई कल्पेर । दिन, हप्ता हुँदै महिना बित्यो । पत्तै नपाई दुई वर्ष गुज्रिए ।

दुःखको बेला घाउमा नुनचुक छर्नेहरू सबैभन्दा ठूला गुरु हुन् ।  

यस्तैमा भेटिए सिन्धुपाल्चोकका ध्रुव दाहाल । दाजुको साथी । प्रायः आउजाउ गरिरहन्थे त्यो घरमा । दुई आँखा चार भए । थाहै नपाई प्यार भयो । दाइको साथीका रूपमा चिनजान भएका ध्रुवलाई जीवनसाथीको रूपमा कल्पिइन् । थाहै नपाई धु्रवले दिलमा कतिखेर कब्जा जमाए र त्यही प्यार विवाहमा रूपान्तरण भयो । ०५४ सालमा प्रेमको गाँठो कसियो । तिनताक पुल्चोकस्थित एक इञ्जिनियरको घरमा काम गर्थे, तिनको अपांग बच्चाको स्याहार, सुसार गर्ने । बिहेपछि उनी पनि सोही घरमा सिफ्ट भइन् । काम त्यहीं गर्न थालिन् । खान–बस्नको समस्या थिएन ।

साहुले नै व्यवस्था मिलाइदिएका थिए । तलब तोकिएको थियो एक हजार । एक हजारमा घरको सबै काम गरिदिनुपथ्र्याे । एकातिर मालिकको घरको सबै काम आफ्नै थाप्लोमा, त्यहीमाथि आफ्नो सन्तानको स्याहार सुसार । जीवनका ५ वर्ष त्यही घरको सेवा स्याहारमा बिताइन् । ०६० सालमा घर मालिकले बालकुमारीमा घडेरी किन्ने कुरा गरे । त्यतिखेर झण्डै ८० हजार बचत थियो र बालकुमारीमा जग्गाको दाम आनाको ५० हजार हाराहारी ।

साहुलाई केही पैसा थपिदिनुहोस्, हामी पनि घडेरी किन्छौं र पैसा चुक्ता नहुञ्जेल तपाईंकै घरमा काम गर्छाैँ  भन्ने प्रस्ताव राखे । साहुले बचन फर्काए ‘नोकरलाई काठमाडौंमा घडेरी !’ त्यही बचन मनमा काँडाझैं बिझ्यो । र, साहुको घर छाड्ने निर्णयमा पुगे । भन्छन् नि ईख नभएको मान्छे र विष नभएको सर्पको काम छैन । दुःखको बेला घाउमा नुनचुक छर्नेहरू सबैभन्दा ठूला गुरु हुन् । साहुको त्यही तीतो वचन नै प्रेरणा बन्यो । तिनकै प्रेरणाले मिहिनेतलाई दोब्बर पार्न हौसला मिल्यो । त्यहाँबाट निस्किएपछि के गर्ने केही थाहा थिएन । केही त गर्नै पर्थ्याे ।

शुरु भयो सडकमै मोजा, पञ्जाको व्यापार । सडकमा धूलो, धुँवा खाएर दिनभर बस्यो, व्यापार हुन्नथ्यो । अरु काम खोज्दा पाइएन । मन युटर्न भयो र बानेश्वर एरियामा चिया पसल राख्ने निर्णयमा पुगियो, ५ सय लगानीमा संसद् भवनको तीन नम्बर गेटअगाडि । शुरुमा एउटा स्टोभ, १० वटा कप, चिनी, चियापत्ती, १० प्याकेट दूध किनेर श्रीगणेश भयो । एक जना मनकारीले ५ सय रूपैयाँ दिए । त्यही ५ सयबाट शुरु भएको हो चिया पसल । यही बीचमा श्रीमान्ले सरकारी नोकरी पाए । मनमा उमंग थियो । तलब १८ सय हाराहारी । डेरा थियो शंखमूलमा । श्रीमान्को आम्दानीले १५ दिन पनि टिक्न मुस्किल । 

दैनिकी थियो बिहान आँखा मिच्दै नयाँ बानेश्वर धाउने । सुरुवाती एक महिना भने चिया खासै बिक्री भएन । मन परिवर्तन नभएको पनि होइन तर दिनहुँको मिहिनेत, मीठो बोली र मसालेदार चियाले विस्तारै ग्राहक तान्दै गयो । दैनिक तीन–चार सय कप बिक्री हुन थाल्यो । सामान्य मानिसदेखि नेता, अभिनेता आउन थाले । चिया पसलबाट राम्रै आम्दानी भयो । यही बीचमा ठेला जोडियो र चिया बेच्न शुरु भयो । चिया बेच्न थालेको २ वर्षमै भक्तपुरमा घडेरी जोडियो ४ लाखमा । चियामा जमिरहेकै थिइन् ।

बिहान मात्र होइन दिउँसो, साँझ पनि चिया खुवाउनुपर्‍यो भन्नेको संख्या बढ्दै थियो । कतिखेर नगरपालिकाका कर्मचारी त कतिखेर प्रहरीले दुःख दिन्थे । जति आफ्नो कोखबाट जन्मेको बच्चाको माया लाग्थ्यो उत्तिकै माया लाग्थ्यो ठेलागाडाको । एक दिन प्रहरीको डिएसपी आएर लात्ती बजारे । गाडालाई लात्ताले हिर्काएको देख्न सकिन । मन भाउन्न भयो । आँखा रसाउन थाले र रिसको पारो चढ्यो । बदलामा डिएसपीको गालामा झापड हानिन् । त्यही कारण २४ घण्टा प्रहरी चौकीमा लगेर थुन्यो । यस्ता अनेकौं दुःख कष्टका पहाड झेलेकी छन् । यही बीचमा ४ वर्षे छोरो बिरामी प¥यो । कान्ति बाल अस्पतालमा पुर्‍याएपछि रोग पत्ता लाग्यो । बोनम्यारो सुकेको रहेछ । ४ लाखमा किनेको घडेरी छोराको उपचारका लागि ६ लाखमा बेचिन् । छोरो विस्तारै निको भयो । फेरि ६ महिनापछि सडकमै फिर्ता । 

सडकबाट ०७१ मा टहरोमा सिफ्ट भइन् । यहीं चिया पकाउन थालेको पनि ९ वर्ष बितिसकेछ । औसत दिनमा ६ सय कप चिया बेच्छिन् । लागत कटाएर मासिक ६०–७० हजार नाफा हुन्छ । यही पसलबाट बालकोटमा ४/४ आनाका दुई वटा घडेरी किनिसकिन् । कुनै समय काठमाडौंको नाम चलेको बोर्डिङ स्कूलमा छोरालाई पढाउन खोज्दा त्यहाँका प्रिन्सिपलले भन्थे, सडकमा चिया बेचेर छोरालाई हाम्रो बोर्डिङमा के पढाउन सक्नुहोला ? तर छोरा त्यही बोर्डिङमा पढेर अहिले अमेरिका पुग्यो । खर्च यतैबाट धान्दै छन् । भन्छन् पुरुषको सफलताको पछाडि नारीको ठूलो हात हुन्छ ।

तर, एउटी नारीको सफलताका उनीपछि पुरुषको हात हुन्छ । चिया बनाउँछिन्, पति उत्तर मध्यबानेश्वर, दक्षिणतर्फ पीपलबोटसम्म चिया बोकेर दर्जनौं पटक पुग्छन् । त्यत्ति गरेपछि १० बजिसक्छ अनि अफिस हानिन्छन् । श्रीमान् मेलम्ची खानेपानी कार्यालयमा सरकारी जागिरे । कार्यालय समयबाहेक बाँकी समय यसैगरी सघाउँछन् । एक्लैले त के सक्नु र ! भन्छन् नि श्रीमान–श्रीमती एक सिक्काको दुई पाटा । साथ सहयोगले आज यो ठाउँमा छन् । आफ्नै मिहिनेत र पसिनाको फल निकै मीठो हुन्छ भन्छन् ।

– विमला पराजुली, नयाँ बानेश्वर

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू