प्रेममा ढाँटेर मन जित्नुपथ्र्यो र विष्णु !

प्रेममा ढाँटेर मन जित्नुपथ्र्यो र विष्णु !

सुनमा जन्मिएँ, हिरामा हुर्किएँ । अहिले अभावै अभाव र तनावै तनावको जिन्दगी जिउँदै छु । खै, जिन्दगीको रंग किन यसरी बदलिन्छ, जान्दिनँ । अर्चना खड्का, यही नामले चिन्छन् साथीसंगीले । खोटाङमा जन्मेर हुर्किएकी म । परिवारको कान्छी छोरी । भन्छन् नि कान्छी छोरी मायाको डोरी । खुबै लाडप्यारमा हुर्किएँ । तर, हिजोको कान्छी छोरी र आजकोमा अन्तर छ आकाश र जमिनको ! भन्छन्, बुवा–आमाको माया निस्वार्थ (अनकन्डिशनल) हुन्छ । तर, सन्तानको कन्डिसन बिग्रिएसँगै बुवाआमाको माया परिवर्तन हुँदो रहेछ, आफ्नै भोगाइले यही भन्छ । बाल्यकालदेखि किशोरवयसम्म अभाव, तनाव कुन चरीको नाम हो थाहा थिएन । उमेरको सिँढी उक्लिँदै गएपछि भित्रिएँ यो खाल्डोमा । फुपु दिदी यहीं हुनुहुन्थ्यो । उहाँकैमा बसेर कक्षा पाँचदेखि दशसम्म एउटा निजी विद्यालयमा पढेँ । बिहान ट्युसन, दिउँसो स्कूल । पढाइमा अब्बल थिएँ । अतिरिक्त क्रियाकलापमा पनि अगाडि । बसाइ चाबहिल, स्कूल कोटेश्वर । दैनिक आवतजावत हुन्थ्यो भाडाको गाडीमा । यस्तैमा भेटिएका हुन् विष्णु । उनैलाई भेटिएपछि बदलियो जीवनको नक्सा । 

कहाँ जान हिँडेकी म, कहाँ पुगें । विगत, वर्तमान, भविष्य सम्झन्छु र एकतमासको हुन्छ मन । स्कुल आउने–जाने क्रममा एक दिन गाडीको सहचालकसँग फोन नम्बर आदान प्रदान भयो । तर, नम्बर मात्र होइन पत्तै नपाई यो मन पनि आदानप्रदान भइसकेछ । फोनमा संवाद बाक्लिँदै गयो । उनकै गाडी कुर्ने बानी पर्दै गयो । सिन्धुपाल्चोक मूल थलो भएका विष्णुसँग मन यसरी बहकिँदै गयो कि, एसईई नै नदिई भागेर विवाह गर्ने निर्णयमा पुग्यौं । कच्चा उमेरमा गरिएको यही निर्णय र एक धर्काे सिन्दुरका कारण जिन्दगीमा दुःख, पीडा, अभाव तनाव त छ तर त्योभन्दा ठूलो चिज मलाई आफूलाई भन्दा बढी माया गर्ने मान्छे छन् साथमा । १७ वर्षकै उमेरमा थर बदलियो खड्काबाट भण्डारी । विष्णुले आफू भण्डारी भएको बताएका थिए । हुन त माया, प्रेममा जात, धर्म, धनी गरिब हेरिँदैन भन्छन् । जात हेरेर मन साँटेको थिइन तर विष्णुले मेरो पवित्र प्रेममा घात गरेका रहेछन् जात ढाँटेर । हामी अपरिचित थिएनौं, अप्रत्यासित विवाह भएको पनि होइन ।

नजिकबाट चिनेर, एक अर्काेका भएका थियौं । म १७ वर्ष, उनी तीन वर्ष जेठा । ०७३ मंसिर १४ गते सिँउदो रङ्गाइदिए विष्णुले । विवाह गरेको ५ दिनपछि घर देखाउन सिन्धुपाल्चोक गाउँ लगे । गाउँ पुग्दा रात परिसकेको थियो । अबेर खाना खाएर सुतें । भोलिपल्ट बिहान जब आँखा खुल्यो, कोठाको भित्तामा दमाहा झुण्डिएको देखें । सोचें– क्षत्रीको घरमा दमाहा कसरी आयो ? विष्णुलाई सोध खोज गरें, यो के हो ? उनले जवाफ फर्काए, ‘हाम्रो बिहेमा बजाउनका लागि ल्याएको ।’ फेरि सोधें, ‘कसको हो यो ?’ जवाफ थियो, ‘हाम्रो ।’ त्यही समयमा सासू आमा नजिकै आउनुभयो र सोध्नुभयो, ‘नानी के थरी हो ?’ मैले आफू खड्का थरको भएको बताएपछि आमाले भन्नुभयो, ‘हामी दमाईं हौं नानी । बिहे गरिहालेऊ, पछि नराम्रो नहोस् ।’ यति भनेर बाहिर निस्किनुभयो । तब छाँगाबाट खसेजस्तो लाग्यो । यसरी छलेको विषयले मन कुँडियो । विवाहलगत्तै आमालाई म्यासेज पठाएको थिएँ । फोन गर्ने हिम्मतै आएन । लेखेको थिएँ, ‘आमा, मैले विवाह गरें, पीर नगर्नु ।’ घरबाट मेरो खोजी भएछ । तल्लो जातको केटासँग बिहे गरेको भन्ने थाहा पाएपछि आमाले भन्नुभयो, ‘हाम्रो परिवारको एउटा फूल चुँडियो । बाँचुञ्जेल यो दैलोमा नटेक्नु ।

यसरी प्रेमको चक्करमा भविष्य अन्धकार भयो । अर्काेतिर जन्म दिने बुवाआमा आफ्नो भएनन् । विवाह गरेको तीन महिनामै सासूससुराले अलग्गै गरिदिए । १७ वर्षको किशोरवय, करिअर बनाउने बेला । सोही कारण गाउँ छाडें र शहर भित्रिएँ । सानो जातको भएकै कारण मैले यो घृणा सहनुपरेको हो । जब बुबाआमा, दाजुभाइ नै आफन्त भएनन् भने अरु को होलान् र ? ओरालो लागेको मृगलाई बाच्छाले खेदेझैं मलाई नै आफ्नै भाग्यले लखेट्यो कि झैं लाग्छ । श्रीमान् उही गाडीमा जोडिए । महँगो शहरमा जीवन गुजार्नु नै थियो । म अरुको घरमा काम गर्न थालें । घरीघरी आमाको सम्झना र यादले आकुलव्याकुल हुन्थेँ । आमाको मन पग्लिएला कि भनेर दुई चार दिन बिराई फोन गर्दथें । आमाबाट उही टर्राे जवाफ आउँथ्यो– ‘तँ अझै जिउँदै छेस्, किन नमरेकी ?’ गाउँमा आफन्तले तल्लो जातकीसँग छोरी पोइल गएको भन्दै उडाउने गरेका कारण नाक, मुख देखाउनै गाह्रो भएको भन्दै आमा सुँकसुँकाउनुहुन्थ्यो । आमाले मुटुमाथि ढुङ्गा राखेर यस्तो भन्नुभएको हो भन्ने लाग्दथ्यो । आफैंले बाटो बिराएको हुँ सोच्थें र मन बुझाउँथेँ । दशैं, तिहार, आमा‑बुवाको मुख हेर्ने औँसीजस्ता चाडपर्व आउँदा मन त्यसै त्यसै भारी हुन्थ्यो । विवाहपूर्व सोचेकी थिएँ, यति धेरै माया गर्ने मान्छेसँग रम्न पाउँदा सुन्दर घरपरिवार होला । म पनि श्रीमान् र बच्चाको हात समाउँदै आउने–जाने गर्नेछु माइती । तर, सोचेजस्तो कहाँ हुने रहेछ र जीवन ? शुरुवाती दिनदेखि नै उल्टो घुम्न थाल्यो चक्र । 

भन्छन् ढुंगा त रसाउँछ भने दश महिना कोखमा राखेर जन्माई हुर्काउनुभएको आमाको मन कसो नरसाउला ? मेरा आमाको मन त्यति कठोर पक्कै छैन । विवाह गरेको आठ वर्षपछि छोरा जन्मियो । दशा लागेपछि के लाग्दो रहेछ र ? बाथरुम जाँदा चिप्लिएर खुट्टा भाँच्चियो । श्रीमान् र आफ्नो कमाइले दुई छाक खान, कोठा भाडा तिर्न गर्जाे टर्दै थियो । उपचार गर्ने खर्च जुटाउन सिन्धुपाल्चोकको गाउँमा भएको जग्गा धितो राखेर एक लाख रूपैयाँ ऋण निकालियो । अहिले पनि खुट्टामा स्टिल राखिएको छ । उपचार गर्न लागेको ऋण तिर्न श्रीमान् अर्काे ऋण थपेर मलेसिया पुग्नुभएको छ । ०८१ असोज ३ गते अपराह्न सात महिनाको दुधे बालक विदेशिन लागेको बुबाको काख छाड्न मानिरहेको थिएन । अबोध बालकलाई आफ्नो काखबाट हटाउन बुढाले पनि चाहिरहनुभएको थिएन तर बाध्यता र विवशताको भारीले किचिएपछि माया र मोहले मात्र कहाँ चल्दो रहेछ र संसार ? विष्णुले गह्राैँ मन बनाएर सात महिनाको बच्चाको गाला र निधारमा चुम्बन गर्नुभयो र मलाई समाउन दिनुभयो । 

म त्यसै त्यसै भक्कानिएर छोरालाई सुमसुम्याउँदै थिएँ । एयरपोर्ट पुगेका सबैका ध्यान म र हाम्रो छोरातिर रहेछ । आँखाको डिलबाट बगेका अश्रुधारा छोराको भोटोमा खस्दै थियो । वर्षौंवर्षका लागि आफ्नो रगत र पसिनासँग रियल र रिंगेट साँट्न जाँदै गर्दा बिछोडले मन रेटिएको म २५ वर्षकी मात्र भएँ तर व्यवहारले किचिएर होला ३० वर्ष कटेको जस्तो देखिन्छु । बच्चा सानै छ, यहीं दुःख गरौंला, सँगै बसौँला भनेको मान्नुभएन । त्यहीमाथि ऋणमाथि ऋण थपेर बिदेसिनुभयो । बच्चा निद्रामा मुसुमुसु हाँस्छ अनि झसंग हुन्छ । कतै बाबाले सातो लिएर गएको हो कि झैं लाग्छ । बाबा भनेपछि छोरा हुरुक्कै हुन्थ्यो, विष्णुलाई छोरा भएपछि केही चाहिँदैन थियो । 

एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण म बर्बाद भएँ वा आवाद थाहा छैन । बर्बाद भएँ भनौं, आफैंलाई भन्दा बढी माया र प्रेम गर्ने श्रीमान् छन् । आवाद भएँ भनौं न त मेरो साथमा घर परिवार छ न त समाज । त्यही एक धर्काे सिन्दूरका कारण मेरो सुकोमल जिन्दगी आज यो स्थितिमा पुगेको छ । मुलुकमा अनेकन तन्त्र फेरिए, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश ग¥यो मुलुक तर दलितलाई हेर्ने, उनीहरूमाथि गर्ने थिचोमिचो र व्यवहार खै त परिवर्तन भएको ? एक जना दलित केटासँग मन साट्दैमा, उसलाई आफ्नो बनाउँदैमा यसरी तिरस्कृत हुनुपथ्र्याे र एउटी छोरीले ? 

(अर्चनासँग जनआस्थाकर्मी रिकेश विश्वकर्मा (क्षितिज) ले गर्नुभएको कुराकानीमा आधारित)

 

टिप्पणीहरू