तनहुँ बस दुर्घटनामा मृतक संख्या २१ पुग्यो
तनहुँको आँबुखैरेनीमा आज बिहान भएको भारतीय बस दुर्घटनामा मृतक संख्या २१ पुगेको छ । जसमध्ये ११ महिला, नौ पुरुष र एक बालिका रहेको प्रहरीले जनाएको छ ।
चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार बस पृथ्वी राजमार्गबाट खसेर मर्स्याङ्दी नदीमा पुगेको थियो । सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार मृतकहरुमा सुहास प्रभाकर राणे, तुकशीयराम बुधो तायडे, सुधारकर बकीराम जावके, सागर कडु जावके, सन्दिप राजाराम सरोदे, गणेश पांडुरङ्ग भारंबे, पंकज भावगत भंगाके र प्रमोद सुरेष पाटिल हुन् ।
त्यस्तै मृतक मुरलीजा खान बसका चालक हुन् । अन्य मृतकमा सरला सुहास राठी, निलिमा सुनिल धांडे, मङ्गला विलास राठो, रोहिणी सुधाकर जावके, भारती प्रकाश जावके, पल्लबी सन्दिप सरोदे, सुलभा पांडुरङ्ग भारंबे, मिनल गणेश भारंबे, निलीमा चन्द्रकान्त जाबके, अनिता आविनाश पाटिल र निलीमा भिकड रहेको बताइएको छ ।
प्रहरीका अनुसार चार वर्षीया परी गणेश भारंबेको पनि दुर्घटनामा ज्यान गएको छ । घाइते एक दर्जनलाई सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको छ । उनीहरुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि...
बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो
टिप्पणीहरू