काठमाडौँका सहकारीले पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने

काठमाडौँका सहकारीले पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने

काठमाडौँमा सञ्चालित सहकारी संस्थाहरुलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न काठमाडौँ महानगरले निर्देशन दिएको छ । 

आज सूचना निकाल्दै महानगरले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी प्रतिवेदन पेश गर्न भनेको हो । सहकारी ऐनबमोजिम तोकिएको समयावधिमा साधारणसभा सम्पन्न गरी पन्ध्र दिनभित्र पारित महानगरको सहकारी विभागमा प्रतिवेदन पेश नगरे कारवाही गर्ने महानगरले चेतावनीसमेत दिएको छ । 

विभागले साधारणसभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका, २०७६ पूर्ण पालना गर्न पनि स्मरण गराएको छ । त्यस्तै, सहकारीमा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न भनिएको छ । 

कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित भएमा मात्र साधारणसभा सञ्चालन गर्न र सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र र मन्तव्यको कार्यक्रम कम राखी एजेन्डाउपर छलफल गर्ने वातावरण मिलाउन विभागको निर्देशन छ । 

लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एंव पेश हुने अन्य प्रतिवेदनउपर पर्याप्त छलफल गराएर मात्र पारित गर्नुपर्ने र सञ्चालक तथा लेखा समितिको निर्वाचन हुने गरी कानूनबमोजिम योग्यता पुगेका सदस्यमध्येबाट निर्वाचित गर्नुपर्ने पनि सूचनामा उल्लेख छ । 

विभागले साधारणसभाबाट संस्थाको चालु आर्थिक वर्षको हिसाकिताब लेखा परीक्षणका निम्ति एक जना लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने समेत निर्देशन दिएको छ । 

यसैगरी, संस्थाको विनियम संशोधन कार्यविधि, नियमावली, चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारणसभाबाट पारित तथा अनुमोदन गर्न र प्रतिवेदनमा आवश्यक कागजातहरु समावेश गर्न पनि भनिएको छ ।

टिप्पणीहरू