राजमार्गमा पनि रविको अघिपछि प्रहरी भ्यान (भिडियो)

राजमार्गमा पनि रविको अघिपछि प्रहरी भ्यान (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ । सूर्यदर्शन सहकारी घोटालाका आरोपित उनलाई बनस्थलीस्थित रास्वपा मुख्यालयबाट नियन्त्रणमा लिएर साँझ साढे ७ बजे प्रहरीले स्थलमार्ग हुँदै पोखरा लगेको छ ।

प्रहरीको अगुवा र पछुवा गाडीको बीचमा रहेको गाडीमा लामिछानेलाई राखिएको छ । प्रहरीको स्कर्टिङमा काठमाडौँबाट पोखरातर्फ लगिएका उनको पक्षमा नाराबाजी गर्न रास्वपाका नेता–कार्यकर्ता पनि मोटरसाइकल र अन्य सवारी साधनमा सँगसँगै गएका छन् ।

लामिछाने पक्राउ पर्ने पक्का भएसँगै पार्टी मुख्यालयमा भेला भएका र नाराबाजीमा उत्रेका कार्यकर्ताहरु आ–आफ्नो गाडीमा र रविपत्नी निकिता पौडेल श्रीमानसँगै पोखरा गएकी हुन् ।

त्यस्तै, सामाजिक सञ्जालमा ‘गुड लक रवि दाइ’ अभियान चलाउने रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि सभापतिको समर्थनमा नारा लगाउन पोखरा जाने बताइन्छ । त्यस निम्ति आन्तरिक सर्कुलर भैसकेको बुझिएको छ । 

संसदीय विशेष छानविन समितिले सहकारी ठगीमा दोषी किटान गर्दै कारवाही सिफारिस गरेपछि लामिछानेविरुद्ध आज अपरान्ह कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै सिआइबीको टोलीले उनलाई पार्टी कार्यालय बनस्थलीबाट नियन्त्रणमा लिएको हो । 

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नेछ । भोलि शनिबार परेकाले प्रहरीले आइतबारबाट अनुसन्धान प्रक्रिया थाल्ने छ ।

सहकारी ठगी र संगठित अपराध दुइवटा कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले लामिछानेलाई ६० दिनसम्म थुनामा राख्न सक्नेछ । सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने अवस्था आए थप ३० दिन लामिछानेलाई थुनामा राख्न प्रहरीले अनुमति पाउने छ ।

टिप्पणीहरू