१२ को पूरक परीक्षामा ७० प्रतिशत पास

१२ को पूरक परीक्षामा ७० प्रतिशत पास

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित भएको छ । गत भदौ २५ र २६ गते सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले आज रिजल्ट निकालेको हो । 

परीक्षामा एक लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएकोमा ८६ हजार २४६ अर्थात् ७० दशमलब ६० प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । दुई परीक्षार्थीको भने परीक्षाफल रद्द भएको छ । 

त्यस्तै, तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डको भनाइ छ । सार्वजनिक नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट वा १६०० मा आफ्नो सिम्बोल नम्बर एसएमएस गरेर हेर्न सकिने छ । 

मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले सात दिनपछि मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न पाउने बोर्डले बताएको छ । 

बोर्डका अनुसार शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट वा लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न गर्नुपर्ने छ । 

मौका परीक्षामा प्राप्त कुनै विषयको ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि प्रतिविषय पाँच सय रुपैयाँ तिरेर अनलाइनमार्फत कात्तिक १९ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू