यस्तो छ, रविले प्रबन्ध निर्देशकको हैसियतले खर्च गरेको हिसाब

यस्तो छ, रविले प्रबन्ध निर्देशकको हैसियतले खर्च गरेको हिसाब
सुन्नुहोस्

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा जिबी राईका तत्कालीन पार्टनर रवि लामिछाने यतिखेर प्रहरी हिरासतमा छन् । शुक्रबार काठमाडौँमा समातिएका र राति नै पोखरा पुर्याइएका उनीमाथि कास्की प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधमा अनुसन्धान गर्दैछ । 

सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा अनुसन्धान जारी रहँदा रविले भने कसूर स्वीकार गरेका छैनन् । सत्ताधारी पार्टीहरुले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई झूठा मुद्दा लगाउन खोजेको आरोप लगाइरहेका छन् । उनको गिरफ्तारीविरुद्ध रास्वपा संस्थागतरुपमै सडकमा उत्रिएको छ । 

रवि र उनको पार्टीले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्दै ‘क्लिनचिट’ पाएको प्रचार गराएपनि तथ्यले भने त्यसो भन्दैन । जिबी राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रविले विभिन्न सहकारीबाट उक्त मिडियामा आएको ६५ करोड रुपैयाँ आफैँले परिचालन गरेको खुलिसकेको छ ।  

देशका प्रमुख शहरमा ‘स’ बाट उच्चारण शुरु हुने नामका आधा दर्जन सहकारी संस्था खोलेर जिबीले गोरखा मिडियामा रकम ओसारेका थिए । सहकारीको रकम निजी कम्पनीमा लगानी गर्न नपाइने विद्यमान कानुन कुल्चेर जिबी र छविलाल जोशीले लगेको रकम रविमार्फत् खर्च भएको हो । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 

तर, जिबीको कारोबारमा आफू जानकार नरहेको बताउँदै आएका रविले समितिमा पनि त्यस्तै बयान दिएका थिए । गोरखा मिडियामा आफूले समाचार प्रमुखका रुपमा काम गरेकाले आर्थिक कारोबारमा जिबी जिम्मेवार हुने बताएका थिए । समितिको प्रतिवेदनमा भने सम्पूर्ण आर्थिक जिम्मेवारी उनैले लिएको तथ्य फेला परेको हो । 

रविले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेका थिए । समितिले आफूलाई प्राप्त विवरण भनि उल्लेख गरेको प्रतिवेदनको ‘बैंक खाता सञ्चालन सम्बन्धमा’ भन्ने शीर्षकमा ती चेकका विवरणहरु छन् । जसमा २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको चेक काटिएको उल्लेख छ ।

तर, सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका रविले आफू पक्राउविरुद्ध सडकमा कार्यकर्ता उतारेर आन्दोलन गराइरहेका छन् ।

टिप्पणीहरू