वित्तीय अपराधमा साझेदार नबन्न राष्ट्र बैंकको आग्रह

वित्तीय अपराधमा साझेदार नबन्न राष्ट्र बैंकको आग्रह
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ वित्तिय अपराध रहेको जनाएको छ । आज सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो अपराधको साझेदार नबन्न वा जालमा नपर्न सचेत गराएको छ । 

आफ्नो बैंक तथा वालेट खाता अन्य व्यक्तिलाई प्रयोग गर्न दिँदा त्यस्ता व्यक्तिले अपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्दा आफु पनि अपराधको साझेदार हुने राष्ट्र बैंकले बताएको छ । 

‘तपाईँको बैंक खाता प्रयोग गर्नका लागि वित्तिय अपराधमा संलग्न व्यक्तिहरुले इमेल, फेसबुक, भाइबर, ह्वाट्सएप, टेलिग्राम वा अन्य सामाजिक सञ्जाल मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाई तपाईँलाई विश्वासमा पारी तपाईँको बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्दछन्,’ सूचनामा उल्लेख छ, ‘त्यस्ता व्यक्तिले तपाईँको खातामा अपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् र यसरी त्यस्ता व्यक्तिले तपाईँलाई पनि अपराधको साझेदार बनाउन सक्दछन् ।’

तसर्थ, आफ्नो बैंक तथा वालेट खाताको जानकारी कसैलाई पनि नदिन राष्ट्र बैंकको आग्रह छ । राष्ट्र बैंकले यस्तो गतिविधि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित वित्तिय अपराध भएकाले यसमा संलग्न व्यक्तिमाथि कानून कारबाही हुने पनि जानकारी गराएको छ ।

टिप्पणीहरू