भित्र छविलालको बयान, बाहिर सहकारी पीडितको प्रदर्शन

भित्र छविलालको बयान, बाहिर सहकारी पीडितको प्रदर्शन

पूर्वडिआईजी तथा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीको आजदेखि रुपन्देहीमा बयान शुरु भएको छ । 

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको अभियोगमा पक्राउ परेका उनको आज जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा डिएसपी विजयराज पण्डितसहितका प्रहरी अधिकृतहरुले बयान लिएका हुन् । 

असोज ६ गते काठमाडौंमा पक्राउ परेका छविलालसँग पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा कास्की प्रहरीले बयान लिइसकेको छ । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न उनलाई हिजो त्यहाँ लगिएको हो ।

सरकारी वकिल कार्यालयमा बयानको क्रम चलिरहँदा बाहिर सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीका अध्यक्ष जिबी राई र बुटवल शाखाका व्यवस्थापक सागर केसीलाई तत्काल पक्राउ गर्न माग गर्दै पीडितले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘हाम्रो रगत पसिनाको कमाई फिर्ता गर’, ‘बचत रकम फिर्ता गर’, ‘जिबी राई र सागर केसीलाई पक्राउ गर’, ‘सहकारी ठगी बन्द गर, दोषीलाई कारवाही गर’ जस्ता नारा लगाएका छन् । सहकारी ठगलाई राजनीतिक संरक्षण दिइएको पीडितहरुको गुनासो छ । 

संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमार्फत भएको सहकारीको रकम अपचलनमा छविलालसहित जिबी राई, रवि लामिछाने र कुमार रम्तेललाई पनि कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

टिप्पणीहरू