तिहारमा चाहेजति बिजुली बाल्न पाइने
नेपाल विद्युत प्राधिकरणले तिहारमा धेरै बिजुली खपत गर्न आमउपभोक्तालाई आग्रह गरेको छ । विद्युतको उत्पादन पर्याप्त रहेको जनाउँदै प्राधिकरणले जतिसक्दो बढी बिजुली उपभोग गर्न भनेको हो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजाको दिन बत्ती नजाने जानकारी पनि दिएका छन् । मुलुकलाई पुग्ने विद्युत उत्पादन रहेको बताउँदै उनले बिजुली निर्यातसमेत गर्न पुग्ने अवस्था रहेको उनले स्पष्ट पारे ।
'यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत उत्पादन हुन्छ । तिहारको लागि विद्युत आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु', घिसिङले भने ।
त्यसक्रममा उनले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको र २१ सय मेगावट विद्युत उत्पादन घटेर १९ सयमा झरेको बताए । अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण यो वर्ष हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
बाढी पहिरोका कारण आयोजनाहरुमा क्षति पुगेका कारण यस वर्ष हिउँदमा थप बिजुली आयात गर्नुपर्ने अवस्था रहेको पनि घिसिङले जानकारी दिएका छन् ।
देशमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेर वाहावाही पाएका घिसिङले २०७३ सालको तिहारमा झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।
टिप्पणीहरू