अमेरिकालाई रुसी प्रश्न : उत्तर कोरिया अछुत हो ?
रुसले अमेरिकालगायत पश्चिमा मुलुकको सामुन्ने गम्भीर प्रश्न तेर्साएको छ । युक्रेनलाई खुल्लमखुल्ला सहयोग गर्दै आएको अमेरिकी सहयोग समूहलाई रुसले उत्तर कोरियाले आफूलाई सहयोग गर्न किन नमिल्ने भनेर प्रश्न गरेको छ ।
संयुक्त राष्ट्र संघका लागि रुसी प्रतिनिधि भासिली नेबेन्जियाले सुरक्षा परिषदको बैठकमा बोल्दै आफूहरुले युक्रेनलाई सहयोग गरिरहँदा रुसलाई उत्तर कोरियाले सहयोग गर्न नहुने भन्ने मान्यता र तर्कको आधार के हो ? भनेर सोधनी गरेका हुन् । उत्तर कोरियाले रुसलाई सहयोग गरेको भन्ने आरोप लगाउँदै आएका अमेरिका, बेलायत, दक्षिण कोरिया, युक्रेनलगायत विभिन्न मुलुकले रुस र उत्तर कोरियाले राष्ट्र संघको मूल्य,मान्यता र बडापत्रको उल्लंघन गरेको बताउँदै आएका छन् ।
उक्त समूहले उत्तर कोरियाले युक्रेन युद्धमा रुसमा १० हजार सैनिक पठाएको दाबी गरेको छ । ती सैनिक युक्रेन सीमा क्षेत्र कुर्स्कमा परिचालित भएको अमेरिकी रक्षामन्त्री लिड अस्टिनले हिजो बताएका हुन् । अमेरिका र उसको उसको सहयोगी समूहले लगाएको आरोपबारे उत्तर कोरियाले हालसम्म मुख खोलेको छैन ।
तर, संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूत सोङ किमले भने, ‘रुसी सार्वभौमसत्ता र सुरक्षामाथि पश्चिमा राष्ट्रहरुबाट खतरा बढ्दै गए आफूहरु जस्तोसुकै निर्णय गर्न पछि हट्दैनौं । मस्को र पोङयाङ परिस्थितिलाई नजिकबाट विश्लेषण गर्दै आपसी सुरक्षाको निम्ति नियमित सम्पर्कमा छौं ।’
टिप्पणीहरू