पहिले कानुनी जटिलता, अहिले पशु तस्करलाई मुद्दा

पहिले कानुनी जटिलता, अहिले पशु तस्करलाई मुद्दा
सुन्नुहोस्

पटक–पटकको प्रयासमा पनि गोरु तस्करी नियन्त्रणमा आउन नसकेपछि कपिलवस्तु प्रहरीले गोरु तस्करविरुद्ध मुद्दा चलाएको छ । कानुनी जटिलताका कारण यसअघि पक्राउ गर्दा समेत पटक पटक गोरु र गाडीसँगै छाड्न बाध्य भएपछि प्रहरीले तस्करहरुलाई पशुपंक्षीलाई निर्दयी व्यवहार अन्र्तगत मुद्दा चलाएको जनाएको छ ।

छाडा गाईगोरुलाई अवैध तरिकाले संकलन गरेर क्रुर तथा अमानवीय व्यवहार एवम् चरम यातना दिएर झापासम्म पुर्याएको भन्दै उक्त मुद्दा चलाइएको हो । बाराको निजगढ नगरपालिका ४, का कमल धामीलाई प्रहरीले पशुपंक्षीप्रति निर्दयी व्यवहार गरेको जनाउँदै मुद्दा दर्ता गरेको छ । 

प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार ईलाका प्रहरी कार्यालय गणेशपुरले हिजो बिहान ४ बजे ना.६ ख ३७०८ नम्बरको ट्रकमा यातनापूर्ण अवस्थामा राखिएका २१ वटा गोरुसहित धामीलाई नियन्त्रणमा लिएको थियो ।  ‘पशुको नाक र पुच्छर दुबैतर्फ डोरीले बाँधेको र नाकबाट रगत बगिरहेको देखिएपछि उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ दफा २९० अन्तर्गत मुद्दा चलाइएको हो,’ प्रहरीको भनाई छ । धामीलाई प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर प्रहरी हिरासतमा राखिएको छ ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार पशुपंक्षी यातना तथा अमानवीय व्यवहारविरुद्धको कपिलवस्तुमा यो पहिलो मुद्दा हो । ‘हामीले पशुपंक्षीलाई यातना दिने, अवैध ओसारपसार गर्ने, निर्दयी व्यवहार गर्नेलाई कानूनी प्रक्रियामा ल्याउन विशेष अभियान नै सञ्चालन गरेका छौं,’ एसपी भट्टले भने । 

गोरु तस्कर पक्राउ परेपनि राजस्व र भन्सारले बुझ्न नमान्ने, भाडाको गाडी छाड्नुपर्ने, गोरुधनी सकार्न नआउनेलगायत समस्याले गोरु तस्करी नियन्त्रणमा आउन नसकेको हो । प्रहरीले अवस्था हेरेर मुद्दा प्रक्रियामा लैजान थालेको छ । पक्राउ परेका धामीलाई दोषी पाइए पशुपंक्षीलाई निर्दयी व्यवहारअन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुबै हुने सजाय हुनसक्छ । विगत तीन महिना यता कपिलवस्तुमा गोरुको अवैध कारोबार हुँदै आएको छ ।

टिप्पणीहरू