अपराधकर्म र प्रहरीको साँठगाँठबाट उब्जिएका गम्भीर प्रश्न

अपराधकर्म र प्रहरीको साँठगाँठबाट उब्जिएका गम्भीर प्रश्न

‘सत्य, सेवा, सुरक्षा’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढिरहेको नेपाल प्रहरी संगठनप्रति पछिल्लो समय विभिन्न आरोप लाग्दै आएको छ । प्रहरीका केही अधिकृत अपराध कर्ममा लागेकाले समग्र प्रहरी संगठनको नै धुमिल हुन पुगेको अर्थ लगाउन थालिएको छ ।

राज्यको अभिन्न अंग मानिएको प्रहरीप्रति केही समययता जनविश्वास घट्दो छ । प्रहरी अधिकारीहरु गम्भीर प्रकृतिका घटनामा मुछिएको एकपछि अर्को घटना बाहिरिँदा प्रहरी बर्दीमा दाग लाग्न पुगेको हो । 

केही समययता लागूऔषध कारोबार, डकैती, तस्करी, ठगी, जबरजस्ती करणीदेखि हनि ट्रयापिङ गिरोहसम्म प्रहरीको बढ्दो साँठगाँठले अवस्थालाई जटिल बनाउँदै लगेको छ । आपराधिक गिरोहलाई कानूनी कठघरामा ल्याउने जिम्मेवारीमा रहेको प्रहरी आफैं त्यस्तो गिरोह वा अपराधकर्ममा संलग्न हुँदा गम्भीर प्रश्न उब्जेको छ । 

यसको पछिल्लो उदाहरण ललितपुरस्थित भैँसेपाटी प्रभागको घटना बनेको छ । जहाँ प्रहरीकै मिलेमतोमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाएको भन्दै ब्ल्याकमेलिङ गरी ३० लाख रुपैयाँ असुलेर छाडियो । घटनामा संलग्न इन्स्पेक्टर बिनुकुमारी शाहीलाई कारबाही सिफारिस भइसकेको छ । 

उनलाई पक्राउ गर्नसमेत अदालतले अनुमति दिएको छ । हाल इन्स्पेक्टर शाही फरार उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी कमल थापाको पनि कनेक्सन देखिएपछि अनुसन्धान अघि बढाइएको छ । 

अहिले यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले इन्स्पेक्टर बिनुलाई असोज १० गते जिम्मेवारीबाट हटाएको थियो । 

त्यसपछि कार्यालयकी प्रमुख एआईजी किरण बज्राचार्यले घटनाको छानबिन गर्न ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेकी थिइन् । समितिले प्रतिवेदन बुझाएपछि प्रहरीले इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । 

यो घटनामा मुछिएका शाहीका सवारी चालकसमेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा पक्राउ परिसकेका छन् । शाही यसअघि पनि विवादमा तानिएकी थिइन् । कञ्चनपुरमा कार्यरत रहँदा उनीमाथि पूर्वप्रहरी जवान राजेन्द्र नाथलाई यातना दिएको आरोप लागेको थियो । 

यो मामिलामा टिप्पणी गरेको विषयलाई लिएर स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध दुर्व्यवहार गर्नुका साथै विद्युतीय अपराधको कसुरमा उजुरी दिई पक्राउ गरिएको आरोप पनि उनीमाथि लाग्यो । 

यस्तै, केही समयअघि क्रिप्टो कारोबारको आरोपमा एक युवकलाई थुनामा राखेर लाखौं रुपैयाँ असुलेको घटनामा पनि प्रहरीकै संलग्नता भेटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन हवल्दार गणेश खड्का र जवान साजन शर्मा सो कार्यमा संलग्न पाइएको हो । 

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा हवल्दार खड्का नेतृत्वको टोलीले गत भदौ १४ गते क्यानडा बस्दै आएका आशिष आचार्यलाई समातेको थियो । पछि क्यानडामा क्रिप्टो कारोबार गरेको र नेपालमा कानून आकर्षित नहुने भन्दै दुई दिन थुनामा राखेर छाडियो । 

तर, यसबीचमा आशिषकै साथी तेजबहादुर तामाङको योजनामा प्रहरीसमेतको मिलेमतोमा उनका परिवारसँग बार्गेनिङ गरेर ५० लाख रुपैयाँ असुलेको खुलेको हो । सो कार्यमा प्रहरी हवल्दार खड्का र जवान शर्माको संलग्नता पुष्टि भएपछि दुवैविरुद्ध अपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । 

दुई महिनाअघि न्याय खोज्दै प्रहरी कार्यालय पुगेकी एक महिलामाथि प्रहरीबाटै बलात्कारको प्रयास भयो । चोरीसम्बन्धी उजुरी लिएर प्रहरी वृत्त सोह्रखुट्टे पुगेकी महिलालाई चोर पक्राउ पर्ने आश्वासनमा त्यहाँका तत्कालीन सहायक हवल्दार अनिलकुमार दाहालले बलात्कारको प्रयास गरेका हुन् ।  

स्वयम्भूमा बस्दै आएकी पीडित महिला गत भदौ २० गते आफ्नो डेरामा चोरी भएपछि सोह्रखुट्टे वृत्तमा पुगिन् । त्यहाँ उनको भेट हवल्दार दाहालसँग भएको थियो । त्यसपछि चोरीमा संलग्नलाई पक्राउ पर्ने आश्वासन दिएर उनी महिलासँग नजिकिएका थिए । 

उनले भदौ २९ गते राति ९ बजेतिर ‘चोर पक्राउ परेको छ, तुरुन्त आउनु’ भन्दै ठमेलमा भेट्न बोलाई होटलमा लगेर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ । गत साउन २९ गते ललितपुर महानगरपालिका–१४, सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकबाट विदेशबाट आएका एक व्यक्तिको चार वटा मोबाइल, एउटा ल्यापटप, एउटा गेम बक्स तथा दुई तोला बराबरको सुनको सिक्री लुटपाट भयो । 

उक्त घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहायक हवल्दार लोचन अधिकारी र जवान डम्मालाल पाध्याको संलग्नता भेटिएको छ । जवान पाध्यासहित तीन जना डकैती मुद्दामा जेल चलान भइसकेका छन् । तर, सहायक हवल्दार अधिकारी भने फरार छन् । 

गत असार ४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित डिल्ली राउटको घरबाट प्रहरी हौं भन्दै दुई करोड रुपैयाँ लुटेको घटनामा पनि प्रहरी कर्मचारी नै संलग्न रहेको पाइएको थियो । त्यतिबेला हवल्दार कृष्णबहादुर बोहरा समातिएका थिए । 

गत असारमै उपत्यका प्रहरी कार्यालयका हवल्दार सुन्दर नेपाली पक्राउ परे । तस्करी गरेर ल्याएको सुन लुटिएपछि खोजिदिने भन्दै गिरोहसँग आठ लाख रुपैयाँ असुलेको आरोपमा उनलाई सीआईबीले समातेको छ । उनी जेल चलान भइसकेका छन् । 

यी त केही उदाहरण मात्रै हुन् । पछिल्ला केही समययता सिंगो प्रहरी संगठनमाथि नै प्रश्न उठ्ने गरी यस्ता घटना बढिरहेका छन् । प्रहरीमा छिट्टै धनाढ्य हुने महत्वाकांक्षामा गलत काम गर्ने प्रवृत्ति बढेको जानकारहरु बताउँछन् । यसले प्रहरीप्रति नागरिकको विश्वास समेत दग्मगाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्की समाजमा अपराध बढेसँगै प्रहरी पनि त्यसमा संलग्न हुने क्रम बढेको बताउँछन् । उनले भने, ‘समाजमा अपराध बढेको छ । समाजमा हुने हरेक घटनाको प्रभाव नागरिकमा पर्छ । प्रहरी पनि मानिस नै हुन् । यसले समाज जस्तो हुन्छ, त्यसको प्रतिबिम्ब प्रहरीमा पनि देखिने हो ।’

गलत गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि छानबिन गरी निर्मम कारबाही गर्दै आएको पनि उनले बताए । ‘सांगठनिक रुपमा गरिएको छानबिनबाट त्यस्ता क्रियाकलापमा संलग्नता पुष्टि भएमा नोकरीबाट हटाउनेदेखि बर्खास्त समेत गर्दै आएका छौं,’ प्रवक्ता कार्कीले भने ।

टिप्पणीहरू