उपचुनावपछि आन्दोलनको तयारी, फरक उद्देश्यका कारण भ्यागुताको धार्नी

उपचुनावपछि आन्दोलनको तयारी, फरक उद्देश्यका कारण भ्यागुताको धार्नी
सुन्नुहोस्

आगामी उपनिर्वाचनपछि प्रतिपक्षी दलहरू सडक आन्दोलनमा जाने तयारीमा लागेका छन् । सरकारको अधिनायकवादी र तानाशाही प्रवृत्तिविरुद्ध सडक आन्दोलनमा जाने तयारी गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा हिजो बसेको पार्टी पदाधिकारी बैठकले सरकारविरुद्ध खबरदारी आन्दोलन गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । उसले उपचुनाव सकिएलगत्तै आन्दोलनमा जाने तयारी गर्न संघदेखि स्थानीय तहसम्मका कमिटीहरू परिचालन गर्न लागेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको एक सय दिन पूरा भएसँगै माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गरेको थियो । त्यसबेला देखिएको जनसमर्थनपछि हौसिएको उसले स्थानीय तहबाटै सरकारविरुद्ध खबरदारी आन्दोलन गर्ने तयारी थालेको हो । 

चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सडक आन्दोलनमा छ । सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर कास्की पुर्याएदेखि उनीमाथि छानबिन भइरेको छ । उनलाई थप अनुसन्धानका लागि आज भैरहवा पुर्याइएको छ । 

रास्वापा आफ्ना सभापतिलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै सडक आन्दोलन र धर्नामा छ । पार्टी उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल (डीपी)ले हिजो लामिछानेसँग भेट गरेका छन् । भेटपछि रास्वपा दोस्रो चरणको सडक आन्दोलन गर्ने तयारीमा रहेको अर्यालले बताए । अबको आन्दोलन सशक्त हुने बताइए पनि आजसम्म रास्वपाले आन्दोलनको स्वरूपबारे केही जनाएको छैन ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सडक आन्दोलनको तयारी गरेको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आन्दोलनमा उत्रिने राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको भनाई छ । उनले उपचुनाव सकिएलगत्तै राजसंस्था पुनःस्थापना र प्रदेश संरचना खारेजीको मागसहित सडक आन्दोलनमा जाने बताए । 

प्रतिपक्षीले आफ्ना मागसहित आन्दोलनमा जानु अन्यथा नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको धारणा छ । ‘प्रतिपक्षीका आ–आफ्नै असन्तुष्टि हुन्छन् । उनीहरुले त्यसको माग सकभर सदनबाट गर्नु उपयुक्त हुन्थ्यो । तर सडकमै जानु उचित होइन,’ उहाँको भनाई छ ।

यद्यपि प्रतिपक्षी दलहरुको सडक आन्दोलन संयुक्त रुपमा घोषणा गरिएको छैन । माओवादी केन्द्र खबरदारी आन्दोलनको बलबाट सत्तारोहण गर्ने दाउमा देखिन्छ रास्वपाको आन्दोलनमा सभापति रवि लामिछानेको रिहाइबाहेक अर्को उद्देश्य देखिँदैन । राप्रपा वर्तमान व्यवस्थाविरुद्धै आन्दोलन गर्नुपर्ने अडानमा छ ।

टिप्पणीहरू