एमाले टोली चीनमा,चर्चा छिनछिनमा

एमाले टोली चीनमा,चर्चा छिनछिनमा

नेकपा एमालेभित्र आन्तरिक द्वन्द्व भुसको आगो झैँ दन्किरहेको ठान्नेहरु पार्टीभित्रै बग्रेल्ती छन् । कतिपय परिघटना सतहमा देखिएका छन् भने कतिपय पार्टीभित्रै सामसुम पारिएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षबीच लामो समयदेखि आन्तरिक द्वन्द्व चल्दै आएको धेरै एमालेजनको भनाई छ ।

यसबीच वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा एउटा टोली चीन भ्रमणमा गएको छ । हिजो चीन पुगेको झण्डै डेढ दर्जन सदस्य रहेको टोलीमा महासचिव पोखरेल पक्षीय नेताहरुको नाम एकलौटी ढंगले परेको जनाउँदै उपाध्यक्ष पौडेल समूह रुष्ट रहेको स्रोतको दाबी छ ।

पौडेल समूहले भ्रमणका लागि सिफारिस गरेका केही कमरेडको नाममा रेजा लगाएको महासचिव पोखरेलले आफू निकटहरुको नाम समावेश गरेको आरोप लगाएको छ । टोलीमा रहेकामध्ये सचिव लेखराज भट्ट महासचिव पोखरेल निकट मानिन्छन् । माओवादी त्यागेर एमालेमा बसेपछि उनलाई सुदूरपश्चिममा पौडेल निकट नेताहरुको सामना गर्न अघि सारिएको भन्ने गरिएको छ । पछिल्लो समय उनले पोखरेल अनुकूलको अभिव्यक्ति दिने गरेकाले पनि बाघ कराउने र बाख्रा हराउने एकैचोटी भन्ने लोकोक्ति चरितार्थ भएको हो । 

भ्रमण टोलीमा रहेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी पनि महासचिव निकट मानिन्छन् । उनको ठाउँमा पौडेल पक्षले अर्का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको नाम सिफारिस गरेको दाबी छ । तर, कँडेलको नाम हटाएर बोगटीको नाम राखिएकोमा कुनै दुईमत नरहेको रुष्टहरुको बुझाई छ । 

त्यस्तै भ्रमण टोलीमा छन् दिपक ज्ञवाली । उनको ठाउँमा पनि पहिले अर्कैको नाम तय भएको बताइन्छ । ज्ञवालीको घर उपाध्यक्ष पौडेलको गृहजिल्ला रुपन्देही रहे पनि दाङका महासचिव पोखरेलका प्रियपात्र हुन् । यसअघि पोखरेलको सिफारिसमा नै उनलाई गोरखापत्रमा सरकारी नियुक्ति दिइएको थियो । पछिल्लो समय राष्ट्रिय सूचना आयोगमा आयुक्तका लागि पनि महासचिव पोखरेलले ज्ञवालीकै नाम सिफारिस गरेको चर्चा छ ।

ज्ञवाली प्रचार विभागका सदस्य पनि हुन् । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत पनि प्रचार विभाग सदस्य छन् । क्रमानुसार यतिखेर चीन भ्रमणमा जाने पालो बस्नेतको थियो । तर कट्टर आलोचक भएकाले बस्नेतलाई महासचिवले सिफारिस गर्ने कुरै भएन ।

टोली सदस्य सांसद सरिता भुसाल पनि महासचिव पोखरेल निकट हुन् । शिक्षण पेशमा रहेकी उनलाई पोखरेलको जोडबमा समानुपातिक सांसद बनाइयो । चीन गएको टोलीमा रहेकी शान्ति ढकाल पनि पोखरेलकै मान्छे हुन् । आफ्नै पहलमा केन्द्रीय सदस्य बनाएपछि महासचिवले बाँके र नेपालगञ्जमा आफ्नो पकड बलियो बनाउन शान्तिलाई जिम्मेवारी दिएको भन्नेहरु भेटिन्छन् । 

गोरखाकी सम्झना देवकोटा पनि भ्रमणमा गएकी छन् । महासचिव पोखरेलले नै देवकोटालाई संगठन विभागमा सचिवको जिम्मेवारी दिएका हुन् । ‘बहिनी’ नाममा अत्याधिक अवसर पाउनेमा उनी पहिलो नम्बरमा गनिन्छिन् ।

टोलीमा रहेकी रोशनी मेचे भने प्रधानमन्त्री केपी शर्मा ओलीकी स्वकीय सचिव हुन् । दिपेन्द्र श्रेष्ठ विदेश विभाग सदस्य तथा वरिष्ठ उपाध्यक्ष पोखरेलका स्वकीय सचिव हुन् । तारा बराल, आशिष न्यौपाने र पुजन रेग्मीको नाम पनि महासचिवले नै रोजेको बताइन्छ ।

टिप्पणीहरू