तीन ठूला दल उपनेताविहीन
आमनिर्वाचन सम्पन्न भएको दुई वर्षसम्म प्रमुख तीन दलले उपनेता चयन गरेका छैनन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले अहिलेसम्म उपनेता छानेकै छैनन् भने सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेले पनि सो पदमा कसैलाई मनोनित गरेको छैन ।
राजनीतिक दल सम्बन्धी ऐन–२०७३ मा संघीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था छ । निर्वाचित सांसदहरुले आफूमध्येबाट एकजना दलको नेता चयन गर्ने र नेताले आवश्यकताअनुसार उपनेता, सचेतक र सदस्य–सचिव मनोनयन गर्न सक्ने ऐनमा उल्लेख छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेसमा सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन् । २०७९ पुस ६ मा भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई पराजित गर्दै उनी नेता चयन भएका थिए । तर, देउवाले अहिलेसम्म उपनेता भने तोक्नुभएको छैन ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा एमाले संसदीय दलको नेता हुनुहुन्छ । २०७९ पुस ५ गते आफू नेता छानिएको केही महिनापछि सुवास नेम्वाङलाई उपनेता तोकिदिनुभयो । तर, नेम्वाङको निधनपछि उक्त पद रिक्त छ ।
त्यसैगरी तेस्रो ठूलो दल माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि उपनेता चयन गर्न चासो देखाउनुभएको छैन । प्रचण्ड २०७९ पुस ७ गते सर्वसम्मत दलको नेता चयन हुनुभएको थियो ।
प्रतिनिधिसभामा १४ दलको प्रतिनिधित्व रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, जनमतलगायतले भने दलको उपनेता चयन गरेका छन् ।
संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । दलको नेतामाथि अविश्वास प्रस्ताव आएमा छलफल गर्दा उक्त बैठकमा अध्यक्षता गर्ने अधिकार उपनेतामा निहीत छ ।
टिप्पणीहरू