ग्रामथानको मटपेटिकामा साढे १८ हजार मत, पुरुषभन्दा महिला धेरै
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल १८ हजार ५७७ जना मतदाताले मतदान गरेका छन् । कुल मतदाता संख्या २६ हजार ४४ मध्ये ७ वडाका १२ मतदानस्थलका २९ मतदान केन्द्रमा आज साँझ ५ बजे मतदान सम्पन्न भएको छ ।
सहायक मतदान अधिकृत रामराज पौडेलका अनुसार ग्रामथानमा जम्मा ७१ दलशमलब ३२ प्रतिशत मत खसेको छ । मतदान गर्नेमा पुरुषभन्दा महिला मतदाता बढी देखिए । ९ हजार ६११ जना महिलाले मतदान गरेका छन् भने मतदान गर्ने पुरुषको संख्या ८ हजार ९६६ छ ।
ग्रामथानमा १३ हजार तीन जना पुरुष र १३ हजार ४१ जना महिला मतदाता छन् । मतगणना राति १२ बजेदेखि नै शुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार अध्यक्ष पदमा प्रतिस्पर्धी छन् ।
मुख्य गरेर माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । माओवादीले नमोनारायण माझी र एमालेले तुलसी विश्वासलाई अध्यक्षको उम्म्ेदवार बनाएको छ । २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी अध्यक्ष जयप्रकाश गच्छदारको गत माघ १० गते निधन भएपछि अहिले उपननिर्वाचन भएको हो ।
पहिले कसको मत कति ?
२०७९ को निर्वाचनमा ग्रामथानमा काँग्रेसका गच्छदार सात हजार ६५० मत पाएर अध्यक्षमा विजयी भएका थिए । एमालेका शिवनारायण माझी थारुले छ हजार ९३ मत पाएका थिए । ते्रस्रो स्थानमा माओवादीका विजयकुमार सरदारले दुई हजार ७२७ मत पाएका थिए ।
राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ र नेमकिपाका मनोजकुमार चौधरीले ४ मत पाएको देखिन्छ । त्यसैगरी जनमत पार्टीका पञ्चनारायण चौधरीले ९४ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी गुणवतीदेवी चौधरी छ हजार १२३ मत ल्याएर विजयी भएकी हुन् ।
टिप्पणीहरू