रविलाई भेटेपछि बाबुरामद्वारा सरकारको निन्दा

रविलाई भेटेपछि बाबुरामद्वारा सरकारको निन्दा
सुन्नुहोस्

नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्नुभएकाे छ । 

आज बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर उहाँले लामिछानेसँग भेट गर्नुभएको हो । त्यसक्रममा दुई जनाबीच २० मीनेट कुराकानी भएको बताइएको छ । 

लामिछानेलाई भेटेर फर्किएलगत्तै भट्टराईले सरकारले अन्यायपूर्ण ढंगले प्रतिशोध साँधेकोमा कुनै सन्देह नरहेको प्रतिक्रिया दिनुभएको छ । पत्रकारहरुलाई प्रतिक्रिया दिदैँ उहाँले सरकारले सहकारी समस्यालाई विषयान्तर गर्न खोजेकोसमेत दावी गर्नुभयो । 

‘सहकारीको समस्या सिर्जना गर्ने मुख्य व्यक्तिहरुलाई उन्मुक्ति दिने, अनि विपक्षीमाथि प्रतिशोध साँध्ने, यसप्रकारको कामहरु सरकारले गरिराखेको छ’, उहाँले भन्नुभयो ।  

रास्वपाको प्रदर्शनमा ऐक्यवद्धता जनाउन आएको बताउँदै अगाडि भन्नुभयो, 'यो अलि अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन पनि यहाँ आएको हुँ ।’

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, लिखत किर्ते, सम्पत्ति शुद्धीकरणलगायतका मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले भने आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले झूठा मुद्दा लगाएको आरोप लगाइरहेको छ । 

रास्वपा नेता-कार्यकताले लामिछाने रिहाइको माग गर्दै दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू