भनियो रानी, आए राजा

भनियो रानी, आए राजा
सुन्नुहोस्

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज बिहानदेखि मध्यान्हसम्ममा काठमाडौंका स्वयम्भूनाथ र बौद्धनाथको दर्शन तथा पूजापाठ गरेर दिउँसो स्वदेश फर्केका छन् । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका राजा वाङचुकको भ्रमणलाई लिएर अस्तिदेखि फरक फरक सूचना सरकारी तहबाट प्रवाह गरिएको पाइएको छ ।

अस्ति बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजा केही घण्टाको लागि हिजो काठमाडौं आइपुग्ने भन्दै सुरक्षा निकायहरुले रिहर्सल गरेका थिए । भारतको राजधानी नयाँ दिल्लीबाट स्वदेश फर्कने क्रममा भुटानी राजाले ट्रान्जिटको सदुपयोग गर्दै स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने भारतीय सञ्चारमाध्यमहरुले पनि बताएका थिए ।

तर, राजा वाङचुक हिजो नआएर आज काठमाडौं आए । करिब आधा घण्टा स्वयम्भू र सो क्षेत्रको भ्रमणपछि बौद्धनाथ पुगे । बौद्धनाथको पूजापाठपछि राजासँगै आएको डेढ दर्जनको संख्यामा रहेको टोली २ बजे स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । 

तर, परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई हिजो लेखेको प.सं. ०८१–८२÷१८ मा भुटानकी रानी जेस्टुन पेमा वाङचुक र अधिराजकुमारी आशी एउफेल्मा छोडेन वाङचुक स्वयम्भूनाथ र बौद्धनाथमा पूजापाठ गर्न काठमाडौं आउन लागेकाले आवश्यक प्रबन्धको निम्ति अनुरोध गरिएको छ । नायव शिष्टाचार महापाल नितेश सापकोटाले लेखेको पत्रमा रानी र अधिराजकुमारी बिहान १० बजे कतारको राजधानी दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भ्रमण तालिका रहेको उल्लेख छ । सात जनाको टोली स्वयम्भूनाथ र बौद्धनाथ दर्शनपछि साढे २ बजे विमानस्थल पुग्ने र स्वदेश प्रस्थान गर्ने भनिएको छ ।

तर सोही समय रानी र अधिराजकुमारी दोहाबाट आउने भनिएकोमा भुटानी राजमात्रै नयाँ दिल्लीबाट काठमाडौं उत्रिए । भुटानी रानी र अधिराजकुमारीको निम्ति मन्त्रालयले बीएए ९४१४ र बीएए ९४१५ नम्बरको सवारी साधनसमेत छुट्ट्याएको थियो । त्यसका लागि क्रमशः त्रिविक्रम श्रेष्ठ र सुनिल महर्जनलाई चालक तोकिएको थियो ।

परराष्ट्र मन्त्रालयले राजाको नाम र सन्दर्भ उल्लेख नगरी लेखेको पत्रमा रानी र अधिराजकुमारीको निम्ति विमानस्थलमा रहेको र्याडिसन होटलको लाउन्जमा चिया,कफीसहित आतिथ्यताको व्यवस्था मिलाएको जानकारी अध्यागमन कार्यालयलगायत सम्बन्धित सबै निकायलाई गराएको बुझिएको छ । अन्तिममा परराष्ट्र मन्त्रालयले लेखेको पत्र विपरीत भुटानी राजा केही घण्टाको काठमाडौं भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनको स्वागत र बिदाईका लागि परराष्ट्र मन्त्री डा. आरजू राणासहित मन्त्रालयका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।

तस्बिरहरु

 

 

टिप्पणीहरू