रविबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ति

रविबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ति
सुन्नुहोस्

रवि लामिछानेको पक्षमा मानिसहरु किन यसरी अन्धभक्त भएर लागेका होलान् ? चितवनमा प्रहरीलाई ढुंगा हान्नदेखि पत्रकारलाई समेत कुट्न पछि नपरेका उनका समर्थकहरु न्यायिक प्रक्रियालाई नै अवरुद्ध पार्ने तहमा सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका छन् । 

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा बयानका लागि गत मंगलबार चितवन ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयान सकिएपश्चात् बिहीबार पोखरा लगिएको थियो । सो क्रममा प्रहरी कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको जस्ता आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जिप्रकाले लामिछानेमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेको छ । घटनाबारे जानकारी गराउँदै विज्ञप्तिमा १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट प्रहरीमाथि ढुंगा प्रहार भएको, प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोजेको उल्लेख गरिएको छ । 

१९ गते राति साढे ९ बजे सरकारी वकिल कार्यालयमा बयान सकिएपश्चात जिल्ला प्रहरीको हिरासत कक्षमा पनि नलगी उनलाई आफन्त भेटघाट कक्षमा राखिएको प्रहरीले जनाएको छ । लामिछानेले आफन्त तथा शुभचिन्तकहरुसँग भेट गरेपश्चात् भोलिपल्ट भेटघाट कक्षबाटै प्रलचित कानुन बमोजिम सुरक्षा सतर्कता अपनाई डिएसपीको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको प्रहरीको भनाई छ ।
  
‘तथ्यहीन, भ्रामक एवम् झुटा समाचारहरुबाट जनमानसमा गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन सम्पूर्णमा अनुरोध गरिएको छ', डिएसपी भेषराज रिजालद्वारा सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधान एवम् प्रचलित ऐन, कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण र मानव अधिकारको उच्च सम्मान गर्दै तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवन सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ ।'

अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देशमात्र सम्प्रेषित गरी दिन प्रहरीले सञ्चार माध्यमलाई पनि आग्रह गरेको छ ।

टिप्पणीहरू