लागूऔषध तस्करीमा सरकारी गाडीदेखि एम्बुलेन्सको प्रयोग

लागूऔषध तस्करीमा सरकारी गाडीदेखि एम्बुलेन्सको प्रयोग
सुन्नुहोस्

मंसिर १८ गते इलाका प्रशासन कार्यालय धरानलाई सरकारी नम्बर प्लेटका गाडी प्रयोग गरेर बेलुका ७ बजे धनकुटाबाट गाँजा भित्रिँदै छ भन्ने सूचना प्राप्त भयो । त्यसपछि कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जवेगुको नेतृत्वमा सादा पोशाकमा प्रहरी टोली खटियो । 

धरान उपमहानगरपालिका–१३, अमरहाटस्थित कोशी लोकमार्गको त्रिवेणी चोकमा प्रहरीले सवारीसाधन चेकजाँच गरिरहेको थियो । सोही क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेटको बा. १ झ ४६०५ नम्बर र बा. १ झ ५१२७ नम्बरको गाडी प्रहरीले रोक्यो । 

तर, बा.१ झ ५१२७ नम्बरका सवारी चालकले चेकिङ्ग छलेर गाडी भगाउन खोजेपछि प्रहरीले चार राउण्ड गोली फायर गर्नुपर्यो । गोली गाडीको पछाडि सिसामा लाग्यो । तैपनि चालकले गाडी कुदाए । यद्यपि, सबै नाकामा खबर गरेपछि घटनास्थलभन्दा डेढ सय मिटर टाढा पार्किङ्ग गरी राखेको अवस्थामा गाडी नियन्त्रणमा लिन प्रहरी सफल भयो ।  

गाडी चालक भने फरार छन् । अर्का गाडी चालक मोरङको सुन्दरहरैचा नगरपालिका–११, बस्ने ३६ वर्षीय श्यामकुमार विश्वकर्मा हाल प्रहरी नियन्त्रणमा छन् । दुवै गाडीबाट सात सय किलो गाँजा बरामद गरिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट सरकारी निकायको गाडी नम्बरसँग मेल खाएको छ । बा.१ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको प्रहरीको भनाई छ ।

त्यसैगरी, बा.१ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको छ । यद्यपि, नम्बर प्लेट मिलेपनि गाडी सम्बन्धित कार्यालयको हो वा होइन ? भन्ने विषयमा अनुसन्धान जारी छ । 

पछिल्लो समय लागूऔषध ओसारपसारमा नयाँ तरिका देखिन थालेको छ । लागूऔषध कारोबारीले प्रहरीलाई छल्न नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । त्यसमध्ये उल्लिखित घटना प्रतिनिधिमूलक मात्रै हो । 

पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्सदेखि प्रेस लेखिएको गाडीमा समेत लागूऔषध ओसारपसार गरिएको पाइन्छ । लागूऔषध कारोबारीहरुले प्रहरीलाई शंका नहुने तरिकाले लागूऔषध तस्करी गर्ने क्रम बढेको छ । 

यसअघि मंसिर १२ गते महोत्तरीमा एम्बुलेन्समा राखेर लागूऔषध कारोबारको धन्दा चलाएको पाइएको थियो । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरोबाट संयुक्त रुपमा खटिएको टोलीले एम्बुलेन्समा ब्राउनसुगर फेला पारी दुई जनालाई समातेको हो ।  

सूचनाको आधारमा प्रहरीले बर्दिबास नगरपालिका–३, डाँडास्थित बिपी राजमार्गमा सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्स (कपिलाकोट अस्पताल लेखिएको) रोकी चेकजाँच गर्यो । 

त्यसक्रममा एम्बुलेन्सको साइरनमा जडान गरिएको माइक्रोफोनभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा झण्डै ११ मिलिग्राम ब्राउनसुगर भेटिएको हो । प्रहरीले एम्बुलेन्स चालक सिन्धुलीका ३३ वर्षीय सविनकुमार लाखे र सवार २४ संजिव पुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

गत भदौमा टाटा सुमोको तेल ट्याङ्कीभित्र राखेर भारतबाट लागूऔषध ओसारपसार गरेको भेटिएको थियो । उक्त अभियोगमा भारतीय नागरिक ३७ वर्षीय वीरबल महतो पक्राउ परे । उनले उताको रक्सौलबाट काठमाडौंमा लामो समयदेखि औषधिजन्य लागूपदार्थको ओसारपसार गर्दै आएको अनुसन्धानबाट खुलेको छ । 

महतोको भारतीय नम्बर प्लेट बीआर ०६ पीए २०९० को रातो रङको टाटा सुमोको इन्धन राख्ने ट्याङ्कीमा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा प्रहरीले लागूऔषध बरामद गरेको थियो । नाईट्रोजेपास नौ सय ३०, डाईजेपास छ सय, बुप्रेनोर्फिन पाँच सय ९८ र फेनारगन पाँच सय ९१ एम्पुल बरामद गरिएको हो । 

डेढ वर्षअघि पर्साको वीरगञ्जमा सवारीसाधनमा ‘प्रेस’ लेखेर लागूऔषध ओसारपसार गरिएको पाइएको थियो । ‘निगरानी अनलाइन डटकम’ को बा.७ च ४६४२ नम्बरको भ्यानमा लागूऔषध तस्करी गरिएको थियो । लागूपदार्थ लैजाँदै गरेको अवस्थामा प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।

लागूऔषध कारोबार बढ्दै 

मुलुकमा लागूऔषध कारोबार बढ्दै गएको प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पछिल्लो चार वर्षमा लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न २३ हजार ३४४ जनालाई पक्राउ गरेको छ । 

चालु आर्थिक वर्ष २०८१–०८२ को भदौ मसान्तसम्म मात्रै लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक हजार ४४४ जना समातिएका छन् । गएको वर्ष छ हजार ७४२ जना पक्राउ परेका थिए । 

त्यस्तै, आर्थिक वर्ष ०७९–०८० मा ६ हजार १८६ जना समातिए । त्यसअघि आव ०७८–७९ मा पाँच हजार ७९० र ०७७–०७८ मा चार हजार ६२६ जना पक्राउ परेको ब्युरोको तथ्याङ्क छ । 

तस्करीमा नयाँ–नयाँ तरिका : प्रहरी 

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की लागूऔषध कारोबारीहरुले एकपछि अर्को नयाँ तरिका अपनाउन थालेको बताउँछन् । प्रहरीको आँखा छल्न अत्यावश्यक सवारीसाधनमार्फत् लागूऔषध ओसारपसार गर्ने क्रम बढिरहेको उनको भनाइ छ । 

‘अपराधीहरुको विभिन्न तरिका हुन्छ । सकेसम्म प्रहरीको आँखा छल्ने प्रयास उनीहरुले गरेका हुन्छन्,’ उनले भने, ‘पछिल्लो समय भने लागूऔषध तस्करी गर्ने नयाँ तरिका देखिएको छ । प्रहरीलाई शंकासमेत हुन नदिने गरी एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारीसाधन प्रयोग गरेर लागूऔषध ओसारपसार गर्ने गरिएको पाइन्छ ।’

विशेषगरी पहाडी भेगमा लागूऔषध तस्करी बढेको जनाउँदै उनले भारतीय नम्बर प्लेटका सवारीसाधन बढी प्रयोग हुने गरेको बताए । ‘अहिले लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका निजी तथा सरकारी गाडी धेरै प्रयोग भएको भेटिन्छ,’ एसपी कार्कीले भने । यसबाहेक लागूऔषध तस्करीमा ट्रकलगायत अन्य सवारीसाधनको प्रयोग पनि बढ्दो क्रममा रहेको उनी बताउँछन् । 

उनले थपे, ‘ट्रकका ट्रक गाँजा ओसारपसार गर्ने गरिएको छ । अन्य सवारीसाधनको प्रयोग पनि उत्तिकै बढ्दो छ ।’ आर्थिक लाभका लागि लागूऔषध कारोबारमा मानिसहरुको संलग्नता बढ्दै गएको उनको ठम्याई छ । यद्यपि, तस्करको ठूलो सञ्जाल भने फेला नपरेको एसपी कार्कीले बताए ।

टिप्पणीहरू