टीआरसीका सम्भावित पदाधिकारीको नाममा नागरिक अगुवाहरुको आपत्ति

टीआरसीका सम्भावित पदाधिकारीको नाममा नागरिक अगुवाहरुको आपत्ति
सुन्नुहोस्

नागरिक अगुवाहरुले संक्रमणकालीन न्याय संयन्त्रको पदाधिकारी श्रेष्ठसूची सच्चाउन माग गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीको नाम सिफारिस गर्न गठित पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले प्रकाशित गरेको सम्भावित अध्यक्ष र सदस्यहरुको श्रेष्ठसूचीप्रति आपत्ति जनाउँदै उनीहरुले तत्काल श्रेष्ठसूची सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । 

नागरिक अगुवा सुशील प्याकुरेल, मोहना अन्सारी र कनकमणि दीक्षितले आज एक विज्ञप्ति जारी गर्दै सम्भावित उम्मेदवारको नेतृत्वमा गठन गरिने आयोग विश्वसनीय नहुने बताएका छन् । त्यस्ता पदाधिकारीलाई मानव अधिकार र द्वन्द्वपीडित समुदायले सहयोग नगर्ने उनीहरुको बुझाइ छ ।

‘प्रकाशित श्रेष्ठसूचीमा आयोगको नेतृत्वमा रहने अध्यक्ष पदमा सम्भावित नामहरुको विषयमा सबैजसो द्वन्द्वपीडितका संगठनहरुले आपत्ति जनाइसकेपछि अहिलेका सम्भावित उम्मेदवार कसैको नेतृत्वमा पनि गठन गरिने आयोगहरु विश्वासनीय हुने छैनन्’,विज्ञप्तिमा भनिएको छ,‘शीर्ष राजनीतिक नेतृत्वले दुई व्यक्ति विशेषको नियुक्तिमा पनि विश्वासनीयताको प्रश्न उठ्ने नै छ । यसरी चयन भएको आयोगहरुलाई मानव अधिकार र द्धन्द्धपीडित समुदायको सहयोग हुने छैन्, हाम्रो बुझाइमा ।’

त्यस्तै, उनीहरुले संक्रमणकालीन न्याय संयन्त्रहरुमा पदाधिकारीको छनौट प्रक्रिया पुनः शुरु गरी नयाँ श्रेष्ठसूची प्रकाशन गर्न सिफारिस समितिसमक्ष माग गरेका छन् ।

टिप्पणीहरू