सरकारलाई थर्काउने, रविलाई सम्झाउने प्रचण्ड रणनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई खबरदारी गर्दै रवि लामिछानेको पक्षमा चर्को भाषण गर्नुभएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने झण्डै दुई महिनादेखि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासत छन् ।
बयानका लागि पोखराबाट चितवन ल्याइँदा गत बुधबार भरतपुरमा रास्वपाका कार्यकर्ताको प्रहरीसँग झडप भएको थियो भने पत्रकारलाईसमेत उनीहरुले हातपात गरेका थिए । भरतपुरमै आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पनि रविकै समर्थनमा बोल्नुभएको छ । लामिछानेलाई हिरासतमा अमानवीय व्यवहार गरिएको उहाँको आरोप छ ।
सरकारलाई यस्तो निरंकुश, अत्याचार र ज्यादति तत्काल रोक्न माग गर्दै उहाँले अन्यथा राजनीतिक प्रतिशोधको आधारमा आतंकित पार्ने कदम काँग्रेस–एमालेकै लागि महँगो पर्ने चेतावनी दिनुभयो । ‘बेथिति, भष्टाचार, महंगी र सरकारको जनविरोधी कदमका विरुद्ध’ पार्टीको भरतपुर महानगर समितिले चौबीसकोठीमा आयोजना गरेको खबरदारी सभामा प्रचण्डले भन्नुभयो, ‘अहिले त आतंकित पार्ने हिसाबले मध्यरातमा प्रहरीबाट ज्यादति भयो भन्ने पनि म सुन्छु । यो बिल्कुल न्यायपूर्ण छैन ।’
दिउँसो लगभग एक घन्टा लामो भाषणको क्रममा झण्डै छ मिनेट रविको पक्षमा बोल्नुभएका उहाँले उतिबेला प्रधानमन्त्रीको हैसियतले संसदीय छानबिन समिति बनाउन आफूले पहल गरेको पनि स्मरण गर्नुभयो । आफू र रवि दुवैजना तयार भएपछि समिति बनेको उल्लेख गर्दै प्रचण्डले त्यसबेला प्रहरी प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाउनुभएको थियो ।
‘मैले प्रतिनिधिसभामा जवाफ दिनुपर्ने भयो प्रधानमन्त्रीको हैसियतले । रविको बारेमा केही छ भने मलाई भन्नुस् भनेर मैले तीनवटै प्रहरीका प्रमुखहरुसँग सोधेको छु । अहिलेकै प्रमुखहरु थिए त्यतिबेला पनि । तिनै छन् अहिले’, उहाँले भन्नुभयो, ’तिनीहरुले मलाई भनेको हामीले धेरैचोटि हेर्यौँ हजुर केही छैन । रविको सहकारी सम्बन्धी ठगीमा कहीँ केही नै छँदैछैन भनेर मलाई जवाफ दिएका हुन् । म तपाईंहरुलाई सार्वजनिक रुपमा भन्दैछु, आज तिनै प्रहरी अधिकृतले रविलाई महान अपराधी भेटिएको जस्तो गरेको सुहाउँछ त ?’
रविलाई आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साँधेको प्रचण्डको दावी छ । ‘रवि लामिछानेलाई सहकारी सम्बन्धी कुरा उठ्दै गर्दा कांग्रेस र एमालेका नेताले तपाईं प्रधानमन्त्री भइदिनुस्, हाम्रो साथमा आइदिनुस् भनेको मैले आफ्नै आँखा र कानले देखेको र सुनेको छु’, दावाका साथ् भन्नुभयो, ’आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरु अहिले मान्नुस् महान अपराधी फेला पारियो भनेजस्तै गरी मध्यरातमा आतंकित पार्ने गरी एक ठाउँबाट अर्काेमा सार्ने, अर्कोबाट अर्काेमा सार्ने गरेका छन्, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्काे पर्नेछ ।’
अझ प्रस्ट्याउँदै अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘नेपाली कांग्रेसले म प्रधानमन्त्री हुनुभन्दा अगाडि प्रधानमन्त्रीको प्रस्ताव राख्दा म होइन अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने । एमालेका नेताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पकेटमा पार्नको लागि यो ठगीको कामै छैन, समिति बनाउन नि हुँदैन, संसदीय छानबिन जरुरी नै छैन भनेर रविलाई आफ्नो पकेटको मान्छे बनाउन कम मेहनत गरेका होइनन् । तपाईं चितवनवासी दाजुभाइ, दिदीबहिनीहरुलाई साँचो कुरा भन्दिने मेरो जिम्मेवारी ठानेर म यो कुरा भन्दैछु– जब रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले न कांग्रेसको प्रधानमन्त्री स्वीकार गर्यो, न केपी ओलीले छानबिन गर्नै पर्दैन भनेको कुरालाई स्वीकार गर्यो । बरु म दोषी छु भने छानबिन होस् भनेर भन्यो, उसैलाई समातेर अहिले आतंकित पार्ने कोशिस भइरहेको छ, यो ज्यादति भयो ।’
देशको चौथो ठूलो पार्टीको नेता रवि लामिछाने भागेर विदेश जाने स्थिति नरहेकाले बाहिरै राखेर अनुसन्धान गर्न सकिने प्रचण्डको बुझाई छ । भन्नुहुन्छ, ‘यदि रवि लामिछाने साँच्चै दोषी भए अदालतले उनलाई कानुनी प्रक्रियाबाट छानबिन गरोस् । मैले सरकार र सरकारवादी पार्टीका नेताहरुलाई भनेको छु, किन राख्नुपर्यो हिरासतमा ? हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि’
स्वयं रविले पनि अदालतको फैसला मान्न तयार रहेको बताइसक्दा पनि राजनीतिक प्रतिशोध साँधेर दुःख दिने काम भएको प्रचण्डको आरोप छ । देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस–एमालेकै नेताहरूको बाहुल्य भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको सरकार रविसँग डराएको उहाँले दावी गर्नुभयो ।
’म आज पनि नेपाली कांग्रेसका नेताहरुलाई र एमालेका नेताहरुलाई भन्न चाहन्छु तपाईंहरुको यो तरिकाद्वारा आयु लम्बिनेवाला छैन, तपाईंहरु छोट्याउँदै हुनुहुन्छ आफ्नो आयु । अहिले त तपाईंहरुले गरेको अमानवीय निरंकुश अत्याचार देखेर सत्तापक्षकै वरिष्ठ नेताहरु पनि त्यसको विरोधमा लागिसकेका छन् । तपाईंहरुले बेलैमा होस् पुर्याउनुहोस् भन्न चाहन्छु म । यो पनि मेरो तर्फबाट खबरदारी हो । यदि सरकारले यो विषयमा अझै ज्यादति, अझै अत्याचार गरिराख्छ भने वैधानिक रुपले संसद्को विशेष अधिवेशन बोलाएर त्यहाँबाट हामी एउटा नयाँ लडाइँ सुरु गर्नेछौं र त्यसको सामना तिमीहरुले गर्नुपर्नेछ’, चेतावनी दिँदै प्रचण्डले भन्नुभयो ।
टिप्पणीहरू