म्याद बढाउँदै, कर असुल्दै
आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरेको छ । विभागले आज सूचना जारी गर्दै वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरुले आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थप गरिएको जानकारी गराएको हो ।
यसअघि विभागले गत असोज ४ गते वार्षिक एक करोडसम्म कारोबार गर्ने एकलौटी फर्म वा शून्य कारोबार भएका निकायहरुको आय विवरण दाखिला गर्ने म्याद नथप्ने निर्णय गरेको थियो ।
जबकी आयकर ऐन, २०५९ को दफा ९८ मा आयकर विवरण पेश गर्न विभागले एकै पटक वा पटकपटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्नसक्ने व्यवस्था छ ।
विवरण दाखिला गर्ने करदाता र कारोबार नभएका निकायहरुले पनि म्याद थप लिने गरेकाले विभागको कम्प्युटर प्रणालीमा बढी भार पर्न गएको जनाउँदै त्यस्तो निर्णय गरिएको थियो ।
तर, निजी क्षेत्रका व्यावसायिक, व्यापारिक छाता संगठन तथा करदाताबाट आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म कायम गर्न दबाब बढेपछि विभाग पछि हटेको हो ।
जारी सूचनामा उल्लेख छ, ‘निजी क्षेत्रका विभिन्न व्यवसायिक, व्यापारिक छाता संगठन तथा करदाताहरुबाट समेत आय विवरण पेश गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध भई आएकोले यस विभागको मिति २०८१–०८–२३ गतेको निर्णयानुसार वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदाताहरुको सम्बन्धमा आव २०८०–०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजश्व विभागको इन्टरेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली ०८१ पुस मसान्तसम्म म्याद थप हुने जानकारी गराइन्छ ।’
टिप्पणीहरू