रास्वपा नेताहरु प्रहरी नियाल्दै, प्रचण्डको अभिव्यक्तिपछि कार्यकर्तामा स्फूर्ति

रास्वपा नेताहरु प्रहरी नियाल्दै, प्रचण्डको अभिव्यक्तिपछि कार्यकर्तामा स्फूर्ति फाइल फाेटाे

सहकारी संस्था ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानको लागि प्रहरीले जिल्ला–जिल्लामा डुलाइरहँदा यो प्रकरणले राजनीतिक रुप लिन थालेको छ । 

विभिन्न जिल्लामा बयानका लागि उपस्थित गराइने क्रममा प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको भन्दै सार्वजनिक बहसको विषय बनाइएपछि न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको उक्त प्रकरण गिजोलिने खतरा उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेमाथि प्रतिशोध साँधेर सरकारले अनावश्यक दुःख दिएको आरोप लगाइसकेका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले केही दिनअघि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर लामिछानेलाई भेटेका थिए । प्रचण्डको जस्तै उनीहरुले पनि राज्यले प्रतिशोध साँधेर लामिछानेलाई थुनेको दाबी गरेका छन् ।  सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइराला, सांसद सुनिल शर्मालगायतले पनि यसबारे विशेष चासो राखेका छन् । 

आफ्ना सभापतिमाथि सत्ताले प्रतिशोध साँधेको रास्वपा कार्यकर्ताहरुको दावीलाई राजनीतिक दलका नेताहरुको पछिल्ला अभिव्यक्तिले बल पुर्याइरहेको छ । लामिछाने पक्राउ परेको डेढ महिनासम्म प्रतिक्रियाविहीन देखिएका माओवादी अध्यक्ष प्रचण्डले केही दिनयता बचाउमा बोल्न थालेपछि पछिल्लो समय सुस्ताएका रास्वपाका कार्यकर्ता पुनः सडकमा उत्रन थालेका छन् । 

कतिसम्म भने, लामिछानेलाई प्रहरीले जुन जिल्ला पुर्याउने तयारी गर्छ, त्यसअघि नै रास्वपाका नेताहरु त्यहाँ पुगिहाल्छन् । पोखराबाट वीरगञ्ज लैजाँदा रास्वपाका सहकोषाध्यक्ष दिपक बोहरा लामिछानेको सहयात्री बने । पोखराबाट काठमाडौँ र काठमाडौँदेखि सिमरासम्म उनी लामिछाने चढेकै जहाजमा थिए । सभापतिलाई प्रहरीले गर्ने व्यवहारमाथि निगरानी गर्न पार्टीकै आन्तरिक सल्लाहमा उनले मिलाएरै जहाजको टिकट किनेको बताइन्छ । 

आज वीरगञ्जबाट काठमाडौँ हुँदै पोखरा पुर्याइँदा पनि लामिछाने जहाजमा एक्लै भएनन् । सिमरादेखि काठमाडौँसम्म सांसद हरि ढकाल साथमा थिए भने यताबाट पोखरासम्म पत्नी निकिता पौडेल सँगै गइन् । 

रास्वपाका नेताहरु प्रहरीकै कार्यशैलीमाथि निगरानी गर्ने मूडमा रहेको यसबाट प्रष्ट हुन्छ । अनुसन्धानको क्रममा प्रहरीको भूमिका शंकास्पद देखिएकोले नेताहरु परिचालन गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । 

उनका अनुसार उपसभापति डिपी अर्याल र सहमहान्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकताअनुसार नेताहरुलाई सम्बन्धित ठाउँमा परिचालन गरिरहेका छन् । उनी भन्छन्, ‘डिपी सर र कविन्द्र सरले को कहाँ जाने भनेर खबर गरेपछि हामी सम्बन्धित ठाउँमा जान्छौँ ।’

टिप्पणीहरू